३० कार्तिक, बाँपीझ्याला, काठमाण्डौं । डा. बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र एवं एकीकरणका लागि समायोजन समिति बनाउने बैठकको एजेण्डा रहेको महासचिव रमेश यादवले जानकारी दिए ।
उनका अनुसार बैठकमा नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुनेछ । उनले भने, ‘बैठक ६ र ७ गते बस्छ । बैठकले एकीकरणसम्बन्धी माओवादी केन्द्रले पठाएको पत्र र समायोजन कार्यदल गठनबारे निर्णय गर्छ ।’
साथै, बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बताइएको छ । यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो ।