Search

जहरसिंह पौवावासी र प्रहरी बिच झडप, ३ प्रहरी घाइते, १४ जना पक्राउ

जहरसिंह पौवावासी र प्रहरी बिच झडप, ३ प्रहरी घाइते, १४ जना पक्राउ

२ मंसिर, बाँपीझ्याला, काठमाण्डौं ।अपर तामाकोशी जलविद्युत परियोजनाको सब–स्टेसन निर्माणका लागि सशस्त्र प्रहरीको क्याम्प राख्न लागेपछि काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ जहरसिंह पौवामा स्थानीय र प्रहरीबिच झडप भएको छ । झडपमा डिएसपी देवराज राईसहित ३ प्रहरी घाइते भएका छन् भने प्रहरीले शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ भएको झडपमा ३ प्रहरी घाइते भएका थिए भने ४ जना पक्राउ परेका थिए । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए । शनिवार पनि स्थानीयले सब–स्टेसन निर्माणको विरुद्धमा आन्दोलन जारी राखेका छन् ।

आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १० जना पक्राउ परेका छन् । 

सब–स्टेसन निर्माण अघि बढाउनेबारे बिहीबार नेपाल विद्युत् प्राधिकरण, शंखरापुर नगरपालिका, इलाका प्रशासन कार्यालय साँखु, स्थानीयबासी लगायतबीच छलफल भएको थियो । सबै पक्षको साझा सहमति बनाएर अघि बढ्ने कुरा भए पनि आयोजनास्थलमा एक्कासि सशस्त्र प्रहरीको क्याम्प राख्न गएपछि स्थानीय आन्दोलनमा उत्रिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने–‘जनताका जाहेज मागलाई संवोधन गर्नुपर्छ र विकासका कामलाई अघि बढाउनुपर्छ भन्ने दृष्टिकोणबाट नगरपालिकाले मध्यस्थताको पहल गरिरहेको छ । धेरै प्रगति भइसकेको अवस्थामा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न खोजिएपछि त्यहाँको महोल बिग्रिएको छ । अहिले पनि हामी यो विवादलाई वार्ता छलफलको माध्यमबाट नै टुङ्ग्याउनुपर्छ भनेर लागिरहेका छौँ । घर घरमा गएर पक्राउ गर्न थालेपछि आज ५ जना महिलाहरूले स्वतःस्फूर्त गिरफ्तारी दिनुभएको छ । यसले राम्रो सन्देश गएको छैन । पक्राउ परेकालाई बिना सर्त रिहाइ गर्नु, स्थानीयको माग पनि पूरा हुने र काम पनि हुने गरी अघि बढ्न हामी छलफलमा जुटिरहेका छौँ ।’

प्रवक्ता श्रेष्ठले प्रहरीले घर–घरमा पुगेर स्थानीयलाई पक्राउ गर्दा समस्या बल्झिएको बताएका छन् । एमसिसी परियोजनाको प्रशारणलाईन जहरसिंह पौवा हुँदै नुवाकोटको रातोमाटे लैजाने योजना रहेको छ । स्थानीयले बस्तीबिचबाट प्रसारण लैजान नहुने र सवस्टेशन बनाउँन नहुने भन्दै सो स्थानबाट आयोजना अन्यत्र सार्न माग गर्दै आन्दोलन गरिरहेका छन् । शनिवारपनि आयोजना स्थलमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!