बालकृष्ण “पासा”
नेपालमा क्रिकेट खेलाडीहरूको लागि एक समय यस्तो चर्चा पनि थियो कि बजार भरि यस्तै सुनिन्थ्यो,– ‘बेरोजगारीहरूको काम छैन अनि हावाको सपना बुनेर समय बिताइरहेछन् । जित्ने होइन खाली क्रिकेट संघको पुच्छर लागेर देश विदेश घुम्ने रहर मात्र पुर्याउने हो, अरु केही होइन ।’ भनेर ।
खेलको महत्व नर्भैकन कसैले अभिरुचि राख्दैन । लण्डन देशबाट चर्चामा आएको यो खेल नेपालमा पनि राणा राजा रजौटाहरूले विदेशकै सिको गरेरै भएपनि नेपालमा खेल्ने गर्थे । हुन त क्रिकेट खेललाई ‘मूर्खहरूको खेल’ भन्ने गरेको यदाकदा सुनिन्थ्यो पनि । अझ कसैकसैले त; ‘यो खेल खेल्ने त त्यसै पनि मूर्खहरू हुन् भने यी खेल हेर्न बस्नेहरू महामूर्खहरू हुन् ।’ पनि भन्थे ।
हुन पनि घरको अमूल्य काम नै थाती राखेर दिनभरी घाममा रापिएर बाफिएर बस्नुपर्ने, आफ्ना पार्टीले खेलेको विफल भएमा चुक्चुकाएर निन्याउरो अनुहार बनाएर घरतिर घोसेमुन्टो लाएर फर्किनु पर्ने । यसो हेर्दा हो जस्तो पनि लाग्ने । केही काम गरेको भए दाम पनि पाउने माम चपाउन नि पाउने जस्तो लाग्ने गरी समय खर्चिने यो खेल अहिले साना किशोर देखि लिएर पाका बुढाखाराले समेत.. ‘नेपालले जितेछ त बाबै,.. गज्जब गरेछ नि,.. गोर्खाली पो हो त, चानचुने हो र ?’ भन्दै टिभिमा समाचार हेर्न कुदि हाल्ने शुभचिन्तकहरूको लर्को लागेको छ ।
नेपालमा क्रिकेट खेलको मध्यक्रम विकासले फड्को मार्न खोज्दा खोज्दै पनि संघ र महासंघको पदीय खिंचातानीले धेरै नै आरोहअवरोह खेप्न वाध्य हुन परेको तीतो यथार्थ त छदैँछ, तथापि खेलप्रेमी दर्शक र शुभचन्तिकहरूलाई निराश नबनाउन खेलाडीहरू र लगानीकर्ताहरूको लगनशीलता प्रति आम नेपाली जन र मनले ‘श्याबास’ दिन कञ्जुस्याइँ गर्न हुन्न ।
भलै आर्थिक व्यवस्थापनको कारणले अन्तराष्ट्रिय स्तर सुहाउँदो रङ्गशाला बन्न ढिलाइ भएको होला तर अहिले निर्माणाधिन मूलपानी क्रिकेट खेल मैदान र त्रिभुवन विश्व विद्यालय परिसरका खेल मैदानले नेपालको प्रतिष्ठालाई उच्च बनाइ दिएकोमा हामीले गर्व गर्नै पर्छ । यसका लागि आवश्यक जग्गा र प्राविधिक व्यवस्थापनका लागि आम जनमानसको दिल खुल्ला हुन जरुरी रहेको छ ।
विगत एक वर्षदेखि भारतीय नागरिक मोन्टी देसाईं मुख्य प्रशिक्षक भएर आएदेखि नेपाली क्रिकेट खेलले मजबुत र सुन्दर रूपमा काँचुली फेरेर नेपालको प्रतिष्ठामा उच्चतम् उपमा थपिएकोमा उनलाई हृदयदेखि ‘साधुवाद’ अर्पण गरेर उनीप्रति हार्दिक आभार व्यक्त गर्नैपर्छ । यतिबेला हामी सबैले प्रशिक्षक मोन्टी देसाईं लगायत नेपाली खेलाडीहरूलाई मनैदेखि धन्यवाद दिएर शुभकामना दिन पछि पर्न हुन्न ।
