बालकृष्ण श्रेष्ठ “पासा”
मंसिर ११ गते साँझ तिर मोबाइलमा सन्देश आयो । संदेशको प्रेषक थिए चाबहिल गोपिकृष्ण सरस्वति नगरमा रहेका सानुबा शम्भु र सानिमा मन्दिरा श्रेष्ठ । जो साइनोमा मेरो सानिमा सासू खलक थिए । तथापि हामी बीचको नाता सम्बन्ध ससुराली र ज्वाइँको भए पनि हाम्रो यो नाता दौत्य र आत्मीयतामा घनिष्ठ रहँदै आएको छ । मैले उहाँहरूको स्नेह र ममतालाई अत्यन्तै सामीप्य राखेर यस यात्रामा ‘उ’ र ‘उनी’बाट सम्बोधन जाहेर गरेको छु ।
शम्भु श्रेष्ठ र मन्दिरा सानुबा र सानिमा भए पनि हामी दाजुभाइ जस्तै रहेका छौँ आपसी व्यवहारमा । हरेक दसैं होस् या जुनसुकै चाडपर्व र उत्सव (तिहार बाहेक)मा सरीक भएकै हुन्छौँ उहाँको घरमा । पहिले उनीहरू काठमाडौं महानगरपालीका वडा नं. ९ गौशालामा रहेका थिए । गौशालामा ‘शम्भु फास्टफुड’ नेवारी खाजा घर थियो । जहाँ म हिसाबकिताब मिलाउने लेखापालको रूपमा २८ वर्ष काम गरेको थिएँ । आवश्यक पर्दा भान्से ‘कुक’ को काम पनि गर्ने गर्थेँ । त्यहीँबाट मांस (ननभेज) परिकार बनाउन धेरै नै ज्ञान प्राप्त गरेको थिएँ । फलतः म स्वयंले पनि ठाउँ ठाउँमा सानोतिनो होटल व्यवसाय पनि गर्ने गरेको थिएँ । तर नियतीले मेरो व्यवसायले फस्टाउने मार्ग लिन सकेन । जुन यहाँ उल्लेख गर्न उचित ठानिनँ ।
शम्भु सानुबाको विद्याको बारेमा उल्लेख गर्न जरुरी त छैन तर बुद्धि, विवेक, ज्ञान र सीप भने वर्णन गरेर साध्य छैन । उनका औँला अक्षरका लागि पर्याप्त नभए पनि गाडी सम्बन्धि हरेक पार्टपूर्जा, स्टोभ, सिलिण्डर, रोअर पम्प देखि लिएर विद्युतीय काम प्रत्येकमा पोख्त छ । केही प्राविधिक समस्याको लागि बजारमा मिस्त्री र प्रविधिज्ञ खोजेर हिँड्न नपर्ने व्यक्तित्वका धनी हुन् ।
उनको स्वभाव र चरित्रप्रति नकारेर ‘धिक्कार’ र ‘खराब’ भन्ने व्यक्ति सायदै यो मुलुकमा नहोला । नहोस् पनि । हरेक नाता, वान्धव र बन्धुसँग आत्मीयताको कुनै कमि रहेको अहिलेसम्म पाइएको छैन । र नपाइयोस् पनि यदि विधाताले उनलाई मानवकै जन्म दिइहाले भने हाम्रो ‘पिताजी’को रूपमा पाइयोस् भनेर कामना गर्दछौँ । उनी जस्तो असल बुबा, सक्षम पति, सर्वश्रेष्ठ जिम्मेवारी अभिभावक सायद कमैले प्राप्त गर्लान् ।
