Search

आज हरिबोधनी एकादशी ब्रत–तुलसी विवाह

आज हरिबोधनी एकादशी ब्रत–तुलसी विवाह

चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशी हो ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । वैदिक सनातन धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन।

विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने मान्यता अनुसार चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार मुहूर्त निस्कँदैन । चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि मुहूर्त निकालिन्छ । कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चक भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण –चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ ।

चार महिना अघि अर्थात् आषाढशुक्ल एकादशीको दिन (चतुर्मासको आरम्भमा ) आआफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मास भरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।

हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा वैदिक सनातन धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा मेला लाग्दछ । बुढानिलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ ।

हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिंडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् ।

वर्षमा पर्ने २४ वटा एकादशी मध्ये चतुर्मास ब्रत प्रारम्भ हुने हरिशयनी एकादशी र ब्रत समाप्त हुने हरिबोधनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिन्छ। हरिशयनी एकादशी (असार शुक्ल एकादशी) का दिन आ–आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ भने गाउँ घरमा श्रद्धालु भक्तहरू पुरोहित द्वारा द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी ब्रतको उद्यापन गर्ने गर्छन्। वैदिक सनातनिहरु तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्छन्।

हरिशयनी एकादशी (निर्जला एकादशीका) देखि क्षीर सागरमा शयन गरेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन ब्युँझनु हुने भन्ने धार्मिक मान्यताअनुसार यस एकादशीलाई हरिबोधनी एकादशी र यो चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मास अवधिमा शुभारम्भ गरिएका सम्पूर्ण यज्ञ, अनुष्ठान त्यसैदिन समापन गरिन्छ ।

तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि विशिष्ट स्थान ओगटेको छ । चिकित्सकहरूका अनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडा–वान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस मृत्यु शय्यामा हुँदा प्राण त्याग्नु अघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाइन्छ भनी शास्त्रमा वर्णन गरिएको छ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ ।

तुलसी विवाह :
कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूली एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजाअर्चनासहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशीदेखि सुतेर भगवान विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ ।

भगवान विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको विश्वास गरिन्छ । यही दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको मानिन्छ । अनि शालिग्राम वा पिपलसँग तुलसीको विवाह भगवान विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह मानिन्छ ।

यस दिन विहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र भगवान विष्णुको पूजनसहित तुलसी विवाह गरेर व्रत बस्ने परम्परा छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगन गरेर सजाइने गरिन्छ । अनि चारैतिरबाट ऊखु, साल, बाँस या नियालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ ।

दियो, कलश, गणेशसहित सबै देवी–देवताहरुको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पण गरि प्रसाद स्वरुप न्वागी खाने प्रचलन पनि रहेको छ ।

पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नमः भन्दै पाद्य जल, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दिप, नैवेद्य, ऋतुफल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन रहेको छ ।

त्यसपछि पहेँलो फूल हातमा लिएर प्रार्थना गर्दै पुष्पाञ्जली पनि गर्नु पर्छ । एउटा नरिवल, दक्षिणासहित भगवान शालिग्राम हातमा लिएर तुलसीको सात पटक परिक्रमा गर्नु पर्दछ । तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ ।

ठुलो एकादशीको अवसरमा ब्रत बस्नु हुने सम्पूर्ण नेपाली महिला दिदीबहीनहरुमा मनोईच्छा प्राप्तको कामना गर्दछौं । साथै आज जन्मदिन हुने सम्पूर्ण दिदीबहीनी र दाजुभाई तथा शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाँपीझ्याला मिडिया परिवार

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!