Search

गोकर्ण “देशे गाउँ” मा आर्यमञ्जुश्री नामसङ्गीति बुद्ध मन्त्र पाठ

गोकर्ण “देशे गाउँ” मा आर्यमञ्जुश्री नामसङ्गीति बुद्ध मन्त्र पाठ

२ मंसिर, बाँपिझ्याला, काठमाडौं । मुलुकमा शान्ति सुस्वास्थ्य र सुव्यवस्थाको कामना गर्दै ज्ञानका प्रतिमूर्ति महात्मा बुद्धको दिव्योपदेशलाई आत्मसातका साथ उपत्यकाका नेवारहरूको सबैभन्दा पुरानो ऐतिहासिक एवं धार्मिक स्थल ‘गोकर्ण देश’को बौद्ध स्तुपा प्राङ्गणमा आर्यमञ्जुश्री नाम सङ्गीति बुद्ध मन्त्र श्लोक पाठ सम्पन्न गरिएको छ । यस पूण्य कार्यमा क्वथुपुई यें (काठमाडौं) मा रहेको आर्यमञ्जुश्री नामसङ्गीति स्तोत्रपाठ खलकका बोैद्धमार्गी अनुयायी वज्राचार्यहरूको सहभागी रहेको थियो ।


गोकर्णेश्वर नयाँपाटी निवासी (हाल म्हेपि बसोबास) बौद्ध गुरु विकास वज्राचार्यको आमन्त्रणमा भएको सो बुद्ध मन्त्र पाठ गर्न काठमाडौं महानगरपालिका भित्रका वज्रचार्य परिवारका सदस्यहरु उपस्थित भएका थिए । काठमाडौंका विभिन्न ठाउँबाट सम्मिलित सो परिवारलाई उक्त स्थलमा भेला गराउन वज्राचार्य गुरु गौतम वज्रचार्यले संयोजन गरेका थिए । सो बुद्ध मन्त्र पाठलाई शोभा बढाउनका लागि गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालको पनि उपस्थित भएको थियो । साथै चामुण्डा मन्दिरका पूजारी विमलमान श्रेष्ठको पनि उपस्थिति थियो ।

बौद्ध गुरु बिकास वज्राचार्यले गोकर्ण देशमा अधिकांश नेवार बस्ती रहेपनि बुद्ध धर्म प्रति आस्थावानहरू भएपनि यस्तो खालको बुद्धसँग सम्बन्धित प्रवचन, मन्त्र पाठ गर्ने प्रचलन अत्यन्तै कमै रहेकोले यो स्थल ओझेलमा पर्दै गएको जस्तो महशुस भएकोले काठमाडौं महानगरपालिका भित्र रहेका बुद्धका अनुयायी वज्राचार्य गुरु वगलाई आमन्त्रण गरेर प्रचारप्रसारमा टेवा पुर्याउने कोशिस गरेको बताउनु भयो ।

गोकर्ण भन्ने बित्तिकै धेरैलाई ‘गोकर्णेश्वर महादेव’को मन्दिर रहेको ठाउँ भनेर ज्ञान भएको हुनुपर्छ । तर यही गोकर्ण महादेवको मन्दिर जहाँ भाद्र कृष्ण औँसीको दिन मनाइने ‘कुसे औंसी’ पर्व मनाइने स्थल हो भनेर मात्र ज्ञान भएर यथेष्ट नहोला । किनकि पितृहरूको आत्मशान्तिको लागि पिण्डदान दिने पवित्र तीर्थस्थल ‘उत्तर गया’ पनि यही नगरपालिका भित्र रहेको छ । जुन स्थलमा पिण्डदान गरेपछि अघिपछि भूलवश नगरिएको पितृकर्मको कार्य सिद्ध हुने मान्यता रहेको छ ।

