Search

कृष्णप्रसाद मास्के एक ‘कर्मयोगी र साधक’

कृष्णप्रसाद मास्के एक ‘कर्मयोगी र साधक’

दोलखालाई एक पटक होइन हजार पटक फर्केर हेर्दा पनि धीत मर्दैन, भलै युवाहरू पखेटा उम्रनासाथ वैदेशिक यात्रा गरुन्, युवतीहरू वैवाहिक जीवनका लागि दोलखासँगको आत्मीय सम्बन्धलाई मुटुमा गाँठो पारेर आँगन पार गरेर नौ डाँडा पारि पुगुन् या कर्मशील जीवनयात्राका लागि मरेङ खोला (खिङौ झोर) काटेर सिमा नै काटुन् । आफ्नो घरको मझेरी र माइतीको आँगनमा खेलेको हुर्केको र शिक्षा र ज्ञान आर्जेको कसैले बिर्सेको हुँदैन । कुनै न कुनै माध्यमले दोलखालाई सम्झेकै हुन्छ भन्नुमा हामी कसैमा दुई मत नहोला ।

उमेरले सातौं दशक पार गरिरहेको बेलामा जमेको स्याही पुनरावृत्ति भएर जुर्मुराएको कलमबाट निस्केको छ ‘कर्मयोग र साधना’ आदरणीय दिग्गज व्यक्तित्व समाजका प्रतिमूर्ति कृष्णप्रसाद मास्केबाट ।यो कृति गत २०८० साल जेठ १२ गते भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर प्रमुख अतिथि रहेको सो अवसरमा सोही नगरपालिकाका वडा अध्यक्ष स्टालिन श्रेष्ठ र पूर्व महान्यायाधिवक्ता एवं बरिष्ठ अधिवक्ता मुक्ति नारायण प्रधानको समुपस्थितिमा संयुक्त रूपमा लोकार्पण भएको हो । त्यो पावन अवसरमा आफु उभिन नपाउँदाको दृश्य खट्किरह्यो । तथापि उनको त्यो पुस्तक भित्रको परिदृश्यमा अलमलिंदै जाँदा कतै कतै स्वयंलाई पुग्नुपर्ने पाटोमा उनले पाइलो टेक्न बाटो बिराएका हुन् या बुढ्यौली उमेरले गर्दा स्मरणमा कमजोर हुन गएको भन्ने दुविधा उत्पन्न भएको महशुस भैरहेको छ ।

यहाँनेर उनका पूर्खाहरूको हिसाबले हेर्दा अहिले सम्म लगभग नवौं पुस्ताले भावी पुस्ताका मार्ग चित्रण गर्दै गएको देखिन्छ । र पनि पुख्र्यौली बिबु सिंहको इतिहासदेखि आफ्ना सन्तानको लहरहरू पत्ता लगाउँदै जाँदा बिबुसिंहका कान्छा छोरा चांगु नारायण सिंहबाट तीन छोरा भएर जेठा छोरा दिकपाल सिंहबाट मणिपाल सिंह मणिपाल सिंहबाट रामलाल सिंह (मास्के) र यही रामलाल देखि लगनबहाद्र मास्के बनेर मास्के थरलाई पछिको वंशज पुस्ताहरू इतिहास देखाइएको छ । यहाँ अलिकति सिंहबाट मास्के कसरी रहन गयो भन्ने कौतुहलता जाग्न पुगेको छ । दिक्पाल सिंह भन्दा अन्य माइला र कान्छाको सामान्य परिचय बाहेक अन्य परिवारको लेखाजोखा किन राखिएन भन्ने कौतुहलतालाई लेखक महोदयले ध्यान दिने नै छ आशा जीवितै रहेको छ ।

आफ्ना पुर्खाहरूको कुलघर खोज्दै संखुवासभा जिल्ला चैनपुरदेखि प्राचिन शहर दोलखा आएका मास्केहरूको उपस्थितिमा यो पुस्तक लोकार्पण हुनु अर्को सुखद संयोग थियो । प्रमुख अतिथि मानन्धरले यो पुस्तकबाट अत्यन्त दुरूह परिस्थितिमा पनि हरेस नखाई जिउन उत्सर्ग हुपर्ने प्रेरणा आफुलाई मिलेको अनुभूति व्यक्त गर्नुभयो ।

