३० मंसिर, बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखा स्थित श्री राजकुलेश्वर आवासिय विद्यालयको भवनमा आज शनिवार युवक बौद्ध मण्डल नेपाल ललितपुरको आयोजनामा १७ औं बौद्ध जागरण शिविर संचालन भएको छ ।
आज विहान ७ बजेदेखि संचालन भएको उक्त शिविर विहान ९ बजे पञ्चशील प्रार्थना, बुद्ध पूजा, आनापाना ध्यान अभ्यास गरिएको थियो ।
भिक्षु विमलोज्यूको हातबाट दिप प्रज्वलन गरि उद्घाटन गरिएको उक्त शिविरमा उपस्थिती प्रमुख गुरु, विशेष आन्त्रतीत व्यक्ति र सहभागी दोलखावासीहरुलाई संस्कृती प्रेमी भगवान दास श्रेष्ठले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।
यसै गरी शिविरको उद्देश्यबारे युवा बौद्ध बौद्ध मण्डलका पूर्व अध्यक्ष राजेश शाक्यले प्रकाश पार्नु भएको थियो भने गुही विनयको बारेमा सुरेन्द्रकुमार शाक्यले प्रकाश पार्नु भएको थियो ।
गुरु भिक्षु विमलोज्यूले चतुआर्य सत्यको बारेमा प्रकाश पार्ने र वहाँको वाचत पछी सहभागी महानुभावहरुलाई प्रमाण पत्र वितरण रहेको छ भनी कालिञ्चोक युवा क्लवका अध्यक्ष अनिल चन्द्र श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो । यसै गरी भोली पौष १ गते विहान ८ बजे जलपान त्यसपछी दोलखाको बिभिन्न ठाउँमा अवलोकन रहेको समेत वहाँले बताउनु भयो ।
शिविर संचालनको लागि स्थानिय संस्थाहरु कालिञ्चोक युवा क्लव दोलखा, बनारसी सहयोगी हातहरु, दोलखा र लालिगुँरास युवा क्लव चरिकोटको संयोजन रहेको छ । उक्त शिविरमा १ शय ५ जना दोलखावासीहरुको सहभागीता रहको छ । जसमा महिला ४५ र पुरुष ६० को सहभागीता रहेको छ भनी क्लवका महासचिव सन्तोष प्रधानले बताउनु भयो ।