Search

राष्ट्रपति पौडेलबाट ४६ औं इफाप्का सम्मेलनको उद्घाटन, स्वदेश तथा विदेशका ४ सय ५० भन्दा बढी प्रतिनिधीको सहभागी

राष्ट्रपति पौडेलबाट ४६ औं इफाप्का सम्मेलनको उद्घाटन, स्वदेश तथा विदेशका ४ सय ५० भन्दा बढी प्रतिनिधीको सहभागी

६ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पोडेलको प्रमुख आतिथ्यमा एसियाली तथा पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संगठन ‘इफाप्का’ (इन्टरनेसनल फेडेरेसन अफ एसियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर्स)को ४६ औँे अन्तराष्ट्रिय सम्मेलन आज २०८० (२०२३ नोभेम्बर २२)मा काठमाडौंको ह्यात रिजेन्सी होटलको सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको छ । सो अवसरमा एसिया महादेशका विभिन्न राष्ट्रहरू र पश्चिमी प्रशान्त क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपालको राष्ट्रिय गान र ‘इफाप्का’को भक्ति गानबाट प्रारम्भ भएको सो उद्घाटन समारोहलाई सम्माननीय राष्ट्रपतिबाट पानसमा दीप प्रज्वलन पश्चात् नेपालको नेवार समुदायको मौलिक बाजा धिमेसँगै विभिन्न देशका निर्माण संस्था तथा कम्पनीहरूले आ–आफ्नो झण्डा सहित उपस्थिति रहेको थिए । जस अनुसार नेवारी बाजाको पंक्तिसँगै नेपाल, बङ्गलादेश, भुटान, मलेसिया, श्रीलंका, कम्बोडिया, कोरिया, जापान, ताइवान, थाइल्याण्ड, अष्ट्रेलिया, फिलिपिन्स, मंगोलिया, भारत, हङकङ, इण्डोनेसिया, माल्दिभस् आदि देशका प्रतिनिधिहरू साथमा इफाप्काका प्रतिनिधि सहित नेपालका पञ्चैबाजा समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रविसिंहले स्वागत मन्तव्यबाट उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथी र उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको थियो । त्यसैगरी इफाप्का अन्तर्गतको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालबाट तयार गरिएको इफाप्काको स्मारिका अध्यक्ष रवि सिंहबाट राष्ट्रपतिलाई प्रदान गरी सार्वजनिक गरिएको थियो ।

यसपछि राष्ट्रपति समक्ष कुमारी नृत्य प्रस्तुत गरिएको थियो । साथै निर्माण व्यवसायीले अन्तराष्ट्रिय जगतसम्म के कस्तो कार्य गरिए र के गरिंदैछ भन्नेबारे वृत्तचित्र प्रस्तुत गरिएको थियो । यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वालाले नेपाल इफाप्काले विगतदेखि वर्तमानसम्म जस्तोसुकै परिस्थितिमा पनि निर्माण व्यवसायीलाई निरन्तरता दिइरहेकोमा खुलेर प्रशंसा गर्नु भएको थियो । यसपछि नेपाली मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

विश्व अर्थतन्त्रलाई चलायमान राख्न निर्माण व्यवसायीहरूको प्रमुख भूमिका रहेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष सतर्कता अपनाउनु जरुरी रहेको बताएका छन् । राष्ट्रपतिले २४ हजार निर्माण व्यवसायीहरूको छाता संगठन इफाप्काको अन्तर्राष्ट्रिय संगठनको यो सम्मेलन सफलताको कामना गर्दै आफ्नो मन्तव्य राखेका थिए । यसै गरी इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा मौसम परिवर्तनसँगै प्राकृतिक विपत्तिको शिकार भइरहेको परिप्रेक्ष्यमा यस संगठनले मौसम परिवर्तनको एजेण्डलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने राष्ट्रपति पौडेलेको भनाइ रहेको थियो ।

हालै नेपालको भ्रमण गर्नु भएका संयुक्त राष्ट्र संघका महासचिवले मौसम परिवर्तनको एजेण्डलाई उच्च महत्व दिनु भएको छ । यसरी बुधवारबाट काठमाडौंमा सुरु भएको एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्कालाई उनले कुनै पनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताएका थिए । साथै उनले ‘पृथ्वी रहे मात्र हामी रहन्छौ’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि आह्वान गरे ।

उद्घाटन सत्रका सभापति, इफाप्काका अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानी वृद्धि गर्न इफाप्का आबद्ध मुलुकका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । नेपालको पश्चिमी क्षेत्रमा हालै आएको विनाशकारी भूकम्पमा परेकाहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार रहेको अध्यक्ष सिंहले बताउनुभयो ।

महासंघका सल्लाहकार तथा इफाप्का महासचिव विरेन्द्रराज पाण्डेले इफाप्कालाई गतिशील संगठन बनाउन सदस्य राष्ट्रहरूको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा इफाप्का सदस्य मुलुकका चिफ अफ डेलिगेटहरू आ—आफ्नो संस्थाको झण्डा सहित सम्मेलन स्थलमा प्रवेश गरेका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघको झण्डा सहित चिफ अफ डेलिगेट, महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) सम्मेलन स्थल प्रवेश गर्नु भएको थियो । शनिवारसम्म चल्ने सम्मेलनका विभिन्न फोरममा इफाप्का पदाधिकारीहरू सहित पूर्वाधारविद् तथा सरोकारवालाबीच निर्माण उद्योगका विविध पाटोबारे घनिभूत छलफल भई काठमाडौं घोषणापत्र जारी हुने महासंघका महासचिव रोशन दाहालले बताउनु भयो ।

सम्मेलनकै अवधिमा निर्माण उद्योगमा योगदान गर्ने व्यवसायीहरूलाई सम्मान गरिएको थियो । दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित शुरु भएको सम्मेलनमा विदेशका २ सय ४० सहित ४ सय ५० भन्दा बढीको सहभागिता रहेको छ । नेपालले यसअघि सन् १९९९ मा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो । कार्यक्रम संचालन माल्भीका सुब्बाले गर्नु भएको थियो ।
अन्तमा अध्यक्ष रवि सिंहबाट राष्ट्रपतिलाई मायाको चिना प्रदान गरिसकेपछि संस्थाका सचिव विरेन्द्रराज पाण्डेले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!