प्रकाशकीयमा घोस्ट राइटिङ्ग नेपालका अध्यक्ष कमल ढकालले दुइटा कुरा व्यक्त गरेका छन् जुन शाश्वत छ । पहिलो हो, हरेक मान्छे नलेखिएको इतिहास हो । मान्छेको मरणपछि पनि स्मरण हुनु जरुरी छ । पुस्ताको इतिहासले पुर्खा बदल्छ ।

विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा दोलखालाई जन्मभूमिको नाताले सम्झने लाखौं होलान्, माटोको हिसाबले झझल्कोमा डुब्ने असंख्य होलान्, संस्कृतिको हिसाबले गुणगान गर्नेहरूक कमि नहोला । यस्तै यहाँको प्रकृति, प्रवृत्ति, रीतिरिवाज, जात्रा परम्परा, शिक्षा, दीक्षा र हावापानीको हिसाबले आँगन बाहिर रहेर पनि मातृभूमिलाई नसम्झिने त को पो होलान् र ? तथापि यो स्वर्ग जस्तो (?) धरातललाई पौरखी बनाउन, उद्यमशील देखाउन, प्रगतिशील भएको देख्न चाहनेहरू भने अत्यन्तै न्यून रहेको छ भन्नुमा अस्वभाविक नहोला ।

नेपाल अधिराज्यमै नरहेको तर हरेक मानव प्राणी लगायत जीव जीवात्मा अनि भौगोलिक धरातललाई असर सहितको संकट आउनुभन्दा पहिले नै भविष्यमा आइपर्ने खतरा देखि भयभित बनेर पसिना बगाउने साक्षात भीमेश्वर भगवान यही ठाउँमा रहेको छ । मानव सँगसँगै हेलमेल गरेर बस्न चाहने साक्षात जीवित बालकुमारी देवी पनि यही स्थलमा रहेको छ ।

संसारमै नबजेका नौ वटा धुन (खड्गी र कपाली समुदायले बजाइने बाजा विशेष), नौ वटा ताल, नौ वटा राग र नौ वटै चाल सहितका परम्परागत धार्मिक नृत्य (खट्ये प्याखन् र बुढा भजन विशेष) यही पुण्य स्थलमा रहेको छ । यहाँ ती कुराहरूको वर्णन गरेर साध्य नहोला । मूल रुपमा मनाइने पर्वहरू (सामुदायिक गुठी बाहेक) पनि नौ वटै रहेका छन् । दोलखा नगर परिसरमा प्रचलित रूपमा नौ वटै ढुङ्गेधारा (स्थान विशेष) पनि रहेका छन् जुनमध्ये कुनै कुनै धारा लोप भएर गए ।

दोलखाको वरिपरि सोधखोज गदै हेर्दा यहाँ झोर (खोल्सा) पनि नौवटा नै पाइन्छ । यसरी हरेक कार्य, स्थान र धार्मिकस्थलका रूपमा यहाँ नौ संख्या निकै प्रसिद्ध रहेको पाइन्छ । नगर परिक्रमा गर्दा असंख्य देवी देवताहरूको मूर्ति र मन्दिरको परिसरमा स्पर्श गरिए पनि प्रचलित रूपमा नौ वटा नै देखिन्छ ।

यस्तो विचित्र विशेषता रहेको धार्मिक स्थलमा विचित्रकै समाजसेवीहरूले भरिएको प्राचीन शहर हालको भीमेश्वर नगर हो दोलखा ।

विगतका इतिहासमा स्थानीय स्तरमा सदासर्वदा दोलखाको स्तरीय उन्नतिका लागि परम्परागत संस्कृति, धार्मिक नृत्यका लागि अग्रपंक्तिमा रहेकाहरू मध्येमा स्वर्गीय मानकृष्ण सिं खर्दार, इलाबहादुर श्रेष्ठ, कृष्णमुरारी मास्के थिए, भजन निरन्तर सञ्चालनमा भवानीशंकर श्रेष्ठ,, गौरीमान श्रेष्ठ, जनकलाल श्रेष्ठ, विष्णुबहादुर जोशी, रत्नबहादुर श्रेष्ठ, तीर्थबहादुर श्रेष्ठ, चक्रबहादुर श्रेष्ठ, चूडाकृष्ण जोशी, वीरबहादुर कसजु आदि रहेका थिए । जो अहिले यस दुनियाँमा छैनन् ।

