१७ पुष, बाँपीझ्याला, काठमाण्डौं । केही समय अगाडि सिमेण्टको मूल्य प्रति बोरा १ शय वृद्धि भएकोमा हाल पुरानै मूल्य कायम गरिएको नेपाल निर्माण व्यवसायी महासंघले एक विज्ञप्ती जारी गरी जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले आज मंगलवार जारी विज्ञप्ति मार्फत् सिमेण्टको पुरानै मूल्य कायम गरिएको जानकारी दिनु भएको छ । राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएको कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको विषम परिस्थितिलाई मध्यनजर गरी महासंघको आग्रहमा नेपाल सिमेण्ट उत्पादक संघ लगायत सिमेण्ट उद्योगीहरूले मुल्यवृद्धि घटाई पुरानै अवस्थामा कायम गरिएको महासंघले जनाईएको छ ।
महासंघको आग्रह बमोजिम मूल्य घटाइदिएकोमा नेपाल सिमेण्ट उत्पादक संघ लगायत सिमेण्ट उद्योगीहरूलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यसै गरी महासंघले मुल्यवृद्धि घटाउन आवश्यक पहल तथा समन्वय गरिदिने नेपाल सरकारका सबै सम्बन्धित् निकायहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
साथै महासंघको समस्या समाधानका लागि सदा झै महत्वपूर्ण भूमिका निर्वाह गरिदिने समस्त सञ्चार माध्यमहरूप्रति महासंघले विशेष आभार व्यक्त गरेको छ ।