२ माघ, बाँपिझ्याला, काठमाण्डौं । दक्षिण अफ्रिकामा हुने आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपअघि नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ । दोस्रो अभ्यास खेलमा नेपालले आज वेस्ट इन्डिजविरुद्ध खेल्ने तालिका रहेको छ । नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल दक्षिण अफ्रिकाको जोहानेसवर्गमा नेपाली समयअनुसार अपरान्ह १:४५ बजेबाट सुरु हुनेछ ।
यसअघि पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । विश्वकपका लागि भने नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्ड पनि रहेका छन् ।
नेपालले पहिलो खेल न्यूजिल्यान्डविरुद्ध जनवरी २१ मा खेल्ने तालिका रहेको छ । त्यसैगरी, समूह चरणको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध जनवरी २४ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध जनवरी २७ मा खेल्ने तय भएको छ ।