बाँपीझ्याल, काठमाण्डौं । प्राचिन शहर दोलखामा वडा दशैँको आठौँ दिन महाअष्टमी सम्पन्न भएको छ । आठौं दिन महाअष्टमीलाई दोलखा नेवारी भाषामा नखत भन्ने गरिन्छ । विहान सबेरै काग उठ्नु भन्दा अगाडी नै राइतीमा ब्राह्मण, देवीकोटको पुजारी, देवीकोटका गुठीयार खलक, बटीङखाडो, डमरु, लगायत दोलखा भित्रका सम्पूर्ण कुल्याणका थाकतीहरु बाजागाजा सहित जम्मा हुन्छन् ।
कन्यकेटा (जन्मेर न्वारन गरेपछि व्रतवन्ध नगरेसम्मको बालक) लाई सिङ्गार पटार गरेर ल्याई देवीकोटका पुजारी, गुठीया र ब्राह्मणबाट तान्त्रिक विधिबाट राइतीको धारामाथी विशेष पूजा आजा गरिसकेपछि कन्यकेटालाई एक तिर देवीकोटको पुजारी र गुठीयार, बटीङखाडो, डमरुले अर्कोतिे समातेर चोखो पानी थाप्न लगाउछन् ।
त्यस पछि दोलखा शहरको सम्पूर्ण कुल्याणका थाकतीहरुले विधि पूर्वक चोखोपानी थापेर सबै आ–आफ्नो कुल्याणमा फर्कन्छन् भने देवीकोटको पुजारी, गुठीयार, बटिङ्खाडो र डमरुले कन्यकेटालाई दुवैतिर समातेर गणेश मन्दिरमा पूजा गरि बाजागाजा सहित देवीकोटमा जान्छन् ।
त्यसै दिन दिउसो गुठीकालागि भेड्पुबाट ल्याएको राँगोहरुलाई टसिचा टोलको डवलीमा राखेर जतातिर हिँडछ राँगोलाई चिन्ह लगाएर त्यतैको देवतालाई छुट्याई लाने चलन रहेकोमा भेड्पु गुठी जग्गाबाट गुठीकालागि आउनु पर्ने सामाग्रीहरु नआए पछि स्थानिय तथा भीमेश्वर मन्दिरबाटै आवश्यक गुठीका सामाग्रीहरु व्यवस्थापन गरि गुठी सञ्चालन हुँदै आइरहेको छ ।
बेलुकी बाजागाजा सहित पु्जा सामान सहित राजकुलबाट भीमेश्वरमा निमन्त्रणा जाने गर्दछन् । निमन्त्रणाबाट फर्केर पुनः राजकुलेश्वर फर्केर विधि विधान पूर्वक पूजाआजा गरिन्छ । यसै दिन दोलखाको सम्पूर्ण देवदेवतालाई पूजा सामान बलि चढाउन बोका, नैवेद्य चिउरा, चामल, तेल, कपडा, आवश्यक सामाग्री सम्बन्धित पुजारीहरुलाई गुठीयारले दिने गर्दछन् भनी भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।
यसै गरी यस दिन स्थानिय नेवारहरुले आ–आफ्नो कुल्याणमा सगुनुसहित (थापन) चढाउने गर्दछन् । त्यसपछि मात्र खाने गर्दछ । यसै दिन टाडा–टाडाबाट आउने भक्तजनहरुले भीमेश्वर मन्दिरमा बलीपूजा गर्ने प्रचलन रहेको समेत वहाँले बताउनु भयो ।
फोटो : सनिल आचाजु