यथार्थ सत्य हो दोलखा नेवारहरूको प्राचीन थलो हो । छिमेकी राष्ट्र चीनको तिब्बत प्रान्तसँगको दौत्य सम्बन्ध रहेको छ । १६ औँ शताब्दी पहिले देखि नै व्यापारिक सम्बन्ध रहेको अलग्गै पहिचानको थलो प्राचीन बस्ती दोलखा र दोलखामा रहेको साक्षात भीमेश्वर मन्दिर । जसको महिमा र गरिमा सर्वत्र व्यापक छ र साक्षत्कारको चर्चा बारम्बार दोहर्याइ रहन नपर्ला ।
तर पनि दोलखाको साँस्कृतिक जात्रा, पर्व, गुठी र मेलाको बारेमा राष्ट्रिय समाचार सम्प्रेषकहरूले झारो टार्ने काम गरेका तीक्तता सर्वविदितै छ । चहे दशैंको खड्ग जात्रा नै किन नहोस्, या मच्छिन्द्र नाथको रथयात्रा होसु या भैरवकुमारी जात्रा नै । पत्रकार, फोटो पत्रकार, भिडियो चलचित्र पत्रकारहरू नपुग्ने होइनन् । तर शीर्षकलाई मात्र केन्द्रीत गरेर देखाउने मूलभूत कुरालाई सारांशमै सीमित राखेको धेरैपटक धेरै मिडिया सञ्जालमा देखियो । जुन नेपाली जनमानसका नून बिनाको अचार चाखे सरी भएको देखिन्छ ।
प्रसङ्ग आजैको बाला चातुर्दशी मेलाको हो । दोलखामा अति नै प्राचीन महादेवको मन्दिर छ पिङ्गल टोलमा जहाँ तल्लो टोल जुज टोल नै दोलखाको साँस्कृतिक परम्पराको मूल थलो हो यसमा दुई मत छैन । यही टोलबाट भैरवकुमारी, मच्छिन्द्रनाथाको रथजात्रा, ट्वाकल प्याखन, (कृष्ण लीला), साप्याखन (गाईजात्रा)को थालनी भएपछि मात्र अन्यत्रबाट निकालिने गरिन्छ । अझ कुनै पनि देवी नृत्य वा ऐतिहासिक र्नत्य, नाटक देखाउनका लागि पनि नाट्यश्वर (नाश्वर) देवतालाई आराधना र जा अर्चना नगरीकन अन्यत्र नाचगान देखाउन नमिल्ने परम्पराको द्योतक स्थल पनि तल्लो भेककै दुङ्गल टोलमा रहेको छ ।
बाला चतुर्दशीको दिनमा पिङ्गलटोलको प्राचीन महादेवको मन्दिर अगाडि तल्लो नगर दुङ्गल टोलको छेउ देखि पश्चिममा हाबिचा टोलसम्मका स्थानी नरनारीहरू भेला भएर स्थानीय मौलिक बाजा, बुढ्यौली भजन खलक, टप्फा भजन खलक मिलेर बाला चतुर्दशीको दिनान सतबीज छर्ने जात्रा धुमधामले मनाइन्छ । यसै गरी माथिल्लो टोलका बासिन्दाहरूले पनि सिँभुथान (बौद्ध स्तूपा) डबलीमा जम्मा भएर शहर परिक्रमा गरी जात्रा मनाउने परम्परा यथावत चलाइ राखेका छन् ।
यो दिन तल्लो टोल पिङ्गल महादेव थानबाट शुरु गरेर राजकुलेश्वर, चक्र डबली, हरसिद्धि भवानी बहिर टो, नक्छेँ सेङ् टोल, श्यामसुन्दर, डोकलुङा करुणामाइ मन्दिर, टसिचा महादे मन्दिर, कोछेँ सिँभुथान, आगम घर हुँदै नारान टोल ऐहिासिक राइती धारा परिसर, गण्नेश टोलको गणेश मन्दिर भएर तारिगाउँबाट पाखलती जोगिन्दउ .(वज्रयोगिनी मन्दिर) देखि उकालो गएर तिलिन्चो टाकुरामा रहेको मञ्जेश्वरी सरस्वती मन्दिरमा घुमेर सतबीज छर्दै भजन, बाजा सहित दोलखाको मुख्य बजार क्षेत्र माथिल्लो टोल हुँदै त्यहाँको महादेव मन्दिर र ठूलो बौद्ध स्तूपा परिक्रमा गरेर लिस्डोलको भीमसेन डबली पुग्दै भीमेश्वर मन्दिरमा गएर परिक्रमा गरी सतबीज छरी पूजा गर्ने परमपरा छ । त्यहाँबाट पूर्वतिर रहेको काली मन्दिर अनि ओह्रालो झरेर त्रिपुरासुन्दी भगवतीको मन्दिर अनि दुङ्गलको नारायण मन्दिर, सिँभुथान घ्मेर गगरलुङा टोलमा रहेको नाश्वर भगवानलाई ढोग गरेरर पिङ्गलको महादेव मन्दिरमा पुगेर विसर्जन गर्ने गरिन्छ ।
त्यस्तै माथिल्लो टोलका समूहले भने सिम्भुथानमा प्रारम्भ गरेर भीमेश्वर मन्दिर हुँदै काली मान्दिर, त्रिपुरासुन्दरी नाश्वर, पिङ्गल हुँदै तल्लो टोलले जस्तै नारायाण टोल, गणेश टोल, तारिगाउँ, पाखलती, मञ्जेश्वरी पुगेर सरस्वती, गणेश र कालिन्चोकलाई स्मरण गर्दै मन्दिरमाथि रहेको जाँतोमा अन्न राखेर पिँधेको अभिनयले श्रद्धा अर्पण गर्ने चलन छ । त्यसपछि माथिल्लो टोलको सिम्भु थानमा गएर विसर्जन गर्ने गर्दछन् ।
यो बाला चतुर्दशीको दिनमा सतबीज छर्ने दिनको अघिल्लो सन्ध्याकाल देखि नै दोलखा शहर र शहर भन्दा बाहिरका भक्तजन, दर्शनार्थीहरू खचाखच आउने गर्थे केही दशक पहिलेसम्म । जब दोलखाकै एक व्यक्तिले धर्म गरेर नाम कमाउने र आजमाउने उद्देश्यले सदरमुकाम चरिकोटमा पशुपति मन्दिर बनाइदिए त्यहाँ देखि दोलखामा यो बाला चतुदर्शीको दिनमा सोचे जस्तो भक्तजन आउने संख्यामा कमि हुँदै गए ।
