५ पुष, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा यही पुष १४ गते देखि जिल्ला स्तरीय मावि छात्र फुटबल प्रतियोगीताको आयोजना हुने भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा प्रथम वडा अध्यक्ष कप जिल्ला स्तरीय माध्यमिक स्तरको छात्र फुटबल प्रतियोगीता आयोजना गर्न लागिएको छ भनी वडा अध्यक्ष बासु श्रेष्ठ बाँपीझ्याला डटकमलाई बताउनु भयो ।
दोलखा जिल्लाको करिव ३० भन्दा बढी माध्यमिक विद्यालयका विद्यार्थीहरुको टिम सहभागीता रहने उक्त फुटबल प्रयोगीतामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
फुटबल बुढाभिमसेन खेलमैदान धरमघरमा सञ्चालन हुनेछ । यसरी संचालन हुन गईरहेको फुटबल खेलमा कक्षा १० सम्म अध्ययन गर्ने छात्रहरु सहभागि हुन पाउने छन् । यसरी प्रतियोगितामा सहभागी भई विजेता हासिल गर्ने टिमले नगदराशी ७५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । उपविजेताले नगदराशी ३५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
खेलको सेमिफाइनलमा पुगेका २ टिमलाई नगदराशी दश दश हजार, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने र उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ठ गोल किपरलाई २ हजार र ट्रफी प्रदान गरिने समेत थाहा भएको छ । सहभागी प्रतियोगी स्कुलका टिमका लागि यही पुष १० गते अपरान्ह ४ बजे सम्ममा नाम टिम दर्ता गराई सक्नु पर्नेछ ।
बर्तमान अवस्था स्कुलका विद्यार्थीहरुलाई खेल प्रति उत्साह र प्रबद्र्धनका लागि फुटबल प्रतियोगीताको आयोजना गर्नु आवश्यक महशुष गरि आयोजना गरिएको छ भने अर्को तर्फ खेललाई नै भविष्यमा आफ्नो पेशा बनाउने विद्यार्थीहरुको लागि यो खेलले थप उत्साह प्रदान गर्ने भएकोले वडाले यसरी फुटबल प्रतियोगीताको आयोजना गरिएको छ भनी वडाध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।
साथै यसरी शुरु हुन गईरहेको जिल्ला स्तरीय फुटबल खेलमा सहभागी भई खेलाडी विद्यार्थीहरुको मनोबल बढाउनको लागि उपस्थिती हुन भीमेश्वर नगरवासी, दोलखा जिल्लावासी र सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई वडाध्यक्ष श्रेष्ठ विशेष आमन्त्रण गर्नु भएको छ ।