Search

कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ पुष्टि

कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ पुष्टि

२५ पुष, बाँपिझ्याला, काठमाण्डौं । कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएसँगै जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिएका छन् । हालसम्म यस भेरियन्टले सामान्य ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षणमात्रै देखिएकाले भयावह स्थिति सिर्जना नहुने यद्यपि सामान्य स्वास्थ्य मापदण्ड भने अपनाउन उनीहरूको सुझाव छ ।

विशेष गरी वृद्धावृद्धा, गर्भवती, बालबालिका, दीर्घ रोग लागेका व्यक्तिले विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस २३ गते जिनोम सिक्वेन्सिङ प्रविधिबाट सङ्कलित १६ वटा नमुनाबाट ७ वटामा जेएन. १ को सङ्क्रमण पुष्टि भएको छ ।

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ पनि अन्य भेरियन्टजस्तै खोकेर, हाच्छ्युँ गर्दा निस्केका छिटाहरूबाट अर्को व्यक्तिलाई सर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । यो भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा गम्भीर हानि पुर्‍याएको पुष्टि नभएको उनको भनाइ छ ।

नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कम घातक वर्गमा राखेको डा. पुनले उल्लेख गरे । ‘डब्लुएचओले नयाँ भेरियन्टलाई कम घातकको वर्गमा राखेको छ,’ उनले भने, ‘हालसम्मको जानकारी अनुसार डराउनुपर्ने स्थिति देख्दिनँ तर सावधानी अपनाउनुपर्छ ।’

हालै पुष्टि भएको ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ ले वृद्धावृद्धा, गर्भवती, बालबालिका, दीर्घ रोग लागेका व्यक्ति बढी प्रभावित हुने देखिएकाले उनीहरूले विशेष सावधानी अपनाउनु पर्ने पुनले उल्लेख गरे । ‘बुढापाका घरमै बस्नु हुन्छ, कामको सिलसिलामा बाहिर जाने परिवारको सदस्य ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ सार्ने मध्यम हुन सक्छ,’ पुनले भने, ‘यस विषयमा परिवारका सदस्यले ध्यान दिनुपर्छ ।’

कसरी जोगिने ओमिक्रोनको नयाँ सब–भेरियन्टबाट ?
कोरोनाका अन्य भेरियन्ट जस्तै व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाहरूबाट ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ अर्को व्यक्तिमा सर्ने भएकाले भिडभाड नगर्ने, जानै पर्ने भएमा मास्क लगाएर जाने, नियमित रूपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गरेर यसबाट जोगिन सकिने विज्ञहरू बताउँछन् ।

कोरोनाबाट बच्नमात्रै नभई बाहिर प्रदूषणबाट जोगिन पनि मद्दत पुग्ने भएकाले अनिवार्य मास्क लगाउन सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले सुझाए ।

नयाँ भेरियन्ट के हो ?
कोभिड–१९ को विभिन्न प्रजाति देखा पर्न थालेका छन् । त्यहीमध्येको एक हो नयाँ भेरियन्ट जेएन.१ । कोभिड–१९ भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति जेएन.१ भएको चिकित्सकले बताएका छन् । जुन ओमिक्रोनको नयाँ म्युटेसन भएर बनेको हो ।

कसरी हुन्छ भाइरस म्युटेसन ?
भाइरसको विकास हुँदा वंशाणुगत संरचना परिवर्तन हुने विशेषज्ञ डा. बास्तोलाले बताए । उनका अनुसार भाइरस परिवर्तन हुँदा विभिन्न नयाँ प्रजाति जन्मिन्छन् । तर सो प्रजातिमध्ये केही भाइरसमात्रै बाँच्ने र भाइरसको परिवर्तित स्वरुप नयाँ भेरियन्ट देखापर्ने उनले बताए । ‘भाइरसको डेभलोपमेन्ट हुँदा जेनेटिक स्ट्रक्चर चेन्जेज आउँछ, चेन्जेज आउँदा नयाँ भेरियन्ट निस्किन्छ,’ उनले भने, ‘भेरियन्टहरु निस्किँदा, सबै सर्भाइब हुन्छ भन्ने छैन ।’

उनका अनुसार धेरै भेरियन्टमध्ये केही भेरियन्ट सर्भाइब गरेर आफ्नो जेनेटिक सँगसँगै लैजान सक्ने क्षमता विकास गर्छन् । यो नै म्युटेसन भएको भाइरसको नयाँ भेरियन्ट भनेर बुझिन्छ । ‘जेएन.१ पनि परिवर्तित भाइरस नै हो, जुन ओमिक्रोनको सब भेरियन्ट हो,’ डा. बास्तोलाले भने ।

उनका अनुसार वर्ष दिनमा भाइरस परिवर्तन हुन्छ । जसबाट भाइरसका विभिन्न प्रजाति विकास हुन्छन् । ‘भाइरस परिवर्तन हुन्छन्, इम्युनिटी डेभलप गर्छन्,’ उनले भने, ‘कुनै भाइरसमा फैलिनका लागि फैलावट विकास गरेका हुन्छन्, कुनै–कुनै सामान्य हुन्छन्, हाल आएको भाइरस पनि सामान्य नै मान्न सकिन्छ ।’

कोरोनाविरुद्ध खोप लगाएका व्यक्तिलाई कति जोखिम ?
कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई नयाँ सब भेरियन्टले खासै प्रभाव नपर्ने चिकित्सकले बताएका छन् । तर खोप नलगाएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, गर्भवती, दीर्घरोगका बिरामी बढी प्रभावित हुन सक्ने डा. पुनको अनुमान छ । ‘खोप लगाएका व्यक्तिमा त्यति धेरै अप्ठ्यारो अवस्था सिर्जना नहोला तर मैले यस्तो भन्दै गर्दा पनि बुढापाकालाई केही समस्या निम्त्याएको देखेको छु,’ उनले भने, ‘कोरोनाको स्वास्थ्य मापदण्ड अनुसार सतर्कता अपनाउनु पर्छ ।’ कारोनाविरुद्धका खोप नलगाएका र पूर्ण रूपमा खोप नलगाएका व्यक्तिलाई खोप लगाउन चिकित्सकको आग्रह छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!