आफ्नो ठाउँमा सिंचाइ, उद्योगका लागि अग्रपंक्तिमा रहेका प्रधानपञ्च खड्ग बहादुर श्रेष्ठ र भरतबहादुर श्रेष्ठ । शिक्षाको गुणस्तरका लागि इन्द्रमणि राजभण्डारी, भैरव बहादुर श्रेष्ठ, टेकबहादुर श्रेष्ठ । त्यसपछिका प्रधानपञ्चहरू र अन्य स्थानीय व्यक्तित्वहरूको पनि आ–आफ्नो क्षेत्रमा सकारात्मक भूमिकामै रहेको छ ।

जब आफ्नो जीवन चरित्रलाई उज्जवल बनाउनका लागि काठमाडौं आउने जानेको लहर चल्न थाल्यो त्यसपछि अधिकांश उच्च शिक्षा प्राप्त पश्चात् उच्च ओहदाको (जागिर)लागि दोलखा भन्दा बाहिर नै रहनुपर्ने बाध्यताले धेरैजसो काठमाडौं मै रहन थाले र दोलखा जाने अवसर कमै मात्रमा मिल्ने थाल्यो ।

त्यसपछि भने काठमाडौं मै रहेर पनि दोलखाको लागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले दिवंगत माधवमणि राजभण्डारी, बैकुष्ठ नारायण प्रधान, दिवंगत जगन्नाथ राजभण्डारी, मुक्तिमान राजभण्डारी (हाल बुढानीलकण्ठ), केदारमान सिं (बबरमहल, थापाथलि), दिवंगत द्वारिकामान सिं (प्रधान), गोविन्द मान सिं, कृष्ण प्रसाद मास्के (पुल्चोक), लक्ष्मण श्रेष्ठ (बबरमहल), मदनदास श्रेष्ठ (घट्टेकुलो), भल्ला मास्के (कलंकी), अमर प्रधान (झम्सिखेल ल.पु.)को प्रबुद्ध व्यक्तिहरुले दोलखाको लागि र दोलखामा जन्मेर हुर्केर १० कक्षा उत्तीर्ण गरेर काठमाडौं उपत्यकामा प्रवेश गरेर कर्म मार्गमा रहेकाहरूलाई केही साथ सहयोग मिल्नेछ भनेर सशक्त संगठन बनाएका थिए ।

यसै समूहमा रहेका जल्दाबल्दा दोलखाको रीतिथिति, संस्कुति, सम्पदा र भूगोललाई समेत समेटेर माया गर्ने एक व्यक्तित्व हुनु हुन्छ भीमेश्वर नगरपालिका वडा नं २ दोलखा शहरको पालचुटी स्थायी घर भएर हाल ललितपुर महानगरपालिकाको पुल्चोकमा रहनु भएका कृष्णप्रसाद मास्के ।

कर्म नगरी उद्यमी उन्नतिशील बन्न असम्भव छ । जसका लागि अथक परिश्रम, साहस र धैर्यपना अपरिहार्य छ । ती सबै गुणले भरिपूर्ण भएको व्यक्तित्वले आफ्ना जीवनका रिक्तता र तीक्तताको भोगाइ पछि पनि धैर्यलाई समेटेर सफल जीवन व्यतीत गरिएका सँगालालाई समेटर आम पाठकको हात हातमा ‘कर्मयोग र साधना’ नामक पुस्तकमा आफ्ना जीवन स्मरणका पर्यायलाई उतारेर आम पाठकको हातमा थम्याएका छन् ।

निकै ओजपूर्ण शब्दको शीर्षक अंकित पुस्तक हातमा परे लगत्तै दोलखामा साहित्य सर्जकहरू अझै थपिंदै गएको आभास भयो । सो पुस्तकमा सर्सर्ती नजर दौडाउँदै जाँदा ‘पेट भरिएको तर मन नअघाएको’ महशुस भैरहेको छ ।

दोस्रो हो ‘योगी र कर्मयोगीमा फरक हुन्छ । सच्चायोगीले बगिरहेको नदी हिँडेर पार गर्दछ । कर्मयोगीले डुङ्गामा राखेर मान्छेलाई नदी पारलगाउँछ ।’ ईश्वरको उपासना गरे भैं कर्म गरेपछि त्यो साधनामा परिणत हुन्छ ।

यस्ता खालका पुराना रुढीवादीरूपी व्यवहार र अनावश्यक लाञ्छना त मास्केको बाल्यकालमा पक्कै पनि लाग्यो वा लागेन, यो त लेखक महोदयलाई ज्ञात होला । किनकि ऊ चार महिनाको हुँदा आमालाई गुमाउनु परेको थियो । चार महिनाको बालक जो अबोध थियो त्यस्तो बेलामा दुई दिदीहरूले बाख्राको दूध ख्वाएर हुर्काएका थिए भन्ने वाक्यांशले दैवीय अन्यायको बोध हुन्छ ।