हो उनैको सन्देश थियो मनकामना मन्दिर दर्शन गर्न जाने बारेमा । “ल, पर्सि बिहान मनकामना जाने कार्यक्रम छ, फुर्सद छ कि छैन, ल यदि जान मन छ भने कतिजना जाने को को जाने हो निश्चित गरेर ५ बजे बिहान गाडी चढि सक्नुपर्छ, गाडी जोरपाटीबाटै आउनेछ, त्यसैमा आओ,..” । उनको एकैपटकको आदेश र आज्ञा सहितको सन्देश सुनेर उनीहरूकी छोरी (मेरी पत्नी) त्यति मायाले भएको बोलावट प्रति अलिकति मन्दमुस्कान छोड्दै जाने सहमति त जनाइन् । तथापि म घरमा सल्लाह गरेर खबर गर्छु भनी त्यो बेलाको मोबाइल सम्पर्कलाई स्थगित गरिन् । मैले प्रत्यक्ष सुनिरहेकोले मैले पनि जानुपर्ला जस्तो संकेत सूचक इसारा दिएँ । कुरा गर्दै जाँदा ठूलो छोरा र बुहारी, ठूली छोरी अनि सानी छोरी पनि जाने मनशाय राखेपछि मेरै ८ जनाको परिवारमध्ये एकजना बाहेक (३ वर्षीय नाति समेत) ७ जना नै जाने कुरा भयो । कान्छो छोराको काम विशेष (साथीको बिहे सोही दिन हुने भएकोले) जान नपाउने भयो । अझ मिल्नेभए छोरी अष्ट (मेरी पत्नी)ले आफ्ना बुबालाइ पनि लाने सोच राखेकी थिइन् तर नजाने भएकोले हामी मात्र भयौँ ।
बेलुका सानिमा मन्दिरालाई हाम्रो मात्र ७ जना (सानो नाति समेत) भएको जानकारी दियौँ र कति जति खर्च लाग्ने पनि सोध्यौँ । सानिमाले ‘पहिले आउ न अनि सल्लाह गरौँला नि..’ भनेर अनिर्णित संकेत दिइन् ।
मनकामना मन्दिर करीब १४ वर्षको अन्तरालमा मलाई पनि जाने रहर जागेको थियो । २०४४ सालतिर गौशालाकै साथीहरू, व्यापारी समूह र उनीहरुका परिवारसँग लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, पोखरा, गोरखा हुँदै मनकामना पुग्ने अवसर पाएको थिएँ । त्यतिबेला मेरो तर्फबाट म मात्र थिएँ । जतिबेला उनै सानुबा र सानिमासँग रहेको भएपनि उनीहरू होटेल हेर्ने मान्छे नभएकोले गएका थिएनन् ।
त्यो बेलाको यात्राको स्मरणमा फर्किंदा एउटा नमीठो घटनाको याद आउँछ । प्रतिव्यक्ति ११ सय रूपैयाँको दरले संकलन गरेर ५ दिनको लागि गाडी रिजर्भ गरेर गएका थियौँ । सबै उत्साहित थियौँ । गाडी मेै अत्यन्तै मिल्ने परममित्र बाबु प्रजापतिको बुबा कर्णसिंह प्रजापति दाइले मिलाउनु भएको थियो । जुन गाडी उनीहरूकै समिति भित्रकै थियो । गाडी परिचित चालक विष्णु दाह्रीवालले चलाइरहेको थियो । गाडी थानकोटको चेकपोष्ट काटेर नागढुंगा हुँदै ओह्रालो झरेर खानीखोलाबाट नौबिसे काटुन्जेल आरामले चलिरहेको थियो । सबैजना रमाउँदै थिए । त्यतिबेला म कार्पेटको डिजाइनर पनि थिएँ, त्यही सिलसिलामा मलाई ग्राफ लेख्न सिकाउने गुरु बुद्धि रानाभाट, सँगै काम गर्ने भाइ सनम सिं र अर्का भाइ शिवराज पनि थिए । हामी एक आपसमा कुराकानी गरेर गपिंmदै थियौँ ।
