२७ मंसिर, बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ डोक्छे स्थित भुकम्पले क्षतविक्षत गरी भग्नाभेष अवस्थामा रहेको भीम पुस्तकालय समाजसेवी बरिष्ठ ई.आत्माकृष्ण श्रेष्ठको विशेष पहल र वित्तिय सहयोगमा रुपा फाउण्डेशनले पुनः निर्माण गर्ने तयारीमा जुटेको छ ।
करिव साँढे दुई दशकदेखि बन्द अवस्थामा रहेको उक्त भीम पुस्तकालय २०७२ साल बैशाख १२ गते आएको विनासकारी भुकम्प र २९ गते आएको भुकम्पको पराकम्पले ध्वस्त बनाएको थियो । त्यही ध्वस्त बनाएको पुस्तकालय हालसम्म पुनः निर्माण एवं मर्मत सम्भारको पर्खाईमा रहेको थियो ।
यसरी पुस्तकालय निर्माण समिति गठन भए पश्चात बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठले आफ्नो दिवंगत पत्नी रुपा श्रेष्ठको स्मरणमा रुपा फाउण्डेशन फाउण्डेशन मार्फत पुनः निर्माणको लागि रु. १० लाख दिने घोषणा गर्नु भएको थियो ।
तर उक्त समितीले आवश्यकता अनुसारको सहयोग संकलन गर्न नकसेपछी पुनः बरिष्ठ ईन्जिनियर समाजसेवी आत्माकृष्ण श्रेष्ठको विशेष सक्रियता र रुपा फाउण्डेशनको वित्तिय सहयोगमा पुस्तकालय पुनः निर्माण गर्ने घोषणा गर्नु भएको छ । यही सन्दर्भमा भीम पुस्तकालय पुनः निर्माणको लागि यही मंसिर २१ गते भीमेश्वर नगरपालीका वडा नं. २ को कार्यालय, पुस्तकालय पुनः निर्माण कमिटी र रुपा फाउण्डेशन विच सम्झौता भएको सार्वजनिक गरिएको छ ।
भीमेश्वर नगरपालीका वडा नं. २ वडा कार्यालयको तर्फबाट वडाध्यक्ष स्टालिन श्रेष्ठ र रुपा फाण्डेशनको तर्फबाट बरिष्ठ ईन्जिनियर समाजसेवी आत्माकृष्ण श्रेष्ठले उक्त सम्झौतामा दस्तखत गरी सहमती गरिएको छ भनी समाजसेवी बरिष्ठ ई. आत्माकृष्ण श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो । जुन सम्झौता बुँदागत रुपमा १० वटा शर्तहरु रहेको पनि वहाँले बताउनु भयो ।
भिम पुस्तकालय पुस्तकालयको भवन दोलखा बजारको विचमा रहेको र ध्वस्त भनि भग्नाभेष अवस्थामा रहेको पुस्तकालयको भवनले जहिले पनी बजारको सुन्दरता विर्गानुका साथै पुस्तकहरु पढ्नबाट स्थानिय स्कुलका छात्रछात्रा लगायत वासिन्दाहरु बञ्चित रहेको महशुष गरि उक्त पुस्तकालयको संरचना आफ्नै खर्च रुपा फाउण्डेशन मार्फत दिवंगत पिता माताको संस्मरणमा पुनः निर्माण गरिदिने इच्छा भएकोले भीमेश्वर नगरपालीका वडा नं.२ र पुस्तकालय भवन पुनः निर्माण समिति पहिलो पक्ष हुने र परोपकारी निजी संस्था रुपा फाउन्डेशन दोस्रो पक्षमा रहेको समेत बताउनु भयो ।
भीम पुस्तकालय दोलखाको पृष्ठभूमी :