बाल्यकालमा बाबुको जागिरेको कारण र सानैमा आमाको देहान्त पछिका वेदनायुक्त परिदृश्यले मुटुमा चस्का पसे सरी नै हुन्छ । कलियुगमा लोभ र मोहले सताएको कुरा उनका पिताले गरेको बहुविवाहको परिणतिबाट व्याख्या भएको जस्तो लाग्छ । अर्काको खटनमा रहेर खानुपर्ने जागिरको कारणले तराई र पहाड भौंतारिनुपर्ने वाध्यता उहिलेदेखि चलि आएको रहेछ भन्ने ज्ञात हुन्छ ।

सिन्धुपाल्चोकको घोर्सुको बारेमा जुन वर्णन गरिएको छ । साँच्चै नै यो स्तम्भको चर्चा गर्दै जाँदा एकपल्ट बलेफीबाट उकालो चढ्दै चौतारा शिक्षा कार्यालय जाँदा त्यही रातमाटेको चौतारो पिपलबोटमा बसेर खाजा खाएको याद दूरुस्त भयो । साँच्चै नै त्यो रातमाटे पाखो बाटोको वरिपरि साल र सल्लाका बोटहरूले मन नै तरंगित बनाउँदथ्यो । सायद त्यो बेलामा हाम्रा दोलखाली पनि यहाँ रहेछन् भन्ने जानेको भए अप्रत्यक्ष पहिचान पनि खुल्ने थियो कि भन्ने जीजीविषारूपी मन कल्पनामा तरंगिन थाल्यो ।
यो ‘कर्मयोग र साधना’ आत्मवृतान्तमा पाँच खण्ड छ ।

‘जन्मभूमिको सम्झना’ शीर्षक अनुच्छेदबाट शुरु भएको पुस्तकमा ‘हाम्रा पुर्खा को थिए ?, पिताको जीवन संघर्ष, मेरी आमाको सम्झना, बाल्यकाल र जीवन यात्रा, हेलिक्याप्टर चाटर्ड गरेर दोलखा, सत्यसाइृबाबाको दर्शा र तीर्थयात्रा, जाम्बवति बिरामी हुँदा, उद्योगतर्फ मेरो लगाव, नेपाली औद्योगिक विकासमा नेपाली गलैंचा उद्योग.. सामाजिक क्षेत्रमा संलग्नता आदि मूल शीर्षक भित्र अनेकन उपशीर्षकलाई समाहित गरेर धार्मिक कार्य अन्तर्गत दोलखाको भीमेश्वर मन्दिर, भागवत सदन, त्रिपुरासुन्दरी पुनर्निमाण जीर्णोद्वार गरेको कुरालाई घाम जत्तिकै छर्लङ्ग पारेका छन् ।

लेखकको संघर्षमय जीवनी, समयक्रममा ‘एरेन्जेड’ तर आफ्नो नाम अनुसारकी जोडी जाम्बवती श्रेष्ठसँग बिहे पूर्व नै प्रेमिल सम्बन्ध भएको कुरा बिना संकोच खुलाएका छन् । बसोबासको क्रममा काठमाडौंको महाबौद्ध र टेबहालको डेराको उल्लेखन त यथायुक्त भए नै मातृभूमि दोलखाको पाल्चुटी टोल जुन दोलखाली मास्केको कुल घर हो जहाँको सगर्व उल्लेख गरिएको छ ।

त्यही घरमा ‘कुलदेवी’को पदचाप सुनिनु, गोकुल धुपको बास्नाको आभास पाउनुको अनुभूतिको महत्वपूर्ण पक्ष हो जसलाई सबै दोलखा कुलघर मान्ने मास्केहरू समयक्रममा श्रेष्ठ लेखे पनि दोलखा जानै पर्छ कुलघरमा भित्रिनु पर्छ भनेर सोच राखेको कुरा चैनपुर निवासी ८४ वर्षीय केदार (श्रेष्ठ) मास्केले पुस्तक लोकार्पण अवसरमा दोलखा आउन सकेको कुरा सहर्ष बताउनु भएको थियो ।