गाडी लगभग धादिङ्को धार्केतिर अगाडि बढिरहेको थियो । अचानक ‘पर्या..ङ्क’ आवाज सहित भित्तातिर घिस्रिन थाल्यो । चालक विष्णुले नियन्त्रण गदै बायाँ छेउ लगायो । एकछिन सबैजना अन्योलमा मुखामुख गरे । त्यस्तो भयावह स्थिति केही भएन । चालक, सहचालक, गाडी सँग सम्बन्धित व्यक्ति साथी बाबु पनि ओर्लेर हेरे । पछि थाहा भयो गाडीको तल्लो आधार (बेस पाटा) नै भाँच्चिएको रहेछ । गाडी अगाडि लाने नमिल्ने नै भएपछि । करीब ६०० मीटर जति पैदल गएर एउटा पसलबाट साथी बाबुले आफ्नो बुबालाई फोन गरेर यथास्थिति बतायो । जतिबेला अहिलेको जस्तो मोबाइलको चलन थिएन ।
गाडी नै नचल्ने भएपछि हामी सबै सडकमा उत्रेर दायाँबायाँ टहलेर महादेव खोला हेरेर बस्न थाल्यौँ । करीब डेढ घण्टा पश्चात् बाबुको बुबा कर्णंिसं साहुले अर्को गाडी लिएर आइपुगे । जुन गाडी पहिलेको जस्तो सुविधायुक्त थिएन । पुरानो पनि थियो । हुँदैन हुन्न भन्ने अवस्था थिएन । त्यसैमा थालियो मध्यपश्चिम नेपालको यात्रा । मुग्लिन, नारायणगढ, परासी, बुटवल र लुम्बिनी सबै भ्याएर तानसेन पाल्पा भएर पोखरामा बास बस्न पुगेका थियौँ । भोलिपल्ट जलबाराही, पृथ्वी नारायण क्याम्पस, महेन्द्र गुफा, सबै घुमेर मनकामनामा बास बस्ने उद्देश्य थियो त्यो सहजै पूरा पनि भयो ।
सायद त्यो बेलाको यात्रामा नियतिलाई पनि खै कुन कुरामा चित्त बुझेको थिएन कुन्नि, पश्चिमतिरको यात्रा सबै सकेर गोरखाको मनकामना दर्शन सकेर फर्कँदा फेरि अर्को घटनाको सामना गर्नुपर्यो । हामीले यात्रा गरेको गाडी आँबु खैरेनीबाट गोरखा जाने पुलको वारिपट्टि रोकिराखेको थियो । सबैजना दर्शन सकेर काठमाडौं फर्किने तयारीमा थियौँ । गाडी चालक अलि पर चिया पिउँदै थियो हामीले चिनेकै एक साथी गाडी चालक कृष्णे थियो, गाडी मूल सडकतिर फर्काउनु पर्यो भनेर साँचो मागेर स्टार्ट मात्र के हालेको थियो गाडी त सिधै गएर अगाडि रोकिराखेको बस सँग ठोकिएर अगाडिको सिसा झर्याम्म फुटेर । सबैजना किंकर्तव्यविमूढ बनेर हेरेको हेर्यै भए । धन्न अगाडिको गाडीमा ठूलै ओत लाएको रहेछ र गुड्न पाएन ।
यो घटना पश्चात् त्यहाँ दैवीय विपत्तिका धेरै अड्कलहरू काट्न थाले । कोही भन्दै थिए, ‘मन्दिरमा जानेले बिहानै बियर धोकेर गएकोले यस्तो भएको भनेर..’ कसैले चाहिँ ‘देउता थान आएर मन्दिरमै नढोगी फर्केर यस्तो भएको..’ भन्दै आ–आफ्नै ढंगले तर्क राखेका थिए । मनकामनाको लागि गाडी रिजर्भको प्रसङ्ग निकाले कि यो यात्राको तीक्तता अभैmसम्म मष्तिष्कमा घुम्न थाल्छ ।
