बाँपीझ्याला, काठमाण्डौं । कुनै बेला खेतीपातिका लागि हलो र गोरु अपरिहार्य थिए । असारमा धान रोप्न होस् वैशाखमा मकै छर्न । घैयाबारीमा तोरी छनै होसकी कोदोको बाँझो फुटाएर तरकारी खेति बलिया गोरु र हलो जुवा नभई हुँदैन थियो ।
तर, बढ्दै गएको सहरी केन्द्रित बसाइँ सराइ, युवाको विदेश पलायन र प्रविधिको विस्तारले यतिबेला नेपालको कृषि व्यवहारमै परिवर्तन ल्याइदिएको छ । जसका कारण गाउँ घरमा गोरुको संख्या महत्व हराउँदै गएको छ भने ट्याक्टरसहितका कृषि औजारको प्रयोग दिन प्रतिदिन फैलिंदै गएको छ ।
सरकारी तथ्याङकअनुसार २०६८ सालमा ८ लाख ४५ हजार मानिसले कृषि गर्नका लागि ट्याक्टरको प्रयोग गरेका थिए । जसअनुसार देशभर ३७ हजारको संख्यामा ट्यांक्टरहरु थिए ।
तर, २०७८ सालमा ट्याक्टर प्रयोग गर्ने कृषकको संख्या १६ लाख ३९ हजार पुग्यो भने देशभर प्रयोगमा रहेको ट्यांक्टरको संख्या पनि ५८ हजार नाघेको सातौं कृषि गणनामा उल्लेख छ । जसरी कृषिमा ट्याक्टरको प्रयोग बढ्दो छ यसले परम्परागत हलोको प्रयोग र गोरु पालनमा भने ठूलो गिरावट ल्याइदिएको छ । कृषि गणनाको तथ्याङ्कअनुसार कृषि प्रविधिको विस्तारका कारण परम्परागतसंगै आधुनिक फलामे हलोसमेत कृषकबाट विस्थापनको चरणमा देखिन्छ ।
२०६८ सालमा नेपालका १० लाख ७३ हजार कृषक परिवारले फलामे हलोको प्रयोग गरेको थिए । सो बेलाजम्मा जम्मी किसानहरुसँग ८ लाख ५६ हजार फलामे हलो थिए । तर, २०७८ मा आइपुग्दा फलामे हलो प्रयोग गर्ने किसान परिवार संख्या ७ लाख ३ हजारमा झरेको छ । जुन परिवार संख्याका हिसाबले १२ प्रतिशतको गिरावट हो । यस्तै आधुनिक फलामे हलोको कुल संख्या पनि ५ लाख १० हजारमा झरेको छ जुन झण्डै ३ लाख थानले कम हो ।
१० वर्ष अघि नेपालका २२ लाख ८१ हजार कृषकहरुले गाई/गोरु पालेका थिए । त्यो बेला नेपालमा कुल ६४ लाख ३० हजार गोटा गाई र गोरु रहेको सरकारी तथ्याङ्क छ । तर, २०७८ मा आईपुग्दा गाई/गोरु पाल्ने किसान र गाई/गोरुको संख्यामा भारी गिरावट आएको छ ।
अहिले नेपालमा गाई र गोरु पाल्ने किसानको संख्या ५ लाख ७२ हजारले घटेर १७ लाख ७ हजारमा झरेको छ । यस्तै, नेपालमा कुल गाई/गोरुको संख्यामा पनि १८ लाख ४९ हजारले घटेर ४५ लाख ५९ हजारमा आइपुगेको छ । नेपालमा पछिल्लो समय कृषि मेशनरीको प्रयोग बढेको नेपालमा ट्याक्टरको कारोबार गर्ने व्यवसायी उमेश नारायण मानन्धर बताउँछन् । उत्पादन बृद्धिका लागि यान्त्रीकरणको महत्व बुझेपछि किसानहरु आकर्षित भएको उनको भनाइ छ ।
‘सहजै उपलब्धता, उत्पादकत्व बृद्धि र छिटो काम सम्पन्न हुने भएकाले किसानहरु यान्त्रीकरणमा प्रोतसाहित भएको छ,’ कृषि मेशनरी व्यवसायी संघका निवर्तमान उपाध्यक्षसमेत रहेको मानन्धन भन्छन्,’ पहिलो तराई र समथर भूभागमा बढी प्रचलनमा रहेको यान्त्रीकरण अहिले बिस्तारै पहाडी क्षेत्रमा पनि बढीरहेको छ ।’
राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश तिमल्सिना कृषिमा यान्त्रीकरणको प्रयोगले व्यवसायीक खेती बढेको र यसमा श्रमको संख्यामा कमी हुनै गएको बताउँछन् । विश्वमा उन्नत कृषिमा जहिल्यै पनि यान्त्रीकरण पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा ढिलै भए पनि सुखद सुरुआत भएको उनको बुझाइ छ ।
‘राष्ट्रिय कृषि गणनाको तथ्याङ्कअनुसार पनि कृषिमा यान्त्रीकरण वृद्धि भएको र कृषिमा सक्रिय जनसंख्या घटेको देखिएको छ,’ अध्यक्ष तिमल्सिना भन्छन्, ‘७१ प्रतिशतले खेती गरेर खान नपुग्ने अवस्थाबाट अब सुधारन हुँदै जाने देखिन्छ ।