१२ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) जाने भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)मा सहभागी हुन यूएई जान लागेका हुन् ।
प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि सहभागी हुनेछन् । बिहीबारबाट दुबईमा सुरु हुने कोप २८ सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले १६ मंसिरमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोप मंसिर १५ र १६ मा ‘वल्र्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम छ ।
उनी यूएई सरकारले आयोजना गर्ने ५२औँ एकता दिवसमा आयोजित समारोहमा पनि सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले सम्मेलनकै दौरान उच्चस्तरीय साइड इभेन्ट पनि आयोजना गर्दै छन् । जसको नाम ‘हिमालको आवाज ः हामीलाई जलवायु संकटबाट कसले बचाउँछ ?’ राखिएको छ ।
हिमालको एजेन्डालाई कोप सम्मेलनका बेला छलफलको प्रक्रियामा ध्यानाकर्षण गराउन नेपालले यो कार्यक्रम आयोजना गर्न लागेको नेपाली राजदूतावासले जनाएको छ । दुबईमा रहँदा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने कार्यक्रम छ ।