स्मरणीय छ दोलखाकै मास्के खलकका एक सदस्य अधिवक्ता श्यामकृष्ण मास्केले केही वर्ष यता पाल्चुटी मास्के खलक (परिवार)को बंशावली तैयार गरी अन्तिम रूप दिने कोशिस गरिरहेका छन् । यही उपक्रममा उनी, भल्ला मास्के, विष्णुभक्त मास्के र रामभक्त मास्के २०७९ माघको पुच्छार र फागुनको आरम्भमा चैनपुर पुगेर दोलखा (कुलघर)मा भित्र््याउने व्यवस्थापन भएको थियो । फलतः मुख्य गरी चैनपुर अनि साथ दिनेमा चाहिँ धादिङ, बुटवल, भैरहवा, चितवन, हेटौडा, चेतनगर, चन्द्रनिगाहापुर, फत्तेपुरमा बसोबास गरेका मास्के खलकहरू कुमार षष्ठी (सिठी नखत)को मूल चाडको दिन पारी दोलखामा आई कृष्णप्रसादले नै चढाएको कुलदेवी भगवती प्राण प्रतिष्ठा गरी ‘कुल घर’को पुनस्र्थापनामा फड्को मारेको छ ।

बास बस्न र कर्म गर्न जहाँ भए पनि मास्केको व्यक्तित्वको मुख्य पाटोलाई नियाल्दा चीन सरकारले तिब्बतमा आक्रमण गरेपछि तिब्बती जनताका धर्मगुरु १४औं दलाइ लामा तिब्बत छोडेर सन् १९५९मा भारतको धर्मशालामा निर्वासित हुनपुगे । अनि तिब्बती जनताहरू नेपालमा शरण लिन आए । यी शरणार्थीहरूका लागि बास, गाँस र कपासको जोहो गर्न स्वीजरल्याण्ड सरकारले नेपाल सरकारलाई सहयोग गर्यो ।

ललितपुर, जावलाखेल, कास्की स्याङ्जा, सोलुखुम्बुको सोलु चाल्सा र बागलुङ्गमा तिब्बती शरणार्थीहरूलाई विस्थापित गरियो । यही क्रममा कृष्णप्रसाद मास्के सोलु गएको, स्याङ्जा पुगेको र जावलाखेल ह्याण्डिक्राफ्ट सेन्टरको स्थापना भएपछि लियाजो अफिसरको समूहमा अविच्छिन्न कार्यरत रहेको, तिनै शरणार्थीहरूको आर्थिक स्तरोन्नतिको लागि पाँच दशक अगाडि सहकारी संस्था स्थापना गरेको रहेछ । जबकि त्यो बेला सरकारले पनि सहकारीको अवधारणाबारे केही परिभाषा दिलाएको थिएन । यि नै सन्दर्भमा सन् १९८९मा शान्तिका लागि नोबेल पुरस्कार बिजेता महामहिम १४औं दलाइ लामाले २ पटक दर्शन भेट दिई मास्केको कामको सराहना गरेको प्रसङ्ग छ ।

आफ्नै पनि गलैँचा उद्योग स्थापना गरी निर्यात गरेको, व्यापार प्रबद्र्वनकै क्रममा विभिन्न देशमा भ्रमण गरेको सन्दर्भ चाहिँ संक्षिप्त रूपमा उल्लेख गरिएको छ ।

सत्य साईबाबाको आश्रम पुट्टवर्तीमा पत्नी जाम्बवती, बुहारी शशी लगायत अरू साईराम (साईभक्त) दर्शन गरेको आध्यात्मिक लगाव यथायोग्य चर्चा छ भने नातिनी आश्मासँगको वियोग र पत्नी जाम्बवतीको पनि उपचारकै क्रममा निधनको वार्षिक स्मृतिग्रन्थ तैयार गरी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लोकार्पण भएको चर्चा छँदैछ ।

यस पुस्तकको दोस्रो महत्वपूर्ण पाटो हो लेखकको समाज सेवाको व्यक्तित्व उजागर गर्नु । आज काठमाडौंबाट १३५ कि.मि. दूरीको यातायातको सुविधा भएको दोलखा पहिले दूर्गम थियो । त्यहाँका विद्यालय, वालमन्दिर, रेडक्रस, पुस्तकालय, भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी भगवतीको प्राचीन मन्दिर यी सबको लागि लेखक स्वयं कसरी कुन भूमिकामा अघि सरे र अरूलाई पनि सराए यसको साङ्गोपाङ्गो यस ग्रन्थमा सिलसिलाबद्ध कोरिएको पाइन्छ ।

