बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् नेवारहरुको मात्रै संवत् नभएर नेपाल र सबै नेपालीको मौलिक संवत् हो भनेका छन् । न्हुदयाँ मुल समारोह समितीले आज बसन्तपुरमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा ¥याली सम्पन्न पछी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल संवत् भनेको नेवारहरुको मात्रै संवत् हो भन्ने भ्रम रहेछ, यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो, सबै जातजातीको साझा संवत् हो, सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले यो संवत्प्रति नेपालीले गर्व गर्नुपर्छ ।”
नेपाल संवतलाई स्थापित गर्न नेवार बुद्धिजीविहरुको मुख्य भूमिका रहेको चर्चा गर्दै उनले नेपाल संवतलाई राष्ट्रिय संवत् बनाउन पनि उनीहरुले सङ्घर्ष गरेको बताए । उनले नेपाल संवत् सामाजिक न्यायमा आधारित संवत् रहेको चर्चा समेत गरे ।
शंखधर साख्वाःको प्रेरणाबाट आफूले धेरै निर्णय लिएको स्मरण गर्दै प्रधामन्त्री प्रचण्डले भने, “गणतन्त्र स्थापना भएपछि मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको हो, त्यतिबेला नेपालका गरिब किसानको ऋण मोचन गर्न ३० हजारसम्म ऋण लिएका सम्पूर्ण किसानको ऋण मिनाहा गर्ने निर्णय गरेँ, त्यो निर्णय शंखधर साख्वाःबाट प्रेरणा लिएर गरेको निर्णय हो ।”
वहाँले हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख गर्नुपर्ने निर्णय गरेको बताउँदै अब प्रत्येक कागजी प्रक्रिया एवं ठाउँमा यो संवत् कार्यान्वयनमा आउने बताए ।
पवित्र कसांले संचालन गरेको उक्त कार्यक्रम भिक्षु गुरु डा. नरेस बज्रचार्यको सभापतीत्वमा सम्पन्न कार्यक्रममा काठमाण्डौं महानगरपालीकाका मेयर बालेन शाहले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।
यसै गरी आजदेखि नेपाल संवत् ११४४ सुरु भएको छ । देशभर विविध कार्यक्रम आयोजना गरेर नेपाल संवतको नयाँ वर्ष मनाएका छन् । यसरी नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यका लगायत देशैभर हर्षउल्लासका साथ नेवार समुदायले नयाँ वर्ष मनाइरहेका छन् ।
फोटो : बाँपीझ्याला डटकम