Search

माओवादी केन्द्र ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ कर्णालीमा

माओवादी केन्द्र ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ कर्णालीमा

बाँपीझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत कर्णालीलाई आफ्नो आधार इलाकाका रुपमा थप विस्तार गर्न सकिएको निष्कर्ष निकालेको छ । यो अवधिसम्म अभियानले पार्टी रुपान्तरणमा ठुलो प्रगति हासिल गरेको नेताहरुको विश्लेषण छ ।

जनताको बिचमा रहेर १० वर्षे जनयुद्ध लडेको माओवादी शान्ति प्रक्रियासँगै सहर पसेपछि जनतालाई भुलेको भन्ने जनगुनासो गाउँगाउँमा सुनिएको नेताहरु बताउँछन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पेस गरिएको भदौ र असोज महिनाको रिपोर्ट अनुसार प्रदेशका १० वटै जिल्लामा अभियान प्रभावकारी रुपमा चलेको छ । यद्यपि जनाधार कमजोर रहेको सुर्खेत, डोल्पा लगायतका जिल्लामा भने खास प्रभावकारी नभएको बताइएको छ ।

प्राप्त विवरण अनुसार दुई महिनाको अवधिमा प्रदेशभर करिब एक हजार ७ सयभन्दा बढी व्यक्ति अन्य पार्टी परित्याग गरेर माओवादीमा प्रवेश गरेका छन् । यसअघि सबैभन्दा कमजोर रहेको दैलेखमा पनि अभियानकै क्रममा माओवादी फैलिएको छ ।

दैलेखमा ८१६ जनाले विभिन्न पार्टी त्याग गरेर माओवादी रोजेका छन् । उत्तिकै मात्रामा यहाँ सदस्यता लिनेको संख्या पनि बढेको छ ।

दैलेखमा ८१५ जनालाई नयाँ सदस्यता वितरण गरिएको छ । अभियानका दैलेख इञ्चार्ज गोपाल शर्माका अनुसार ५८ वटा जनभेला भएका छन् भने १५३ वटा बैठक, ९७ वटा सेल तथा टोल कमिटी निर्माण, ५१ जना घाइते अपाङ्गता भएका व्यक्तिसँग भेटघाट भएको छ भने २०१ जना सहिद परिवारसँग भेट गरिएको छ । यस्तै ४८५ सदस्यता नवीकरण गरिएको छ भने ११ वटा जनसेवा तथा जनश्रमदानका कार्य भएका छन् ।

दैलेख यस्तो ठाउँ हो, जहाँ युद्धताका माओवादीविरुद्ध प्रतिक्रान्ति भएको थियो । त्यस कारण पनि कर्णालीमा माओवादीको जनाधार सबैभन्दा कमजोर मानिएको जिल्ला दैलेख हो । अभियान सुरु भए यता दैलेखमा माओवादी तीव्र गतिमा फैलिरहेको इञ्चार्ज शर्मा बताउँछन् ।

पार्टी प्रवेश गर्ने संख्या अरु जिल्लाभन्दा दैलेखमै बढी रहेको छ । जुम्लामा करिब ३० जनामात्रै प्रवेश गर्दा डोल्पामा १५४, रुकुम पश्चिममा ४३, जाजरकोटमा २५१, सल्यानमा ४८, सुर्खेतमा ११३, हुम्लामा ७४, कालिकोटमा ११४ र मुगुमा ५३ जनाले अन्य पार्टी त्याग गरेर माओवादी रोजेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!