अब वर्तमानतिर लागौँ, सानुबा र सानिमाको आमन्त्रणलाई स्वीकार गर्दै बिहान ३ः३० देखि उठेर मेरी पत्नी अष्ट आफ्नोधन्दा सकाउनतिर लागि सकेकी थिइन्, किनकि यो दिन मंगलवार परेको त्यसमाथि तिनको व्रत परेको दिन । तिनको व्रत यति कठोर छ कि सायद चार वेद पढ्ने ऋषिमुनिले विधि सम्झन गाह्रो पर्ला उनी त्यो विधि पूर्ण नगरी अन्यत्र हातै हाल्दिनन् । हरेक दिनको स्नान, ध्यान, तर्पण अनि अर्पण सहितको मन समर्पणमा व्यस्त । आफ्नो काम तमाम गरि सकेपछि म लगायत छोरा, बुहारी, छोरीलाई उठाउन थाली । मेरो चाहिँ राति पौने १ बजे मात्र सुत्ने नित्यकार्य भएकोले अलिक ढिलै उठ्ने बानी भएकोले मन नभए पनि उठेर मुखास्नान गरेर यात्राको लागि तैयारीमा लागेँ ।
छोराछोरीलाइ भन्दा भन्दै घडीले ५ः०० हान्नै लागेको थियो, त्यही बेला रिजर्भवाला गाडीको चालक शिवले कल गरेर चाडो आउन भनिरहेको थियो । त्यसपछि हामी अघिल्लो दिन तोकिएको स्थानमा पुग्यौँ । मैले सोचेको थिएँ जम्मा १२ जना जति होला र माइक्रोबस होला भन्ठानेको तर गाडी त मझौला खालको बस रहेछ । अघिल्लो दिन सानुबासम्ग कुरा हुँदा तिमीहरू ६ जना रहेछौ यता पनि ३ परिवारमात्र भनेकोले सानो हाइस टाइपको सोचाइमा थिएँ । तर गाडी ठूलै देख्दा म लगायत मेरा परिवार एकअर्काको मुखामुख मात्र गर्यौँ र लाग्यौँ चाबहिल तिर ।
गाडी चाबहिल सरस्वतीनगरको महादेवको मन्दिर अगाडि रोकिंदा पो थाहा भयो । यात्रामा जानेहरू त त्यहाँ त टन्नै रहेछन् । मलाई त्यहाँ पुग्दा दुई कुराले आश्चर्य बनायो । एक त सोचेको भन्दा बढी सम्मिलित संख्या अर्को बहिनी किपा श्रेष्ठ (सानुबाकी साइँली छोरी) र तिनका पति ज्वाइँ रविस नेपाल आएर पनि आपूmलाई थाहै नपाएको कुराले । गाडी चढ्ने बेलामा सबैजना चढ्दा उनीहरू पनि सँगसँगै चढेर नमस्कार गर्दा पो चाल पाएँ ।
यात्रामा सहभागीहुनेहरूमा सानुबा शम्भु, मावल ससुरालीका मामा–माइज्यू श्याम दम्पत्ति, माइला मामा–माइज्यू दम्पत्ति र शिवराम मामा–माइज्यू दम्पत्ति र छोरी सुमी डंगोल, बहिनीहरू सञ्जु , अञ्जु र किपा साथमा क्रमशः साढु भाइहरू सबिन, राजन र रविस अनि सञ्जुका दुई छोरीहरू । त्यही समूहमा साहिँली सासूआमा इन्द्रावती र उनकी जेठानी र नातिनी समेत, कान्छी सानिमा वृन्दावती (मन्दिरा), रुकुमति डंगोल (साँढु भाइ कृष्ण डंगोलकी पत्नी), गीता बहिनी र हामी गरेर २९ जना र ड्राइभर शिव र सहचालकले ३१ जना भयौँ ।
बिहान ६ बजेर १० मिनटमा सरस्वती नगरको महादेव मन्दिर परिसरबाट कार्यक्रम संयोजक सानुबा शम्भु श्रेष्ठले सबै देवी देवताको नामोच्चारण गर्दै सबैले ‘जय’ स्वरशब्द गुञ्जनका साथ हाम्रो यात्रा प्रारम्भ भएको थियो । बां ४ ख ७१७७ नम्बरको मिनीबस चालक शिवले चलाएको थियो । पुरानो मोडेलको मिनीबस भए पनि आरामदायी नै थियो तथापि स्थानीय सडकमा व्यापारी प्रयोजनको हिसाबले सञ्चालनमा ल्याइएकोले सिटको संख्या बढी अटाउने गरी केही साँघुरो बनाइएकोले मोटा मान्छेहरूलाई केही असहज भएको त्यहाँ बस्नेहरूको गुनासोबाट प्रष्टिरहेको थियो । अनुभवी चालक भएको कारणले गाडी गुडाइमा असहज भने महशुस भएन ।
