Search

दोलखा सुनखानीमा रहेको कालिनाग मन्दिरमा भव्य मेला

दोलखा सुनखानीमा रहेको कालिनाग मन्दिरमा भव्य मेला

९ पुष, बाँपीझ्याला, दोलखा । धान्य पूर्णिमाको अवसरमा दोलखाको सुनखानीमा रहेको कालिनाग मन्दिरमा भव्य मेला लागेको छ । कालिञ्चोक गाउँपालिका वडा नं ८ मा रहेको कालिनाग मन्दिरमा आज साँझ दिप प्रज्ज्वलन गर्न श्रद्धालु भक्तजनहरुको भीड लागेको हो ।

मेलाका अवसरमा विभिन्न स्थानबाट पौराणिक भजन र पञ्चेबाजासहितको डोली मन्दिरमा भित्रयाइने चलन रहेको छ । पञ्चेबाजा,पौराणिक भजन किर्तनसहित घरघरबाट फूलमालाले सिंगारिएका डोलीहरु कालिनाग मन्दिरमा लगिने प्रचलन रहेको छ । रङ्गिविरङगी डोली, रातभर वत्ती बाल्ने महिला, भजन टोलीको भजनको रौनक र पञ्चेबाजाको रौनकले भरिने कालिनाग मन्दिरको यो मेला सबैभन्दा ठूलो मेला भएको स्थानीय जेष्ठ नागरिक मनमाया शिवाकोटीले बताउनुभयो ।

मन्दिरमा वत्ती बाल्न दोलखाको भीमेश्वर, विगु, गौरीशंकर, बैत्यश्वर, मेलुङ, शैलुङ लगायत जिल्ला भित्र र बाहिरबाट भक्तजनहरुको भीड लागेको कालिनाग संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार भत्तजनलाई सहजताका लागि बत्ती बाल्न र रात विताउन सहज हुने गरी व्यवस्थापन गरिएको छ । रातभर भजनकृतन गरी जागा रहनुपर्ने चलन अनुसार अहिले पनि रातभर जात्रा भर्नेको भीड लाग्ने गरेको स्थानीयको भनाइ छ ।

आज साँझ मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिने छ । साँझमा बालिएको वत्ती भोलिपल्ट विहानसम्म अखण्ड रुपमा बालिने चलन रहेको छ । व्रतालुहरुले दिनभर फलाहार मात्र गरेर रातभर जाग्राम बसी वत्ती बाल्ने प्रचलन छ । भोलिपल्ट विहान विधिपूर्वक पूजा गरेपछि भक्तजनहरु घर फर्कने छन् ।

मन्दिरमा धान्यपूर्णिमामा दीप प्रज्ज्वलन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । किम्बदन्ती अनुसार सत्रौ शताब्दितिर शिवाकोटीहरुको आदि पुर्खा गणेश पाध्य भारतको कुमाउ गढवालबाट एउटा रालो नभएको घण्ट बोकी यात्राका क्रममा बाटोमा बास बसे । रातमा विश्राम गर्दा उनी गाईको गोवरले पोती घण्टलाई सिरान छेउमा राख्थे ।

विहान घण्ट उठाउँदा घण्टभित्र छोपिएर रहेको अवस्थामा एउटा नागको दर्शन पाउँथे । यसै क्रममा गणेश पाध्य हालको सुनखानी छर्पकुमा आई छाप्रो हाली बसोबास सुरु गरे । छर्पकुमा पनि नागले त्यसैगरी दर्शन दिए । पछि उनले मन्दिर बनाउने सोच बनाए । एक दिन सपनामा नागले हालको मन्दिर छेवैमा रहेको बाँझको रुखमा बसेको देखाए पछि पाध्यले सोहि रुखको फेदमा कालिनागको कुलायन स्थापना गरी पुजा अर्चना सुरु गरे ।

यसरी स्थापना गरिएको कुलायन शिवाकोटीले कूल देवताका रुपमा पूजा गर्दै आएका छन् भने कालिनाग प्रति सबै थर, गोत्र, जातजाति र धर्माबलम्बिहरुले उत्तिकै आस्था र विश्वास प्रकट गर्ने गरेका छन् । मन्दिरमा दर्शन र पुजा गरे मागेको कुरा पुरा हुने जन विश्वास रहदै आएको छ ।परम्परा अनुसार शिवाकोटीहरुको कुल पुजा गर्ने पर्वहरु नागपञ्चमी र देवालीमा शिवाकोटीहरुको मूलघर चौघरामा रहेको कुल कोठामा संरक्षण गरिएको घण्ट मूल पुजारीको अगुवाईमा बाजा गाजा, भजनकृतन सहित कालिनाग मन्दिरमा लगि विशेष पुजा गरी बेलुकी सोहि ढङ्गले दरवार भित्राईने परम्परा रहेको छ भने धान्यपूर्णिमा,तीज,कृष्णाष्टमी लगायतका पर्वमा मेला लाग्ने गरेको छ ।

आज काठमाण्डौको भीमसेन गोलामा रहेको कालिनाग मन्दिर, चितवन र झापामा रहेका कालिनाग मन्दिरमा पनि धान्यपूर्णिमाको अवशरमा वत्ती बाल्ने कार्यक्रम रहेको छ । समाचार सम्प्रेशनको लागि समदृष्टिबाट

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!