हरेक सालको मंसिर महिनाको कृष्णपक्षको चतुर्दशी अर्थात बालाचतुर्दशी एक नेपालमा मनाईने एक परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको भिन्न महत्त्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज छर्नै रोपण पर्व पनि भनिन्छ
यो पर्व विशेषगरी पितृहरूको उद्धारको निमित उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा हुने जनविश्वास रहेको पाईन्छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उपत्यकामा बसोबास गर्ने बासिन्दाहरु आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपति परिसरमा आइपुग्छन् ।
नेपालीमा शतको अर्थ सय र बीजको अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, गेडागुडी र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फललाई मसिना बनाएर त्यही अन्नसँग मिसाउनका साथै विभिन्न किसिमका पूmलहरू पनि मिसाएर शिव पीठहरूमा चढाउने गर्दछन् ।
यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्ग कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मदिर आदि ठाउँमा सतबीज छरिन्छ ।
प्रचलन अनुसार मंसिर कृष्ण त्रियोदशीका दिन राति साँझबाट भक्तजनहरूले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका गणेश नजिकआइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुयाउन आवाज निकाल्दै अनुरोध गर्दछन् ।