उपेन्द्र प्रधान
ऐतिहासिक कथा अनुसार पाञ्चाल देश हालको पनौती मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे । उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो । एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कत्तिको दानी रहेछन् भनि बुझ्न मन लागेछ । कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् ।
महाजन दम्पतीले दरिद्र रुपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर राखेको यमरि सहित खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर खुसी भै आफ्नो सक्कली रुप देखाएछन् र ति महाजन दम्पतिलाई यमरिको गुण र धानको भकारीमा गणेश, कुबेर र तिनका बाहन सहितको प्रतिमा बनाई पूजा गरी यमरि चढाउने विधि बताएर अन्तर्ध्यान भएछन् । त्यो दिन मंसिर शुल्क पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाको दिन थियो ।
कुवेरले दिएको महाजन दम्पतिले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी र योमरी बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरि ४ दिन सम्म छोपेर राखी पूजा गरेछन् । अनि अन्न, धान र योमरी दान पनि गरेछन् । भकारीमा चढाएको चार दिनपछि दिइसकेका छोरीचेली समेतलाई माइतमा बोलाइ सपरिवार बसेर यमरि प्रसादका रुपमा बाँडेर खाने ख्वाउने गरिन्छ । योमरी खाएकाले शरीरसमेत हृष्टपुष्ट हुन थालेछ । धन सम्पत्तिको बृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ ।
विस्तारै यो कुरा जताततै फैलिएपछि त्यही समयदेखि नेवाः समुदायमा योमरी पूर्णिमाको संस्कृति विकास भएको भनाई रहेको छ । यसरी कुबेरले भने अनुसार धनधान्य भएको हुनाले त्यहि बेलादेखि मंसिर पूर्णिमाको दिन भर्खरै भित्राएको धानबाट योमरी बनाएर खाने र पर्व मनाउने चलन चलिआएको छ ।
यसै गरी दोलखामा आज योमरी पुनीः अर्थात ठिलापुनीसको नामले भव्य मनाउने चलन रहि आएको छ । जस अनुसार चुचेरोटी लाई दोलखा नेवाः भाषामा देउचमारी पुनीस पनी भनिन्छ । दोलखामा मानिने चाडपर्वहरु मध्ये महत्वपुर्ण चाड यही योमरी पुन्ही अर्थात धन्यापुर्णे पर्व, ठिला पुनिसको नामले प्रख्यात रहेको पाईन्छ ।
दोलखाका नेवाः जातीले ठिला पुनिसको नामले मनाउने गरिन्छ भने स्वःनिगका नेवाः जातीले योमरी पुन्ही को नामले मनाउने गरेको पाईन्छ । यसै गरी राई लिम्बु र मगर जातीहरुले उभौली पर्वको रुपमा मान्ने गरेको पाईन्छ । यसै गरी यस चाडलाई खस बाह्मण जातीहरुले देवालीको रुपमा मान्ने गरेको पाईन्छ ।
योमरीको ईतिहासत माथी उल्लेख गरिसकेको छ । तर दोलखामा धान्यपुर्णीमा अर्थात ठिलापुनीस कहिलेदेखि मनाउन शुरु ग¥यो भन्ने एकिन नभएपनी नेवाः वस्ती जव शुरु भयो त्यही बेलादेखि शुरु भएको भन्ने मान्यता रहेको छ ।
ठिलापुनीसको सवै भन्दा महत्वपुर्ण पक्ष हो चुचेरोटी देउचमारी हो । देउचमारी नामले दोलखामा प्रख्यात रहेको छ । धान्यपुर्णीमा अर्थात देउचमारी पुनीसकोको अघिल्लो दिन बेलुका यो रोटी बनाउने प्रचलन रहेको छ । यसरी चुचेरोटी देउचमारी बनाउदा भकारीमा पूजा गर्नको लागि लक्ष्मी र गणेशको प्रतिमा स्वरुप मुर्तिहरु बनाई भकारीमा पूजा गर्ने परम्परा रही आएको छ ।
धान्यपुर्णै देउचमारी पुनिसको दिन घर घरमा लिपपोत गरी सरसफाई गरी दोलखा भित्रका देविदेवता मठ–मन्दिरमा चढाउने प्रचलन रहेको छ । यसै गरी स्थानिय जोगी नेवाः जातीहरुले कानापुटुको नामबाट जोगीको भेस धारण गरी घर घरमा घुमेरे चामल र देउचमारी बटुलेर हिड्ने अर्को मौलिक विशेषता रहेको चलन रहेको छ ।
यसै गरी ठिलापुनीसको दिनदेखि विशेष गरी जाडो महिनाको मापन शुरु भएको मान्यता रहेको पनी स्थानिय वासिन्दाहरुको भनाई रहेको पाईन्छ । ठिलापुनीस–योमरी पुन्हिको नेवाः जाती लगाएत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
बाँपीझ्याला मिडिया परिवार