Search

डेढ वर्षदेखि १४ लाख सेवाग्राहीले पर्खिरहेछन् सवारी लाइसेन्स

डेढ वर्षदेखि १४ लाख सेवाग्राहीले पर्खिरहेछन् सवारी लाइसेन्स

२१ पुष, बाँपीझ्याला, काठमाण्डौं । प्रक्रिया पूरा गरे पनि १४ लाख १९ हजार सेवाग्राहीले डेढ वर्षदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका छैनन् । प्रक्रिया पूरा गरेकाहरू अहिले राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । नवीकरण र नयाँ लाइसेन्स लिन प्रक्रिया पूरा गर्नेको संख्या १४ लाख १९ हजार ३ सय ७ छ । बिदाको दिनसमेत काम गर्ने हो भने यतिका कार्ड छाप्न ३ सय २२ दिन लाग्छ ।

किनकि हाल रहेको मेसिनको एक दिनको छपाइ क्षमता ४४ सय छ । जब कि स्न् २०२२ अगस्ट (०७९ भदौ) देखिको कार्ड प्रिन्ट हुन बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । सात महिनादेखि कार्ड नभएर लाइसेन्स छपाइ बन्द छ । विभागले उच्च शिक्षा अध्ययन, वैदेशिक रोजगारी, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ विभिन्न देशमा खटिने सेना, प्रहरीलगायतलाई अत्यावश्यक रहे मात्र अहिले लाइसेन्स उपलब्ध गराउने गरेको छ । जुन कार्डको मौज्दात संख्या पनि ५२ हजार छ । अन्य सेवाग्राहीको हकमा राजस्व तिरेको चिर्कटो बोकेर हिँड्नुको विकल्प छैन ।

अहिले दिनमै ३ हजारभन्दा बढी कार्डको माग छ । विभागले लाइसेन्स छापेर प्रदेशअन्तर्गतका यातायात कार्यालयमा पठाउँछ । जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचले कार्ड समयमै डेलिभरी नगर्दा छपाइ प्रभावित भएको विभागको भनाइ छ । उक्त कम्पनीले १९ करोड ८८ लाख १४ हजार रुपैयाँमा कार्ड आपूर्तिको ठेक्का लिएको छ । जेठभित्र उपलब्ध गराउने गरी ठेक्का सम्झौता भए पनि कम्पनीले अहिलेसम्म कार्ड उपलब्ध गराएको छैन । अब पनि कार्ड नल्याए सम्झौताअनुसार कानुनी कारबाहीमा जाने विभागका महानिर्देशक उद्धव रिजालले बताए ।

‘कार्डको माग धेरै छ,’ रिजालले भने, ‘ठेक्का लिने कम्पनीलाई एक साताभित्र कार्ड नल्याए कानुनी कारबाहीमा जाने भनेर बिहीबार चिठी लेखेर पठाइसकेका छौं ।’ केही दिनअघि पुस १७ भित्र कार्ड आउने विभागले जनाएको थियो । तर कम्पनीले ढिलाइ गर्दा कार्ड आउन सकेन । भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले पर्सनलाइजेसनको काम समयमै नगर्दा सुरुमा लाइसेन्स डेलिभरीको समस्या भएको विभागले जनायो ।

विभागले दसैंअघिसम्म कार्ड ल्याएर वितरण गर्ने दाबी पनि गरेको थियो । विभागमा महानिर्देशक फेरिइरहँदा भने यो कामले गति लिन सकेको थिएन । ‘जति बेला ठेक्का लगाइयो, त्यो बेला कार्ड पर्सनलाइजेसन गर्ने र कार्ड ल्याउने कम्पनी फरकफरक भएर पनि समस्या भएको हुन सक्छ,’ रिजालले भने, ‘मद्रासको मेसिनले जर्मन कम्पनीले उपलब्ध गराएको कार्ड रिड गर्दैन भन्ने समस्या झिकिरह्यो, जसले गर्दा पनि ढिलाइ भयो ।’ दुई कम्पनीका प्रतिनिधिलाई बोलाएर छिटो समस्या समाधान गर्दै कार्ड ल्याउन ताकेता गरेपछि समस्या समाधान भएको उनको भनाइ छ ।

पहिला मद्रासकै टिमले नै कार्ड सप्लाई गर्थ्यो । पछि उसले कार्ड सप्लाईको टेन्डर नपारेपछि पर्सनलाइजेसनको काममा ढिलाइ गर्दै आएको जनाइएको छ । पहिलो लटमा ६ लाख कार्ड आउँछ । ‘कार्ड आएपछि पहिला भनेअनुसारको गुणस्तरीय कार्ड हो कि होइन, ल्याब परीक्षण गरिनेछ,’ उनले भने, ‘यो गर्न ८/१० दिन लाग्छ, ल्याब परीक्षणबाट कार्ड प्रयोग गर्न योग्य हुनासाथ पर्सनलाइजेसन गरिनेछ ।’ त्यसपछि छापेर वितरण थालिने महानिर्देशक रिजालको भनाइ छ ।

‘अहिले भनेअनुसार कार्ड आए वितरण गर्न माघ तेस्रो साता लाग्ला,’ उनले भने, ‘पहिलो लट ६ लाख आउँछ । अनि लगत्तै दोस्रोमा थप ६ लाख आउँछ ।’ लाइसेन्सको माग धेरै हुँदा कार्डअनुसार प्रिन्ट गर्ने मेसिन एउटा मात्र भएकाले थप मेसिन र कार्ड एउटै कम्पनीले खरिद गर्ने गरी ठेक्का गरिएको छ, जुन प्राविधिक मूल्यांकनका क्रममा रहेको रिजालले सुनाए । ‘थप साढे १५ लाख कार्ड र मेसिन किन्न ठेक्का भइसकेको छ, पहिला अलगअलग ठेक्का गर्दा कार्ड ल्याउन, पर्सनलाइजेसन र प्रिन्ट गर्न समस्या भएको थियो,’ उनले भने, ‘अहिले एउटै कम्पनीले दुवैको ठेक्का लिएपछि समस्या नहोला ।’ प्रदेश प्रमुखहरूबाट लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने अधिकार नपाएको गुनासो आएकाले प्रदेशहरूबाट पनि लाइसेन्स वितरणको व्यवस्था गर्नेबारे छलफल भइरहेको रिजालको भनाइ छ ।

सबै समस्या समाधान गरेर कार्ड आउने तयारीमा रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनाए । ‘क्रिसमस र अंग्रेजी नयाँ वर्षले गर्दा केही ढिलाइ भएको हो,’ उनले केही दिनअघि कान्तिपुरसँग भनेका थिए, ‘लाइसेन्स प्रिन्ट गर्ने मेसिन अहिले एउटा मात्र छ । थप अर्को मेसिन ल्याउन ठेक्का भएको छ । दुई वटा मेसिन भएपछि तीन सिफ्ट गरेर प्रिन्ट गर्छौं ।’ प्रदेश यातायात कार्यालयहरूले पनि प्रिन्टर किन्ने भएकाले लाइसेन्सको समस्या छिट्टै समाधान हुने उनको भनाइ छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!