Search

ऐतिहासिक नगरी दोलखामा मनाइने खड्ग जात्रा (एकादशी)

ऐतिहासिक नगरी दोलखामा मनाइने खड्ग जात्रा (एकादशी)

तिर्थनारायण जोशी
भीमेश्वर नगरपालिका– २, ड्वाकुलङा, दोलखा ।

बडा दशैँको एघारौँ दिन एकादशीको विहान मिरमिरेमा नै कोर्छेँ टोलबाट देशमा नै नभएको बाजा (विशेष किसिमको घुन) बजाएर दोलखाका पौराणिक बाजा समुहका कालाकर्मीहरु माथिल्लो विहार्छे, तल्लो विहार्छे, डाँडाथोकमा खड्ग धारीलाई लिन आउँछन् । सोहि क्रममा माथिल्लो विहारछेँका पालो पर्ने खड्गधारी (खाँरो) खलकले दोलखाका पौराणिक बाजा समुहका कालाकर्मीहरुलाई भोज खुवाउनु पर्छ, भोज खाई सकेपछि बाजागाजा सहित खाँडोलाई लिएर थाँत विहारछेँ बाट एक जना, कोत विहारछेँबाट एक जना, डाडाँथोक बाट एक जना गरी ३ जना पगरी बाँधेका, लवेधा, जामा पटुका लगाएका, जमारा फूलको मालाले सिङ्गारिएर बाहिर आउँछन् ।

यसलाई मैहिषासुर वद गर्न राजाले आफ्नो चेलीबेटी समेतलाई लिन पठाएको भन्ने प्रशंग छ । बाजागाजा सहित पुनः कोर्छेँ टोल फर्केर कुल्याण भित्र पस्छन् । त्यहाँबाट राजा, राजाका दुईतिर बस्ने दुई जना, भगवती र माथीबाट आएका तीन जना गरी ७ जना बाहिर निस्कन्छन् । यिनीहरु यहाँबाट राजकुलेश्वर जान्छन् । राजकुलेश्वर भित्र पूजा विधि सिध्याएर सर्वप्रथम बलि बोक्ने, निस्कन्छ । त्यसपछि क्रमश भगवती, राजा र राजाका दुई तिर बस्ने ३ जना, विहार्छेका ३ जना पालैपालो बाहिर निस्कन्छन् । उनीहरुको हातमा खड्ग हुन्छ ।

भगवतीको एक हातमा ढाल र अर्को हातमा बन्चरो जस्तो हतियार बोकेको हुन्छ । बली बोक्नेले बली बोकेर आएको हुन्छ । उक्त बलीमा राक्षसको मुख लेखेको कागज मुकुण्डोमा आन्द्राको माला लगाई राखेको हुन्छ । अन्तिममा राजकुलेश्वरबाट याकरगण (सेना नायक) बाहिर निस्कन्छ । पालैपालो नाच्दै–नाच्दै नक्छेँ, श्यामसुन्दर, टसिचा टोल पुग्छन् । यस समयमा अधि राजाको दुवैतिर वस्नेहरु अब याकरगणको दुवै तिर वसेका हुन्छन् । टसिचा पुगेर केही समय तल हेरेर याकरगण सहित ३ जना नाच्दै–नाच्दै पिङ्गल जाने बाटो हुँदै पिङ्गल जान्छन् ।

टसिचामा बस्नेहरु त्यही नाचेर बसेका हुन्छन् । याकरगण सहित तीन जना कुमारी घर पिङ्गल पुगेर विधी विधान पश्चात त्यही बाटोबाट टसिचा फर्कन्छन् । पिङ्गलबाट ३ जनाको समूह गम्भिर खड्ग बोकेर राजकुलको बाटो हुँदै टसिचा आइपुग्छ । टासिचाबाट उनीहरुलाई अघि लगाउँदै बाल मन्दिरको गेट अगाडी दोबाटो (काँसिवाङ ठाँई) पुगेर गम्बिर खड्गको समूहमा आउने एकजनाले माटोको भाँडोमा राक्षसको मुकुण्डो बोकेर आएको हुन्छ र नाच्ने क्रम जारी रहन्छ । त्यसपछि त्यस राक्षसलाई याकरगण सहित सबै खड्ग धारीहरुले मिलेर बद गर्ने अभिनयमा नाच्छन् ।