गाडी गोपीकृष्ण नगरको धोबी खोला किनार हुँदै चाबहिलबाट कालोपुल भएर नक्शाल, हात्तीसार, नारायणहिटी दर्बारमार्ग तिर सुइकिँद भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोट मार्ग अनुरुप सतुंगल, बलम्बु, गुर्जुधारा, त्रिभुवन पार्क भएर थानकोट नागढुंगा चेकपोष्टबाट खानीखोला तिर ओह्रालो लाग्न थाल्यो । चिसो चिसो मौसम भएकोले हाम्रो यात्रामा सहभागी सबैले अलिक बाक्लो खालको कपडा लगाएका थियौँ ।
धादिङ जिल्लाको प्रारम्भमै रहेको खानीखोला धुनिबेसीं नगरपालिकाको वडा नं. ८ मा रहेको मुक्तिनाथको मन्दिर परिसरमा स्थापित धर्मशाला नजिकै गाडी रोकिए । मैले सोचेँ यहाँ आशौच गर्नका लागि रोकिएको होला भनेर तर होइन रहेछ । खास त त्यो स्थलमा बिहानको नास्तापानी गर्नका लागि रोकिएको रहेछ । हिजोआज राजमार्गका छेउछाउमा रहेका होटलहरूको चिया, नास्ता र खाना त्यत्ति सन्तोषजनक नपाइने र अत्याधिक महँगी पनि हुनाले सामान्य यात्रुलाई निकै कष्टदायी पनि हुने गरेको छ । यिनै कुरालाई मध्यनजर राखेर यात्रा संयोजक हाम्रा सानुबा सानिमाले बाटैमा आपैंmले चिया पकाएर खानका लागि ग्यास सिलिण्डर, चूल्हो, भाँडा वर्तन र भोजनका लागि खानेकुरा सबै घरैबाट तैयार गरेर लाने गरिएकोे रहेछ । यो प्रकृया यसपटकमात्र होइन । उनले आयोजना गरेको हरेक तीर्थयात्रा होस् या ट्रेकिङमा होस् यो प्रक्रिया जारी नै राखेको छ ।
धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाकोको खानीखोला सडक छेवैमा रहेको यो मुक्तिनाथको मन्दिर परिसरमा बुढानीलकण्ठ नारयाणको सानो प्रतिमा पनि रहेको छ । नजिकै शिव मन्दिर र अलिक पर सडकको छेवैमा गणेशको मन्दिर रहेको छ । पहिलेको मन्दिर धेरै नै पुरानो भएकोले नयाँ मन्दिरको निर्माण भैरहेको रहेछ, जुन लगभग पूर्ण हुन लागेको स्पष्ट देखियो । त्यहीँ नजिकै रहेको धर्मशालाको दलानमा चिया पकाउने सुरसार भयो । एउटा डेक्चिमा अण्डा उसिनियो । कालो चिया पिउनेले कालै पिए, दूध चिया पिउनेले दूधको पिए र पाउरोटी अण्डा पनि खाए । यस कार्यमा प्राय सबैले हारगुहार गरे पनि विशेष सानुबा, माइला मामा, बहिनी अञ्जु र अष्टकुमारी (मेरी पत्नी) निकै खटिए ।
