बाँपीझ्याला, काठमाण्डौं । कान्तिपुर पब्लिकेशनले नेपाल पत्रकार महासंघले भ्रम फैल्याउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने तथा हुलहुज्जत गरेको आरोप लगाएको छ । कान्तिपुर पब्लिकेशनले मंगलबार एक विज्ञप्ति जारी गरि महासंघले भ्रम फैल्याउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने तथा हुल हुज्जत गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कान्तिपुर पब्लिकेशनले आन्तरिक समझदारी वा कानूनी मार्गबाहेक कुनै पनि तेस्रो पक्षको गैरव्यावसायिक दवावसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ । सुनियोजित भ्रम फैलाउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने र कान्तिपुरले उजागर गरेका बेथितिका बदलामा राजनीतिक प्रतिशोध लिने शृंखला चलेको भन्दै पब्लिकेशनले विज्ञप्ति जारी गरेको हो ।
माग र आपूर्तिको सिद्धान्तअनुसार जनशक्ति घटबढ गर्नु तथा आवश्यकताका आधारमा सरुवा गर्न पाउनु व्यावसायिक अधिकार भएको र त्यसक्रममा कानुनको परिपालना गर्नु आफ्नो दायित्व हो भन्नेमा पब्लिकेशनको स्पष्ट धारणा रहेको विज्ञप्तिमा उल्लेख छ ।
संवाद वा कानूनी बाटो छाडेर निहित उद्देश्यले संस्थाको बदनाम गर्ने एवं काममा अवरोध गर्ने प्रवृत्ति अविलम्ब नरोकिए कानूनी उपचारमा जाने संस्थाले चेतावनी दिएको छ ।