यहाँबाट नाच्दै नाच्दै माथिल्लो टोल, लिस्टोल, भीमसेन डवली, हुँदै भीमेश्वर मन्दिर पुग्छन् । त्यहाँ चारैतिर हेरेर नाचीसकेपछि अघिल्लो दिन भिमेश्वर मन्दिरमा बली दिई सकेको तीन वटा राँगोको शरिरलाई खड्गले काटेको अभिनय गरी सबै देवीकोट तिर लाग्दछन् । देवीकोटमा यस दिन ठूलो जात्रा नै हुन्छ । श्री त्रिपुरासुन्दरीमा जात्रा हेर्न आउँनेहरु भीडम भीड हुन्छन् । याकरगण सहितका केही खड्गधारीहरु देवीकोट मन्दिर भित्र पस्दछन् ।

केही खड्ग धारीहरु बाहिर आँगनमा नाची रहेको हुन्छन् । भित्र विधी विधान पूर्वक पूजा सिध्याएपछि सर्वप्रथम दुईजना हिफाथामीहरुले माटोको भाँडोमो दुईवटा राक्षसको मुकुण्डोे र दुईजना हिफाथामीहरुले दुई वटा राँगोको टाउकोे बोकेर निस्कन्छन् । (तर अहिले हिफाथामी नआएका कारण स्थानीय युवाहरुले बली, टाउको बोकेर हिड्ने गरेका छन् । देवीकोटबाट त्यो बली र टाउको ननिकाले सम्म बटिङखाँडो र अन्य खाँडोहरु निकाल्नु हँदैन) यसपछि पुजारी र दायाँ–बायाँ बस्ने दुई जना निस्कन्छन् । पुजारी बाहिर निस्कने बेलामा चामलले चारैतिर छर्केर मात्र निस्कन्छ । त्यहाँपछि लिस्टोल, लिखन्छे टोल, पालाचुटीको तीन जना खड्ग धारीहरु निस्कन्छन् ।

अन्तिममा बटुक भैरव, याकरगण, याकरगणको दायाँबायाँ बस्ने चार जना निस्कन्छन् । बटिङ्खारा लामो खड्ग बोकेर पगरी बाँधी, आन्द्राको माला लगाई पाइँट जस्तो पुरानो पोशक लगाई बटिङ्खारा निस्केको हुन्छ । त्यसपछि नाच्दै दुङ्गलबाट नाटेश्वर तिर लाग्दछन् । नाटेश्वरमा भजन समूह भजन गर्न ठिक परेर बसेको हुन्छ । भगवती, राजा, पिङ्गलको गम्भिर खड्ग खलक, भजनको तालमा नाचेर हिड्छन् । भने बटिङ्खारा, याकरगण, याकरगणको दुईतिरको गरी चार जना कसाही कुसुले बाजामा पछाडी पछाडी युद्धको अभिनयमा नाच्दै–नाच्दै आईरहेको हुन्छ ।

अब जात्रा दुई समूहमा विभाजित हुन्छ । अगाडी अगाडी भजन र पछाडी पछाडी कसाही कुसुले बाजामा नाच्दै हिडेको हुन्छ । त्यसपछि सबैभन्दा अगाडि ध्वजा बोक्नेहरु हुन्छन् । ध्वजा खड्ग धारीहरुको समूह अनुसार फरक फरक हुन्छ । शिवभक्तीहरुले मुसेल बालेर पिङ्गल हुँदै बहिर टोलको डवली (चक्र) मा आईपुग्छन् । बहिर टोलको डबली (चक्र) मा याकरगण, बटिङ्खारा सहित चार जना डवली (चक्र) माथी गएर चारतिर फर्कदै नाचिरहेको हुन्छ भने तलतिर आँगनमा भजनको तालमा खड्ग धारीहरु नाची रहेको हुन्छ ।