मेरी अर्धाङ्गिनी अष्टको मंगलवारको व्रत भएकोले पानी पिएकी थिइन । साइलीँ सासूआमा इन (इन्द्रावती)माले— “कालो चिया त पिउन हुन्छ,..नि.. खाली पेट नहिँड, वर्त वर्त (इनमाको व्रत शब्दलाई स्वबोलीमा) भनेर, एकदिन नराम्ररी थला पर्छ..” भन्दै छोरीलाई सम्झाउँदै थिइन् । तर सम्झिने त कहाँ हुन् र ? मेरो साइँली सासू आमाको नाम इन्द्रावती भए पनि हामीले आफ्नोपनको आत्मयताले ‘इन्मा’ भन्ने गरेका छौँ । ज–जसको माया र स्नेहले भोकै नरहोस् भन्ने भाव जताए पनि मेरी पत्नी अष्टको तन मन र एकाग्र चिन्तनको लागि सहमति जनाउन सिवाय अन्य विकल्प नै रहन्न । बुहारी सरिता पनि ‘ममीले कालो चिया पिउनु भए हुन्थ्यो..’ भन्दै आदरता व्यक्त गर्दै थिइन् । सबैले मेरी पत्नीको भोको पेटको व्रतप्रति आत्मीयता जनाउदै थिए तर तिनको ध्यान केवल मनकामना माताको दर्शन नगरिकन पानी पनि नपिउने अडिगमा थिइन् ।
हामी त्यहाँ चिया पिउने क्रममा मान्य स्थापित मुक्तिनाथ मन्दिर परिसरमा केही तस्बिर लियौँ । हुन त मुक्तिनाथ भन्ने बित्तिकै जोमसोमको सन्दर्भ अगाडि आउँछ । तर हिमालयको काखमा रहेको मुम्तिनाथ भन्दा फरक यो मन्दिर त्यहाँ स्थापना भएको धेरै वर्ष भैसकेको छ । मुस्ताङ जिल्लाको जोमसोममा रहेको मुक्तिनाथको मन्दिर विष्णु भगवानको प्रारुपमा मानिदै आएको शालिग्राम पत्थररुपी एक शीला हो । जुन काली गण्डकीमा पाइन्छ । यही पत्थरलाई बौद्ध दर्शनका ज्ञाता र जीव शास्त्रीहरूले प्राग ऐतिहासिक कालीन जीवाशेषको रूपमा आफ्नै तरिकाले व्याख्या गरिएको छ । यसबाट धर्मको हिसाबले कुनै पनि प्राकृतिक तत्वलाई आफ्नोपनको महत्व दिन विभिन्न तरिकाले व्याख्या गरेका छन् र आफ्नै खालको किंवदन्ती सुनाउँदै आएका छन् । सत्यता के मा छ र कसरी महत्वपूर्ण हुन गए त्यसको अध्ययन यो प्रविधिको युगले निकाल्न आवश्यक रहेको छ ।
जे होस धुनिवेशी खानीखोलामा अवस्थित मुक्तिनाथको मन्दिरले पनि सत्यमार्गको व्यापकता प्राप्त गरुन् भन्ने अपेक्षा राखद्यै हाम्रो यात्रा नौबिसे, धार्के, थाक्रे, महादेव बेंशी, सिम्ले, गल्छी, विशालटार हुँदै चितवनको कुरिनटारमा आइपुगियो । पारिपट्टि पहाडको टुप्पोकाथिबाट बाँसको हाँगामा चमेरो झुण्डिएसरी सेता डल्लाहरू तल आउने र माथि जाने गरेको देख्ने बित्तिकै गन्तव्यको तेस्रो चरण पूरा हुने भो भन्ने हाम्रो उत्साहित मन त्यतिबेला हिस्स भयो जतिबेला कुरिनटार केवलकार स्टेसनमा रोकिनुपर्ने हाम्रो भूमियान गाडी हुइँइयँ गर्दै टिकट काउण्टर भवनलाई टेढो आँखाले समेत नहेरी धादिङबेशींको सडक नाप्दै अगाडि बढ्न थाल्यो ।