खेल हो, जित या हार त भैहाल्छ । जितमा जति प्रशंसा र खुसी व्यक्त गरिन्छ त्यो सकारात्मक पक्ष हो भने पराजित हुँदा सहानुभूति र सान्त्वना सहित उत्प्रेरित भावना जगाउन जरुरी छ यस्तो बेलामा गाली, अपमान र नैराश्यजनक भाव व्यक्त गर्न शोभनीय हुँदैन । अधिकांश युवा खेल शुभचिन्तकहरूले सामान्य गल्तीलाई ‘तिलको पहाड’ बनाएर अपाच्य शब्दहरू थुपारेर सामाजिक सञ्जालमा जुन प्रतिक्रिया व्यक्त गर्छन् ती कुरा निन्दनीय छ । आपूm स्वयम् मैदानमा उत्रेपछि थाहा हुन्छ कि खेलको गतिविधि र अवस्था के हुन्छ भनेर । नेपालमा क्रिकेट खेलको विकासक्रमबारे हेरौं ।
क्रिकेटको इतिहास :
क्रिकेट खेल इङ्ग्ल्याण्डबाट शुरुआत भएको भन्ने प्रारम्भिक इतिहासले बताएको छ । जुन शुरुआतमा इङ्ग्ल्याण्डको दक्षिण पूर्वी नटमा रहेको बाक्लो जङ्गलमा बसोबास गरेका आदिवासी जनजातिबाट भएको भन्ने आधार पाईन्छ । उनीहरू सो जङ्गलमा रहँदा खेतीपाती र भेंडा पालन जस्ता कार्य गर्दथे । जसका लागि धातुका हतियारहरू प्रयोगमा ल्याउँथे । भेँडा पाल्दा भेँडाका ऊन काटेर डल्लो बनाइ राख्दथे । यही क्रममा तिनीहरूका बालबच्चाहरूले सो ऊनलाई सानासाना डल्ला बनाइ काठको फल्याक जस्तो बनाएर (जसलाई हिजोआज ‘ब्याट्’ भन्ने गरिन्छ) सो ऊनको डल्लोलाई कति टाढासम्म फ्याँक्न सकिन्छ भन्ने होड्बाट शुरुआत भएको देखिन्छ । यो कुरा अहिले भन्दा १६औं शताब्दी भन्दा पहिलेको हो भनेर भारतीय खेल इतिहास नामक पुस्तकमा वर्णन गरिएको पाईन्छ ।
शुरुमा स–साना बालबालिकाबाट भएको यो खेल पछि परिमार्जित गर्दै किशोरकिशोरी हुँदै युवाजगतमा पनि चर्चा हुन थालेपछि इङ्ग्ल्याण्डका राज्य प्रशासकले मनोरञ्जनको लागि दर्बारमा भित्य्राएको देखिन्छ । सो खेलको गुरु नै तिनै जङ्गलमा रहेका आप्रवासी थिए भनिएको छ । यसरी इङ्ग्ल्याण्डको राजाप्रसादमा (दर्बार) दरबारीया सदस्यहरूले आगन्तुक अतिथिहरूलाई समेत मनोरञ्जन दिलाउने गर्दागर्दै बाहिरी दुनियाँमा समेत प्रचार भएको मानिन्छ ।
ईस्वी सन् ४२५ ताकादेखि युवाहरूले यो खेललाई विस्तारित रूपमा अगाडि ल्याएको देखिए तापनि प्रतियोगिताको रूपमा भने सन् १६११ देखि मात्र आ–आफ्नै समूह बीचमा बाजी राखेर खेलेको र पछि यसलाई राज्यको नगर विभागले पुरस्कार दिइने गरी खेलाइएको भन्ने देखिन्छ । जतिबेला यसको नतिजा अहिलेको जस्तो एकदीवसीय, टि–ट्वान्टी जस्तो संख्यात्मक नभएर प्रहरको हिसाबले खेलाएको देखिन्छ । जस्तो कि बिहान, मध्यान्ह र अपरान्ह गरेर जसको तालिकामा जसले बाजी मार्छ उसैको जीत हुने गर्दथ्यो । यसपछि मात्र एक नगरबाट अर्को नगर बीचमा प्रतिस्पर्धा गराउँदै यसको विकास भएको हो भन्ने कुरा सो लेखमा लेखिएको पाइन्छ ।
नेपालमा क्रिकेटको इतिहास र उत्थानः
नेपालको राष्ट्रिय खेल कपर्दी र डण्डीबियो भनेर नाम चलेको छ, तर ती खेलहरू शब्दमै सीमित रहेको छ । नेपाली खेलकुदको पुरानो खेलमध्ये एक हो क्रिकेट । नेपाली क्रिकेट टोली टिम नेपाल, गोर्खाली तथा द राइनोज जस्ता नामले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने गर्दथे । यसलाई खेल समूहको रूपमा बुझ्दा हुन्छ ।
