बालकृष्ण श्रेष्ठ “पासा”
‘आयो दशैं ढोल बजाइ,
गयो दशैं ऋण बोकाइ,’
भन्थे पूर्वजहरू,
‘ल्याउनु खर्च जसरी पनि,
रमाइलो हुनेछ दशैं अनि,’
भन्छन् वर्तमानेहरू !
दशैं मौलिकता हो,
परम्परा अनि संस्कृति,
खर्च अधिकतम् स्वाङ् हो या विकृति,
कठिन छ ठम्याउन,
सूक्ष्म कण्ठले निल्न गाह्रो हड्डी,
गृहिणीको भूमिका प्रतिस्पर्धाको कबड्डी !
उप्m ! यो दशैं,
अबुझ किन हो हे नेपाली जनमानस,
दशैं चलाएको मान्छेले हो,
मान्छेलाई चलाउँदैन दशैंले,
हिजोआजका कुखुरेहरू,
के भा‘का हुन् कुन्नि,
खै, देखिन्न कतै दशैंले यसो भनेको छ है भनेर,
देखासिकी गर,
आडम्बरी बन,
प्रतिस्पर्धामा उत्र,
सग्लो वस्त्रमा छिद्र पार,
सभ्यतालाई दरिद्र बना,
अनि ऋणि बाउको क्षमता सुना !
दशैं,
दशमीको महत्व हो,
परम्पराको द्योतक हो,
संस्कृतिको परिभाषा हो,
नेपाली मनको अभिलाषा हो ।
खै, बुझ्ने कसले ?
बलि नदिए देवी क्रुद्ध हुने रे,
फजूल खर्च नगरे अशुद्ध हुने रे,
पेट कसेरै नयाँपन देखाउनै पर्ने,
कलेजो आफ्नो चिरा पार्दै,
भुटन, छ्वेला र साँप्रा टोकाउनै पर्ने,
धर्ती लिलाम गर्दै प्रतिष्ठा जोगाउनै पर्ने ।
महँगाइको खाना हसुरेर नि जस छैन,
‘कस्तो छिप्पेको बोको हो यो ?,
एक चिम्टी स्वाद छैन हो,
धङ्धङ्ती गन्हाउने मात्र,
दिमाग भनेको छैन रत्ति एक छैन,’
न आशिक हो न सान्त्वना,
न सहानुभूति न कामना ।
गृहिणी गर्ने पराइ घरकै प्रशंसा,
छोराछोरीको ‘वानपिस’को अभिलाषा,
के थाहा र ती आडम्बरी फूईंले,
हुनेछ भोलि वनवास ।