यात्रा संयोजनकर्ताहरू हाम्रा सानुबा, मामा ससुरा, माइज्यू लगायत सबैलाई यात्राको रुटको सूत्र थाहा हुँदो हो कसैले केही बोलेनन् तर हाम्रो परिवारको ६ जना भने लघुशंकाको घेरामा सन्देह भित्रै रुमल्लिएका थियौँ कि यात्राको गन्तव्य मनकामना त हो तर कुन मार्गबाट टुंगिने हो भनेर ।
हामीलाई केही मात्रामा यात्राको तौरतरिका थाहा भएपनि मेरी ठूली छोरी नमिला भने झनै आश्चर्यमा परेर अक्क न बक्कमा परेर एक्लै फत्फताउँदै थिइन्,– “लौ बल्ल केबुलकार स्टेसन आइपुग्यो भनेको त गाडी त सुइँ..य अगाडि बढेको बढेकै छ त…” । भन्दै । पछि थाहा भयो गाडी मन्दिर परिसरमै लाने रहेछ भनेर ।
मनकामना मन्दिर यो भन्दा पहिले मैले ४ पटक पैदल नै गएको थिएँ । २०४४, २०४९ र २०६५ तिर । २०४९ सालमा ४८ घण्टामा दुईपटक ओहरदोहर गरेको बारेमा पनि रमाइलो स्मरण छ ।
काठमाडौं बत्तीसपुतली गौशाला सानिमाहरूसँग बस्दा गाडीको चिन्ता नै थिएन । सानुबा शम्भू, उहाँको व्यापारीक साथीहरू गुप्त र राजेश मघैयासँगको साझेदारीमा दुईवटा मिनीबस र एउटा ट्रक थियो । जुन रिजर्भ सेवामा सञ्चालन भएको थियो । यही क्रममा एकपटक भारतीय ‘लिरिल’ साबुन कम्पनीको विज्ञापनको छायांकन नेपालको त्रिशुली नदी बैरेनी क्षेत्रमा गरिने भएकोले सानुबाकै गाडी (मिनीबस) रिजर्भमा लाने भएकोले गुप्त दाइले मmाई पनि ‘ल, घुम्न जाने भए हिँड,’ भनेको र सानुबाले पनि ‘ल ल जाऊ घुमेर आउ’ भनेकोले जाने अवसर मिलेको थियो ।
सायद यस्तै मंसिरकै आसपासमा हुनुपर्छ । मौसम चिसो चिसो नै थियो । भारतीय विज्ञापनको समूह बत्तीसपुतलीको द्वारिका होटलमा बसेका थिए । उनीहरूका लागि विशेष सुविधा भएको २ वटा गाडीको व्यवस्था भएको रहेछ । हाम्रो गाडीमा भने प्राविधिक टोली, छायांकनको सामग्री पनि लानुपर्ने रहेछ । अनि यता नेपालको तर्पmबाट प्रविधिको रूपमा नेपाली चलचित्र जगतका हालको सुप्रसिद्ध द्वन्द्व निर्देशक ‘राजेन्द्र खड्गी’ जो त्यतिबेला सहायक द्वन्द्व निर्देशकको हिसाबले चलचित्रमा होमिएका थिए । र पनि लोकप्रिय भैसकेका थिए । उनलाई पनि सो छायांकनमा पानीमा विष्फोट गर्ने प्रविधि मिलाउन लग्न लागेको रहेछ । त्यसैले हामी चढेको गाडी राजेन्द्र खड्गीलाई लिनको लागि काठमाडौंको सुनधारा नजिकै गएर रोकिन पुग्यो ।
राजेन्द्र खड्गीको घर त्यतिबेला भोटेबहालमा थियो अहिलेको जस्तो आलिशान थिएन । हामी त्यहाँ पुग्दा उ निस्कने तरखरमा रहेछ साथमा उनका सहयोगीहरू सुरेश र वीरेन पन थिए । हामी त्यहाँ एकछिन पनि अलमल नगरिकन यात्राको बाटो नाप्न थाल्यौँ । त्यतिबेला काठमाडौंबाट बाहिर कतै जाँदा निश्चित गन्तव्यको मात्र ध्यान दिने बानीले गर्दा बाटोको दायाँबायाँ कुन ठाउँ कस्तो बस्ती भनेर हेर्ने गर्दिनथेँ म, केही गरी हिमालय श्रृङ्खला, पूmलहरू फुलेका छन् र तलाउ ताल देखियो भने मात्र नजर दौडाउँथेँ ।
