बाँपीझ्याला, काठमाण्डौं, कोलकाता । एकदिवसीय विश्वकप २०२३ को अन्तिम डबल हेडर आज खेलाइँदैछ । आजको दोस्रो खेलमा पाकिस्तानले साबिक विजेता इंग्ल्याण्डको सामना गर्नेछ । खेल कोलकाताको इडेन गार्डेनमा दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ । ८ खेलमा ४ जित र ४ पराजयपछि ८ अंकसहित पाकिस्तान अंक तालिकाको पाँचौँ स्थानमा छ । ८ खेलमा २ जितमा ४ अंक जोडेको इंग्ल्याण्ड ७ नम्बरमा छ । आजको खेल जितेर इंग्लिस टोली च्याम्पियन्स ट्रफीका लागि छनोट हुनेछ ।
उता पाकिस्तानले सेमिफाइनलमा पुग्ने हो भने विश्वकपबाट बाहिरिएको इंग्ल्याण्डलाई लगभग असम्भव अन्तरले हराउनुपर्छ । पाकिस्तानले इंग्ल्याण्डविरुद्ध पहिले ब्याटिङ गरेमा २८७ रनले जित्नुपर्नेछ । यदि पाकिस्तानले लक्ष्य पछ्याउने हो भने २७८ देखि २८४ बल बाँकी छँदै लक्ष्य पछ्याउनुपर्नेछ । अर्थात् लक्ष्य अनुसार उसले १६ देखि २२ बल भित्र खेल जित्नुपर्नेछ ।
विश्वकपमा बराबरीको प्रतिस्पर्धा
एकदिवसीय विश्वकपमा दुई टोलीबिच १० खेल भएका छन् जसमध्ये पाकिस्तानले ५ र इङ्ल्यान्डले ४ खेल जितेको थियो । एक खेलमा भने नतिजा आउन सकेन । यी दुईबिचको एकदिवसीयमा ९१ खेलमा पाकिस्तानले ३१ र इंग्ल्याण्डले ५६ खेल जितेको थियो । अन्य खेलमा भने कुनै नतिजा निस्केन । भर्खरको फार्मका आधारमा पाकिस्तानको अग्रता देखिन्छ तर पछिल्लो खेल जितेर इंग्ल्याण्ड पनि आत्मविश्वासले भरिपूर्ण हुनेछ ।
एकदिवसीय विश्वकप २०२३ मा नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानले आफ्नो यात्राको उत्कृष्ट सुरुवात गरेको थियो । यसपछि दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । त्यसपछि टोलीले लगातार चार खेलमा हार बेहोरेको थियो । पाकिस्तान भारत, अस्ट्रेलिया, अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । तर, टोलीले पछिल्लो दुई खेलमा बंगलादेश र न्युजिल्याण्डविरुद्ध लगातार जित हात पारेको छ ।
पाकिस्तानका मोहम्मद रिजवान टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनको नाममा ८ खेलमा एक शतक पनि छ । उनले ३५९ रन बनाएका छन् । टिमका सर्वाधिक विकेट लिने बलर शाहिन शाह अफ्रिदीको नाममा १६ विकेट रहेको छ ।
इंग्ल्याण्डले ८ खेलमध्ये २ मात्रै जितेको छ
हालको च्याम्पियन इंग्ल्याण्डको यो विश्वकपमा राम्रो सुरुवात हुन सकेन । पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । त्यसपछि लगातार पाँच खेलमा हार बेहोरेको थियो । पछिल्लो खेलमा इंग्ल्याण्डले नेदरल्यान्ड्सलाई हराएको थियो । इंग्ल्याण्डका लागि डेभिड मलानले सर्वाधिक ३७३ रन बनाएका छन् । १३ विकेट लिने आदिल रसिद टिमका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
पिच रिपोर्ट
कोलकाताको इडेन गार्डेन स्टेडियमको विकेट ब्याटिङका लागि सधैं सहयोगी रहँदै आएको छ । यस विश्वकपमा अहिलेसम्म यहाँ ३ खेल खेलिएका छन् । यहाँ कुल ३४ एकदिवसीय खेलिएको छ। पहिले ब्याटिङ गर्ने टोलीले २० खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीले १३ खेल जितेका छन्। एक खेल भने नतिजा आउन सकेन ।
यस मैदानमा उच्चतम स्कोर ४०४ रन हो, जुन भारतले सन् २०१४ मा श्रीलंकाविरुद्ध बनाएको थियो। सबैभन्दा कम स्कोर ८३ रन हो, जुन यस विश्वकपमा दक्षिण अफ्रिकाले भारतविरुद्ध बनाएको थियो।