भीमेश्वर मन्दिर जीर्णोद्वार समितिको गठन गरे पश्चात् उनले त्यो परिकल्पना यस्तो निर्माण गरेको थियो कि भीमेश्वर मन्दिरको पूर्व पट्टिको पर्खालमा पूरै वैज्ञानिकीकरण रड र छड राखेर दीर्घभविष्यसम्म मजबूत बनाउन लगाएका छन् । यसमा हरेक कार्यमा कृष्णप्रसाद मास्के एक्लैेले गरेका हुन् भन्न खोजिएको भने होइन । उनको स्वभनाइलाई उदृत गर्नुपर्दा उनको लगाव मात्र हो साथ दिने धेरै संघसंस्था र दानवीरहरूको हात पनि रहेको छ ।

कालिन्चोक युवा क्लव, द्वाल्खा गुठी, लायन्स् क्लव अफ दोलखा, जिल्ला रेडक्रस शाखा दोलखा, भीमेश्वर भागवत सदन मात्र होइन अपितु ललितपुरस्थित विश्व भागवत भजनाश्रम ललितपुर, बुद्ध गुम्बा जावलाखेल ललितपुर, संगीत प्रतिष्ठान नेपाल, कार्य विनायक सेवा समिति ललितपुर, अक्षेश्वर महाविहार पुल्चोक, नेपाल अर्बुद सेवा समिति ललितपुर, रेयुकाइ नेपाल, सत्य साइ केन्द्र पाटन, स्नो लायन फाउण्डेशन आदि संघसंस्थामा आबद्ध भई परोपकार र सामाजिक सेवामा यथार्थतः कर्मयोगी नै हुन पुगेका छन् लेखक ।

सामाजिक सेवामा दत्तचित्त रहेका प्रमाण र उदाहरण त उनले प्राप्त गरेका दैवी प्रकोप उद्धार सेवा पदक २०५२, प्रबल गोरखा दक्षिण बाहु २०५७, विभिन्न संघसंस्थाबाट पनि सम्मान र पुरस्कार पाएका मास्कले ८४ वर्षको उमेरमा ‘चौरासी पूजा र सहस्र चन्द्र’ गर्न अवसर पाएकोमा भाग्यमानी ठानेका छन् । पुस्तकको आवरणमा ऊनी गलैंचा र भीमेश्वर मन्दिरले लेखकको समग्र जीवनको सक्रियताका दुई पाटा बताएको छ ।

यस पुस्तकमा २६ रंगीन फोटोहरू २५२ पृष्ठ वर्णनमा ४ महिनामा गुमाएको आमाको दुर्लभ तस्बीर ८४ वर्षमा भेटेको रोमाञ्चक प्रस्तुतिले पाठकलाई पनि अभिभूत पार्दछ । पुछारमा मास्केजीका स्वजन र परिवारले लेखेका प्रसङ्गमा उल्लेखित कुरालाई किन हो थप प्रष्टाइएको पाइँदैन जस्तो कि बाँसबारी छाला जुत्ताको व्यवसाय, गलैंचा व्यवसाय मिलेर गर्दाको बेलामा साथीभाइको धोखाधढी (सुन्नमा आए अनुसार) पनि प्रत्यक्ष वा परोक्ष उल्लेख गरिएको छैन ।

नेपालमा ऊनी गलैंचाको शुरुवात गरी यो व्यापारलाई चहकाउन लागिपरेका कर्मशीलले त्यही बेला निकासीमा पाउने सरकारी बोनसपत्रको लोभमा ‘स्तरहीन भारतीय गलैंचा पनि नेपाल ल्याई अधिक बीजकीकरण गरी निकासी गरी बोनसपत्र हासिल गरेको ‘कार्पेट काण्ड’ जसमा तत्कालीन ठूला बडाकै पनि हात भएको अनुमान गरी अख्तियार दुरुपयोग निवारण आयोगबाट मुद्दा चलाइएको थियो, उच्च पदस्थ मन्त्री लगायत कर्मचारी उपर पनि आयोगले छानबीन गरेको थियो ।

पछि बोनसपत्र प्रथा नै खारेज गरियो । यी र यस्ता प्रसङ्ग यस पुस्तकमा छुटेका छन् । साथै एकताका बाँसबारी छालाजुत्ताको कारखानाबाट उत्पादित जुत्ताहरूले विश्व बजार पाइरहेको बेलामा काठमाडौंको रत्नपार्कमा पंक्तिबद्ध जुत्ता पसल रहँदाको त्यो माहोलले ल्याएको परिवर्तनले मानवीय जीवनमा परेको प्रभावलाई प्रस्तुतिमा देख्न पाईएन ।

संयोजन : बालकृष्ण श्रेष्ठ “पासा”

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!