यस दिनेको भजन विशेष रोचक माल श्री रागमा गाईएको हुन्छ । चक्रमा चारैतिर हेरेर युद्धको अभिनयमा नाची सकेपछि खड्गले अधिल्लो दिन काटी राखेको राँगोलाई चारै जनाले क्रमैसँग पालै–पालो खड्गले काटी मारेको अभिनय गर्दछन् । त्यसपछि पालै–पालो गरी तल आँगनमा हाम्फाल्छन् । हाम्फाल्ने क्रममा पहिला बाँया बस्ने, त्यसपछि दाँया बस्ने, क्रमशः याकरगण, अन्तिममा बटिङ्खारा हाम्फाल्छ । यसपछि बाजागाजा सहित खिङलचा भन्ने ठाउँ तिर लाग्दछन् । उक्त ठाउँमा राँगोको दुईवटा टाउको र बली बोकेर आएको बलीहरु राखिएको हुन्छ । त्यसपछि सबै खड्ग धारीहरुले महासंग्राम युद्धको अभिनय गरी क्रमशः पालै–पालो टाउकोलाई खड्गले काटे पछि बाजा फेरिन्छ ।

अबको बाजा विजयको बाजा हुन्छ । सबै खड्ग धारीहरु अब क्रमशः लाइन बद्ध भएर दुङ्गल टोलतिर जान्छन् । दुङ्गल टोलको स्वयम्वु चैत्य पछाडी पुगेपछि देवीकोटबाट निस्कने समूह र राजकुलेश्वर, पिङ्गलबाट निस्कने समूह दुई समूहमा दुइ तिर लाइनमा बस्छन् । विशेष रुपमा विदाईको अभिवादन (लशखश) गर्दछन् । आखाँको इसाराले विदाई माग्दछन । अब देवीकोटबाट आएको खड्ग धारीहरु देवीकोट तिर भजन टोलीको आधा हिस्सा लिएर जान्छन् भने अरु सबै फेरी राजकुलेश्वर तिर फर्कन्छन् । पिङ्गल टोल आइपुेपछि एउटा सहनाइ मात्र त्यहाँ बजाइ राखेको हुन्छ । अरु सबै बाजागाजा भजन टोली सहित राजकुलेश्वर फर्कन्छन् ।

राजकुलेश्वरमा अगाडी बाटोमा कलस, पाथी, ताला पूजा सामाग्री तयार पारेर ठिक गरी राखेको हुन्छ । खड्ग धारीहरु आइपुगे पछि सबभन्दा पहिला मन्साइ पन्छाइ सकेपछि परसारी राखेको कुभीण्डो काट्न लाइन बद्ध रुपले अगाडी जान्छन् । सबभन्दा पहिला भगवतीले त्यसपछि क्रमशः अरुले काट्न थाल्छन् । उक्त कुभिण्डो औषधीको रुपमा प्रयोग हुने भएकोले खड्गधारीहरुको काटेको कुभिण्डो लुटालुट गरेर लिने चलन छ । कुभिण्डो काटी सकेपछि खड्ग धारीहरु राजकुलेश्वर भित्र पसेर खड्ग थन्कयाउछन् ।

यही रुपबाट देवीकोट र पिङ्गलमा पनि खड्ग धारीहरुलाई भित्र्याउने बेलामा कुभिण्डो काट्न लगाउने चलन छ । त्यसपछि खडग धारीहरु आ–आफ्नो कुल्याणमा जान्छन् भने माथिल्लो विहार्छेँ, तल्लो विहार्छेँ, डाँडाथोकबाट आएका खड्ग धारीहरुलाई पु¥याइ सकेर बाजा बजाउने, भजन गाँउनेहरुलाई पालो पर्ने खड्ग धारीबाट भोज खुवाउने चलन छ । त्यसै दिन राती सबैको कुल्याणबाट करक (पूजा सिध्याएको सबै थोक तथा शिर लिएको) फाल्ने चलन छ ।

उक्त करक फाल्दा खेरी कसैले हेर्न हुदैन भन्ने चलन हालसम्म छ । यसरी खड्ग जात्रा सम्पन्न हुन्छ । करिब विहन ६ बजे देखि वेलुका १०/११ बजे सम्म प्रत्येकको कुल्याणहरुमा पूजा हुने र पूजा विसर्जन गरिन्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!