बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं मैतिदेवीमा अवस्थित वैभव पार्टी प्यालेसमा वरिष्ठ कलाकार एवम् जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ र छोरा रेमनदास श्रेष्ठद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वडा दशै २०८०, तिवार, नेपाल सम्वत् ११४४ न्हूदँ (नयाँ वर्ष) र छठपर्वलाई स्वागत गर्दै आनन्दित वातावरणमा उत्साह र उल्लासपूर्ण मनाउनै अवस्था मिलोस् भन्ने मनोभावका साथ दशैको अन्तिम दिन कोजाग्रत पूर्णीमाको दिन कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा राष्ट्रिय अङ्गका उच्च अधिकृतहरू, सरकारी नियोगका प्रमुख व्यक्तित्वहरू, केन्द्रीय तथा प्रदेशका माननीय सांसदहरू, नगर विकासका प्रमुखहरू, स्थानीय सरकारका जनप्रतिनिधिहरू लगायत वरिष्ठ समाजसेवीहरू उपस्थित रहेको थियो । यसैगरी दोलखा जिल्लाका उच्च गन्य मान्यजन, व्यवसायी, स्थानीय भद्रभलादमी, कलाकार, गायक गायिका, साहित्यकार, कानुनविद् तथा पत्रकारहरूले भरिएको थियो ।
उक्त कार्यक्रम विशेषतः शुभकामना कार्यक्रमको औपचारिकता नै एकआपसमा शुभकामना आदानप्रदान गरिने भएकोले आसन ग्रहण तथा मन्तव्यको कुनै कार्यक्रम नराखिएको वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र उनकै सुपुत्र रेमणदास श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।
वरिष्ठतम् व्यक्तित्व मदनदास श्रेष्ठकी धर्मपत्नी पूर्व नाट्य अभिनेत्री रेणु श्रेष्ठ र ‘रोडिट शो’का सञ्चालक एवम् होटल व्यवसायी छोरा रेमनदास र परिवारका उपस्थितिमा भएको सो कार्यक्रममा चियापान तथा बिहानी नास्ताको प्रबन्ध मिलाइएको थियो । करीब १ शय ५० जना अग्रज, दिग्गज र सर्जक व्यक्तित्वहरू भेला भएको सो कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं. २ का निवर्तमान वडाध्यक्ष विराजमान श्रेष्ठ, दोलखाली संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू र प्राविधिज्ञहरूको उपस्थिति बाग्लै रहेको थियो ।
फोटो : बालकृष्ण श्रेष्ठ “पासा”, प्रविण प्रधान, कल्पना श्रेष्ठ