Search

पार्किङ निषेध गरेको विरोधमा न्युरोड क्षेत्रका व्यवसायी दोस्रो दिन पनि आन्दोलित

पार्किङ निषेध गरेको विरोधमा न्युरोड क्षेत्रका व्यवसायी दोस्रो दिन पनि आन्दोलित

१० माघ, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं महानगरपालिकाको न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णयको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित छन् । महानगरले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो ।

उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् । व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति नै बनाएर सडक आन्दोलन गरिरहेका छन् ।

महानगरले सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए । उनले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यवसायिक भविष्य संकटमा पर्ने दाबी गरे। संस्थापक अध्यक्ष कटुवालले काठमाडौं महानगरपालिकाले विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरुलाई धरासायी र पलायन गराउनु भएको आरोप लगाए । उनले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आउने बताए ।

मेयर बालेन्द्र शाहले अनावश्यक रुपमा न्युरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम गरेको उनको आरोप छ । ‘विकल्प सहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘महानगरले निःशुल्क पार्किङ सहितको व्यवस्थाको योजना बनाएर आउनुपर्छ ।’ आन्दोलनरत नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले पनि देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए । उनले व्यापारीहरुले सामान ओसार पसार गर्न र सामान किन्न आउने ग्राहकहरुलाई के जवाफ दिने भन्ने समस्या भएको बताए । उनले महानगरले सवारी साधन आउने संख्याको हिसावले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपर्ने माग गरे ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!