यो उत्तरगया गोकर्णेश्वर महादेवको मन्दिरबाट ५ शय मीटर पूर्व बागमती नदीको तटमा रहेको छ । यो नदी सुन्दरीजल मुहान भएर नयाँपाटी हुँदै बहेर गोकर्णेश्वर महादेवलाई स्पर्श गरेर हालको नयाँ बजार माकलबारी हुँदै जोरपाटी नयाँबस्तीबाट गुह्येश्वरी पशुपति पुग्दछ । गोकर्णेश्वर महादेवको मन्दिर परिसरलाई त्रिवेणीको रूपमा पनि मान्न सकिन्छ । यस ठाउँमा वागमती नदीमा सूर्यमति र चन्द्रमति खोला पनि मिसिएका छन् ।

पैगोडा शैलीमा बनेको यो गोकर्णेश्वर मन्दिरको छत्रछायामा अनेकौं देव देवीका मूर्तिहरू सजाइएका छन् । मन्दिरको प्रत्येक द्वारमा कलात्मक बुट्टाहरू कुदिएको देखिन्छ । लिच्छविकालीन सभ्यतामै बनिसकेको यो मन्दिरको छत्रछायामै रहेको छ गोकर्ण देश । त्यसताका उपत्यकाको तीनै शहरका राजाहरूको वन विहार गरेर विश्राम गर्ने स्थलको रूपमा प्रख्यात रहेको यो ठाउँमा निकै शताब्दी पछि पनि शाहकालीन राजा र राज परिवारले समेत यो क्षेत्रलाई शिकार गर्ने र विश्राम स्थलको रूपमा प्रयोग गर्दै आएका थिए । जसको प्रमाणित स्थान हो हालको गोकर्ण दर्बार (गोकर्ण रिसोर्ट) परिसर ।

गोकर्णको यो प्राचीन शहर नेवारहरूको प्रचलित बस्ती रहेको भनेपनि लिच्छवी वंशका राजा मानदेवको शासनकालमा यही गोकर्णको जङ्गलमा शयर गर्ने क्रममा विश्राम गरिरहँदा भक्तपुरको डाँडोमाथि चाँगु नारायणको मन्दिर स्थापना गर्ने परिकल्पना गरिएको भन्ने भनाई रहेको छ । गोकर्णको प्रसङ्गले मानदेव राजा र बोधिसत्व मञ्जुश्रीको इतिहासलाई पनि सामिप्य राख्दछ । विंसं. ५२१ ताका निर्माण भएको भक्तपुरको चाँगु नारायणको मन्दिर भन्दा पहिले नै गोकर्णमा दरबार मन्दिर रहिसकेको कुरा इतिहासविद्ले ठम्याएका छन् ।

गोकर्णेश्वर मन्दिरकै परिसरमा रहेको नेवार बस्तीमा परापूर्वकालदेखि नै बुद्धको प्राचीन स्तुपाको गजुरको अवशेषको तस्बिर हेर्दा सो ठाउँमा हालको बौद्ध र स्वयम्भूको चैत्य या ठूलै स्तूपा रहेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । जुन अवशेष अहिले एक व्यक्तिको घरको मूल ढोकासँग टँसाएर राखिएको देख्न सकिन्छ । यसले के जनाउदछ भने काठमाडौंको स्वयम्भू र हालको कामनपा वडा नं. ६ मा रहेको बौद्ध स्तूपा भन्दा पहिले नै साँखुको खड्गयोगिनी र गोकर्ण परिसरमा बौद्ध स्तूपा बनिसकेको हुनुपर्ने अनुमान लगाउन सकिन्छ ।

हाल गोकर्णको प्राचीन नेवार बस्तीलाई ‘देशे गाउँ’ भनेर प्रचारमा रहेको पाईन्छ । यहाँ तलेजु भवानीको मन्दिर पनि रहेको छ । यहाँ तलेजु भवानीको रथयात्रा, इन्द्रजात्रा, भैरवजात्रा पनि हुने गर्दछ । बैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती पनि भव्य रूपमा मनाइन्छ । यहाँ ९५ प्रतिशत श्रेष्ठ थरका नेवार जाती रहेका छन् भने केही खड्गी, कपाली तथा अन्य रहेका छन् । यहाँका वासिन्दाको आयश्रोत नै कृषि रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!