बाँपीझ्याला, काठमाण्डौं । पतञ्जलि योग पीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताएका छन्। पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग कुरा गर्दै उनले प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, संस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको अभिव्यक्ती दिनु भयो ।
‘यसै गरी भारतका कतिपय प्रान्तमा जान पासपोर्ट अनिवार्य छ, तर भारतीय नागरिक विना पासपोर्ट, विना अनुमति नेपालका जुनसुकै ठाउँ घुम्न जान सक्छन्,’ उनले भने, ‘दुई देशबीच सनातन संस्कृति, वैदिक परम्परा, भाषिक, धार्मिक, सांस्कृतिक समानता र रोटी बेटीका सम्बन्धले पनि सहज छ।’
नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी र वाल्मीकिको भूमि भएको उल्लेख गर्दै उनले यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवर्द्धनमा पहल गर्न सुझाव दिए।
उत्तर प्रदेशसँग जोडिएको रुपन्देहीमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए। ‘उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाचल प्रदेश जानुपर्ने अवस्था छ, त्यहाँ पुग्नभन्दा बुटवल आउन धेरै नजिक छ,’ उनले भने।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भएकाले त्यसमा ध्यान दिन सुझाए।
भारतको पतञ्जलि योग पीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवर्द्धन गरेको उनको भनाइ छ।
नेपाल र भारतबीचको सांस्कृतिक विरासत साझा र अक्षगण रहेको रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने उनले बताए। रुपन्देहीको धकधकमा एक अर्ब लागतमा जडीबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पाँच सय जनाले रोजगारी पाउने उनले बताए।
४० वर्षपछि पहिलो पटक गृह जिल्ला स्याङजामा दसैँ पर्व मनाउने अवसर मिलेको र सोही क्रममा कामाख्या देवी मन्दिर दर्शन गर्न पाउँदा खुसी लागेको आचार्य बालकृष्णले बताए।
सो अवसरमा लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतको उत्तर प्रदेशको २४ करोड जनसङ्ख्यालाई लक्षित गरेर पाँचतारे होटेल सहित केबलकारमा ५ अर्ब लगानी हुने बताए।
सञ्चालनको ५ महिनामै वसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको पौडेलले बताए। केबलकारले प्रत्येक टिकटको २ प्रतिशत रकम सेवा शुल्क बापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरेको र करिब सय जनालाई रोजगारी दिएको उनले बताए।