२३ मंसिर, बाँपीझ्याला, दोलखा । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल दोलखा आउने भएका छन् ।
एमालेका अध्यक्ष ओली यही मंसिर २५ गते झुलाघाट चिवाभन्ज्याङ विशेष अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा दोलखा आउने कार्यक्रम तय भएको छ भने नेकपा एसका अध्यक्ष नेपाल पार्टीको दशौँ जिल्ला अधिवेशनमा प्रमुख अतिथि भएर आउँर्दै हुनु हुन्छ ।
कम्यूनिष्टको लालकिल्ला मानिने दोलखा जिल्लामा पाँच दिनको फरकमा दुई कम्युनिष्ट पार्टीका नेता आउने भएपछि जिल्लामा राजनीतिक सरगर्मी बढेको छ । विगतमा एउटै पार्टीमा रहेका दुई प्रमुख नेताहरु यसरी लालकिल्ला दोलखामा पाँच दिनको फरकमा आउनेगरी कार्यक्रम तय हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमाले अध्यक्ष ओली काभ्रेपलाञ्चोकबाट स्थलमार्ग हुँदै मंसिर २५ गते दिउँसो दोलखा सदरमुकाम चरिकोट आईपुग्ने कार्यतालिका रहेको छ । एमाले दोलखाले जिल्लाभरका नेता कार्यकर्ता तथा समर्थकलाई सदरमुकाम चरिकोट उतारेर जनसभा गर्ने तयारी गरेको छ ।
यसका लागि दोलखा जिल्लाको सिमाना मुडेदेखि चरिकोट हुँदै मेलुङको सितलीसम्म स्वागतद्धार निर्माण गरिने थाहा भएको छ । अध्यक्ष ओलीले जनसभालाई सम्वोधन गर्ने दिन स्थानिय बाजागाजा सहीत र झाँकी प्रदर्शन गर्ने तयारी रहेको थाहा भएको छ ।