Search

पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी

पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी

५ माघ, बाँपीझ्याला, काठमाण्डौं । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) मा ३ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा यस वर्षको सोही अवधिमा नेपाल भित्रिएको विदेशी लगानी ३ अर्ब ३१ करोड रुपैयाँले बढी हो । गत वर्षको मंसिरसम्म ६० करोड ४९ लाख रुपैयाँ मात्र विदेशी लगानी भित्रिएको थियो । गत आर्थिक वर्षको सुरुमै पोखरा मणिपाल कलेजबाट विदेशी लगानी फिर्ता भएपछि त्यस वर्ष सबै महिनामा खुद विदेशी लगानीको वृद्धि राम्रो हुन सकेन । तर चालु आर्थिक वर्षको सुरुदेखि नै विदेशी लगानीमा सुधार देखिएको छ ।

नेपाल भित्रिएको विदेशी लगानीमा आशातित रूपमा सुधार हुन नसके पनि सुधारका संकेत देखिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘गत वर्षको तुलनामा यस वर्ष विदेशी लगानी आप्रवाहमा सुधार देखिएको छ, गत वर्ष केही लगानी बाहिरिएकाले अवस्था राम्रो थिएन,’ उनले भने, ‘यो सुधार कत्तिको दिगो हुन्छ भन्ने कुराले ठूलो महत्त्व राख्छ ।’ यद्यपि अहिलेकै अवस्था हेर्दा विदेशी लगानी बढ्यो भनेर विश्लेषण गर्न हतार हुने उनको भनाइ छ । राष्ट्र बैंकले विदेशी लगानी आप्रवाहमा सुधारका संकेत देखिएको बताइरहे पनि चालु आर्थिक वर्षमा भएको विदेशी लगानी प्रतिबद्धताको तुलनामा नगण्य परिमाणमा भित्रिएको देखिन्छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस) सम्म २ सय २६ वटा आयोजनामा २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भएको छ । यसमध्ये १ अर्ब ७२ करोड ५९ लाख रुपैयाँ बराबर लगानी प्रतिबद्धता गत पुसमा मात्रै भएको देखिन्छ ।

पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत चार आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ । लगानीको सम्भावना राम्रो रहेको, प्रतिफलको सुनिश्चितता भएको, पुनर्कर्जासँगै अन्य सहुलियत कर्जाको उपलब्धतालगायत कारण विदेशी लगानीकर्ता जलविद्युत् क्षेत्रमा आकर्षित देखिएको जानकार बताउँछन् । नेपालमा लगानीका अन्य क्षेत्रको तुलनामा जलविद्युत् क्षेत्रमा तुलनात्मक लाभ धेरै रहेकाले पछिल्ला वर्षहरूमा विदेशी लगानीकर्ताको आकर्षण बढेको उनीहरूको भनाइ छ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौतापछि यो क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्ने अर्थमन्त्री प्रकाशशरण महतले जनाए । नेपाल लगानीका लागि उपयुक्त छ भन्ने सन्देश दिनकै लागि सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्न लागेको पनि उनको भनाइ छ ।

‘पहिले लगानी सम्मेलन भयो तर विविध समस्याका कारण अपेक्षित नतिजा देखिएन । अहिले अवस्था फरक छ । भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने भनेको छ । बजार सुनिश्चित भएपछि लगानीकर्ता लगानी गर्न उत्साहित हुन्छन्,’ कान्तिपुर दैनिकसँगको कुराकानीमा अर्थमन्त्री महतले भने, ‘भारत, युरोप अमेरिकालगायत विश्वव्यापी रूपमा लगानीकर्ताले सूची देखाएका छन् । यो वर्ष सबैभन्दा बढी पर्यटक आएका छन् । पूर्वाधार क्षेत्रमा लगानी बढाउँदा यो क्षेत्रमा राम्रो सम्भावना छ ।’ नेपालमा लगानीमैत्री वातावरण बनाएर धेरैभन्दा धेरै लगानी भित्र्याउन सरकारले कानुनी र व्यावहारिक अड्चन फुकाउनेतर्फ काम गरिरहेको पनि अर्थमन्त्री महतले बताए ।

नेपाल राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड रहेको देखाएको छ । नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ  । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!