विक्रम सम्वत् १९७० को दशकमा बेलायत भ्रमणबाट पढाइ सकेर फर्किने क्रममा तत्कालीन राणा शासकहरूले आफ्नै मनोरञ्जनका लागि नेपालमा क्रिकेट भित्य्राएको मानिएतापनि यो खेलको चर्चा पहिलेदेखि भएको हो । देशव्यापी रूपमा क्रिकेट विकास र विस्तार गर्ने उद्देश्यले २००४ मा नेपाल क्रिकेट संघको स्थापना भएको थियो । तर, २००७ सालमा राणा शासन नफ्याँकिएसम्म क्रिकेट राणा परिवार, उनीहरूका आफन्त, नातेदार र दौंतरीमा मात्र सीमित थिया े। उनीहरूले दरबार र टँुडिखेलमा खेल्थ े। राणाकालकै समयमा स्थापित क्रिकेट संघले २०१८ सालमा राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय संघको रूपमा दर्ता पाएसँगै यसलाई नेपाली क्रिकेटको औपचारिक विकासमा ठूलो उपलब्धि मानियो । राणा शासककै अधिनमा रहेकाले वि.सं. २०४० अघिसम्म नेपालमा क्रिकेट लोकप्रिय भइसकेको थिएन ।
तर, २०४० कै समयमा राजधानी बाहिर बाराको कलैया, पर्साको वीरगन्ज, धनुषाको जनकपुर, बाकेको नेपालगन्ज, रुपन्देहीको भैरहवा लगायत तराईका जिल्लाहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ । त्यही बेला नेपाल क्रिकेट संघ अन्तर्गत क्षेत्रिय र जिल्ला संघहरू स्थापना भएपछि विद्यालयमा पनि क्रिकेट खेलको मोह बढ्दै गया े। वि.स. २०४४ सालमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को सदस्यता पाएको हो । त्यसको २ वर्षपछि एसियाली क्रिकेट परिषद् (एसीसी) को सदस्य बनेको हो । २०५२ सालमा आइसीसीको एसोसिएट सदस्य बनेपछि नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रियस्तरमा खेल खेल्न सुरु गरेको हो ।
यसरी शुरुआत भएको नेपालको क्रिकेट खेलले अन्तराष्ट्रिय जगतमा सकारात्मक छाप छोड्न सफल त भएको छ नै तर पनि अहिलेको अवस्थाका खेलाडीहरूमा भएको अहं आत्मविश्वासले कहिलेकाहिँ अपत्यारिलो तवरले गलत नतिजा पनि आउन सक्छ भन्नेतिर ध्यान दिन जरुरी छ । उदाहरणार्थ गत हप्ता मात्र भएको प्रिमियर कपको नतिजाले दशाएको छ । ४ वटा म्याच सहजै विजित खेल फाइनलमा आएर अकल्पनीय पराजय भोग्नु पर्यो । त्यही भएर ‘ओभर कन्फिडेन्स’ हुने बानी त्याग्न जरुरी छ ।
खेल आफ्नो हुन्छ । तर विपक्षी खेलाडी आफ्ना हुँदैनन् ।
प्रतिद्वन्द्वि भनेको प्रतिद्वन्द्वि नै हो, न त उनीहरूमा दया हुन्छ न त कायरपन नै । जसरी पनि आपूm विजयी बन्नका लागि विशेष रणनीति अपनाउँछन् नै । यी कुरालाई हृदयङ्गम गरेर आगामी खेलहरूमा जुझ्नका लािग उच्च मनोबल मिलोस् र तमाम शुभचिन्तक नेपाली खेलप्रेमीहरूको आकाँक्षामा उत्साह सहितको सफलता मिलोस् र विश्वकप २०२४मा भिड्न सक्ने क्षमता र शक्ति मिलोस् हाम्रो तर्पmबाट यही छ शुभकामना !