वि.सं. २००९ सालमा त्रिपुरा लाईवे्ररी वि.सं. २०१० सालमा दिवंगत हस्तबहादुर श्रेष्ठ जग्गा दिएर दिवंगत हरिभक्त श्रेष्ठको सक्रियतामा भैरव लाईव्रेरीको नामबाट दुई ठाउँमा सञ्चालनमा ल्याएको थियो । यसरी त्रिपुरा लाईव्रेरी दिवंगत टेकबहादुर श्रेष्ठको विशेष पहलमा स्थापना भएको थियो भने भैरव लाइव्रेरी दिवगत भैरवबहादुर श्रेष्ठको विशेष पहलमा सञ्चालनमा आएको थियो । स्मरणीय रहोस् दिवंगत टेकबहादुर श्रेष्ठ र भैरव बहादुर श्रेष्ठ डोक्छे श्रेष्ठ खलकका सदस्य र निवासी हुन् ।
वि.सं. २०२३ सालमा डोक्छे टोलको ५४ चुल्हो भएको घर आकष्मीक आगो लागि भएर नष्ट भएको थियो । सोही क्रममा उक्त त्रिपुरा र भैरव पुस्तकालयमा पनी क्षती पुगेको थियो । ति दुवै पुस्तकालयको पुस्तक, पत्र–पत्रीका बचाउन तत्कालिन भीम पब्लीक हाईस्कूलमा लगिएको थियो ।
यसरी दुवै पुस्तकालयका पुस्तक, पत्र–पत्रिकाहरु एकै ठाउँमा मिसिएको कारणले छुट्टाउन कठिन भएकोले तत्कालिन भीम पब्लीक हाईस्कुलका प्रधानध्यापक रामबहादुर श्रेष्ठ (कविताराम श्रेष्ठ) ले दुवै पुस्तकालयका पुस्तकलाई एकैठाउँमा राखेर भीम पुस्तकालयको नामबाट यो पुस्तकालयको स्थापना भएको देखिन्छ ।
पछिल्लो चरणमा भीम पब्लीक हाईस्कूलमा रहेको सो पुस्तकालयलाई तत्कालिन प्रधानपञ्च दिवंगत खड्गबहादुर श्रेष्ठको घर पुरान्छेमा सारीएको थियो । पछी त्यहापनी कृषि विकास बैङ्कको कार्यालय बस्न आएकोले उक्त स्थानबाट दिवंगत अमरबहादुर श्रेष्ठ (भीमबहादुर श्रेष्ठ) र मृक्तिलक्ष्मी श्रेष्ठको घर पुरान्छेमा सारीएको थियो ।
त्यतिवेला उक्त पुस्तकालय सञ्चालनमा आएको देखेर धेरैभन्दा धेरै भीम पब्लीक हाईस्कुलका विद्यार्थी एवं शिक्षकहरुको आवश्यकता टरिएको थियो । पछिल्लो चरणमा आएर सो पुस्तकालयलाई हालको स्थानमा स्थापना गर्नको लागि डोक्छे निवासी दिवंगत हस्तबहादुर श्रेष्ठबाट जग्गा दान दिनु भएको थियो ।
यसरी स्थापनाकालदेखि बिभिन्न व्यक्तिहरु अमरकुमार प्रधान र कृष्णनारायण श्रेष्ठले स्वयमसेवकको रुपमा काम गरेको थियो भने तिर्थनारायण जोशी, भरत श्रेष्ठ, शुरेस श्रेष्ठ र सुरेन्द्र श्रेष्ठले कर्मचारी भएर सेवा प्रदान गर्नु भएको थियो ।
यसै सन्दर्भमा सो पुस्तकालयलाई व्यवस्थित रुपमा संचालनमा ल्याउन संचालन समितीको रुपमा तत्कालिन वडा नं. २ का वडाध्यक्ष टिकानारायण प्रधानले सहयोग गर्नु भएको थियो । यसरी भिम पुस्तकालय दोलखा सवैको नजरमा सरस्वतीको मन्दिरको रुपमा उजागर भएको स्पष्ट रहेको छ ।