१२ पुष, बाँपीझ्याला, दोलखा । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल दोलखाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । यस अधिवेशनबाट विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।
त्यस्तै सचिवमा दिपेन्द्र बुढाथोकी लगाएत अन्यपदाधिकारीहरु चयन भएका छन् ।
भेला सुरु हुन भन्दा अघि वाइसियलले चरिकोटमा मोटरसाइकल ¥याली गरेको थियो । वाइसियल जिल्ला भेलाको उद्धघाटन नेकपा माओवादी केन्द्रका युवा नेता तथा वाईसियल ईन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) ले गर्नुभयो ।
भेलाको उद्धघाटन गर्दै नेता दिपशिखाले माओवादी पुरानो लयमा फर्कने भन्दै मुलुकको नेतृत्व माओवादी हुने बताउनुभयो । वाइसियल जिल्ला संयोजक साङ्गे शेर्पाको अध्यक्षतामा सम्पन्न भेलालाई नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभाका सांसद गंगा कार्की, नेतृ देवी खड्का, नेताहरु बिशाल खड्का, नरबहादुर पाख्रिन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबीच, नेकपा एमाले निकट युवा संघ दोलखाका नेता राजीव श्रेष्ठ वाईसियलमा प्रवेश गरेका छन् । युवा संघको तत्कालीन संगठन युथफोरका केन्द्रीय सदस्य श्रेष्ठ वाईसियलमा प्रवेश गरेका हुन् । युवा संघ परित्याग गरेका श्रेष्ठलाई माओवादी केन्द्रका नेताहरु गंगा कार्की, विशाल खड्का र देवी खड्काले अविर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।