विगतमा हेदा रामेछाप, चिसापानी, बाबरे, सुरी, खारे, क्षेत्रपा, झुले, माल, मेलु, पवटी,फस्कु देखिका मान्छेहरू असंख्य आउने गरेको सबैलाई थाहा छ । अघिल्लो दिन माथिल्लो टोलका सिम्भुथानमा पाइलो हाल्ने ठाउँ हुँदैनथ्यो । बदाम, सुन्तला खैरो भटमास, उखु, बेच्नेहरूले बजार ढाकेका हुन्थे ।
त्यस्तै दुम्कोट, सुस्पा, सुनखानी तिरका थामी समुदायले चोयाले बुनेका डोको, थुन्से, डालो नाङ्लो, नाम्लो, दाम्लो, अनि विश्वकर्मा समुदायले, हँसिया, कोदालीका पाता, चाँदे, वन्चरो बनाएर विक्री गर्न ल्याउँथे ।
आज ती कुरा किन लोप हुँदै गए ?, के मान्छेहरू धर्म प्रति आस्था घट्दै गएको हो त ? तर त्यो होइन जस्तो लाग्छ । यसमा स्थानीय सद्भाव र व्यापार अनि सुरक्षा व्यवस्थापनको केही कमजोरी, सकारात्मक सोचको अभाव खट्किएको जस्तो लाग्छ ।
साक्षात भीमेश्वर नै शिवको एक रुप हो भन्ने मान्यता त सबैलाई थाहा भएकै हो । अबको चरणमा भीमेश्वरको महत्वलाई उजागर गरेर स्थानीय निकाय लगायत हामी सबैले एक मत राखेर जात्राको गरिमा र महिमालाई टेवा दिने कार्यमा दत्तचित्त बनौँ, सबै मृतात्मा प्रति हार्दिक श्रद्धासुमन सहित यी अक्षरका दानाबाटै सतबीज समर्पण गर्दै बाला चतुदैशीको प्रसङ्गलाई जोडौँ ।
पौराणिक मान्यता :
भगवान शिव मृगको रूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ । बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको भन्ने किम्वदन्ती पनि छ ।
पशुपतिको मुर्दाघाटमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मुर्दाको टाउको फुट्न गई उछिट्टीएको गिदी उनको च्युरामा परेको र उक्त गिदीसँगै च्युरा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्के भन्ने मान्यता रहेको छ ।
यस्तै आचरण तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाह अनुसार स्थानीय बासिन्दाले बालासुरको मित बृषसिंह मार्फत उसलाई मार्न लगाएको अर्को किम्वदन्ती रहेको पाईन्छ ।
आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रियोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ । पशुपति, मृगस्थली एवं कैलाशमा शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने पुराणमा बताइएको छ ।
भगवान् शिवले पनि आफ्नो बालककालमा शतबीज छरेकोले यस दिनको नाम बालाचतुर्दशी रहेको हो भन्ने कुराको उल्लेख पनि गरिएको छ । यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बालाचतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि पाइन्छ ।
मार्गकृष्ण त्रियोदशीको दिन बेलुकी त्यही वर्ष मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरै वर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ति बाल्ने गर्दछन् यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । राति बालिएको बत्ति चतुर्दशीको बिहानै वाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाए (बगाए) पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्छन् लगातार तीन वर्षसम्म बत्ती बालिसकेकाहरूले शतबीज छरिसकेर ब्राह्मण पुरोहितद्वारा साङ्गेको रूपमा चतुर्थीकृत्य सम्पादन गर्दछन् ।
पहिलो र दोस्रो वर्ष बत्ति बाल्नेहरू भने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन् । कैलाशमा बसेर दहीच्युरा खानाले भगवान् शिव खुशी हुन्छन् भन्ने जनविश्वास रहेको छ । तर पशुपति वा शिवालयमा गई बत्ति बाल्न अनुकूल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ति बगाउँछन् । यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले उत्तिकै श्रद्धाका साथ मनाउने गरेको पशुपतिमा लाग्ने यी दुई धर्मावलम्बीरूको भीडबाट प्रष्ट हुन्छ ।
संयोजन : बालकृष्ण श्रेष्ठ “पासा”