खानीखोला नौबिसे पुगेर नास्ता गरिसकेर गाडी सिधै बैरेनीतिर लाग्यो । त्रिशुली नदिको पानी सङ्लो थियो । पानीके बहाव संगैको चिसो सिरेटोले शरीरमा काँडा चनाखो हुँदै बाहिर निस्कन हतारिंदै थिए । बेशींतिर गर्मी हुन्छ भनेर पातलो टिशर्ट लगाएर लगेको ज्याकेट गाडीमै छाडेर गएको परिणाम त्यहाँ भोग्नु परेको थियो ।
भारतीय कम्पनी लिरिल साबुन उद्योगका निर्देशक, विज्ञापन निर्माता कम्पनीका प्रबन्धक (नाम याद भएन)ले बैरेनी क्षेत्र भएर बहेको त्रिशुली नदिमा शुटिङ गर्न उपयुक्त स्थानको छनोट भएपछि विज्ञापनमा अभिनय गर्न आएकी मोडल (नायिका) अन्दाजी १९–२० वर्षकी युवतीलाई लिएर आए तिनका सहयोगीहरूले । तिनी महाराष्ट्र मुम्बइ (बम्बै) रहिछे । गोरी वर्णकी ती मोडेल साबुनको प्रचारप्रसारका लागि बनाउन लागिएको विज्ञापनको छायांकन हुने भएकोले स्नान वस्त्रमा देखिएकी थिइन्, मतलब मात्र ब्रा र स्वीमिङ कस्टममा । कपाल पुरै खोलेकी थिइन् ।
एउटा सानो एकल डुंगा (सिङ्गल बोट)मा चढेर ‘लिरिल साबुन’ हातमा समातेर पसन्न मुद्रामा हाँस्दै नदिको छालको फिँज र साबुनको फिँजलाई समान देखाउने पृष्ठभूमिमा छायांकन गर्नु पर्ने रहेछ । तर त्यो नदिको बहावसँगै बहनुपर्ने दुश्य लिन कठिनाई र भयावह थियो । त्यसैले पनि सुरक्षा सतर्कताका लागि अन्य तीन चार वटा ठूला बोटहरू नदिमै घुमाउँदै तैयारी अवस्थामा राखिएका थिए । नायिकाले शयर गर्ने सानो बोटलाई पनि नाइलनको डोरीले चारैतिरबाट बाँधेर नपल्टिने गरी तान्न तैयार गरेका थिए ।
सबै प्रक्रिया पूरा गरिसकेपछि निर्देशकले ती किशोरीलाई बोटमा चढ्ने आदेश दिएर सिठ्ठी फुक्न तैयार भए । मोडल हातमा साबुन बोकेर उठ्ने बित्तिकै सिठ्ठी बज्यो । बोटमा उभिएकी नायिका ‘हे….’ मात्र भनेर दुई हात माथि के उचालेका थिए बोट त पानीको वेगले गुल्ट्याउँदै केटी त कता पुर्यायो कता…। सबैजना अत्तालिएर ‘हे हे लग्यो लग्यो’ भन्दै कराउन थाले । तर ती मोडेल युवती पौडिनमा माहिर रहेछिन् करीब २५ हात तल पुगेर पानीको वेगलाई पन्छाउँदै किनारा तिर लाग्न खोजिरहेकी थिइन् त्यही बेला तैयारी अवस्थामा रहेको बोटका केटाहरूले समाएर बाहिर निकाले । निर्देशकले तिनालाई पूरा भरोसा राखेर आँट निकाल तिमीलाई केही हुँदेन भनेर आश्वासन सहित फकाएर दोस्रो पटक ‘टेक’ लिन थाले ।
बाँकी अर्को पटक …..