Search

गोरखापत्रले बेवास्ता गरेको खण्डन…..

गोरखापत्रले बेवास्ता गरेको खण्डन…..

गोरखापत्र जस्तो राष्ट्रिय स्तरको पत्रिकाले पनि कुनै कुनै लेख स्तम्भहरू बिना सम्पादन छाप्ने गरेको पाइनु दुःखद कुरा हो । अहिले त झन् प्रविधिको जमाना छ । पहिले जस्तो कागजमा लेखिएको लेखहरूलाई घोत्लिएर, नियालेर शब्द, शब्दवर्ण, वर्ण विन्यास, काल, वचन, शुद्धाशुद्धि आदि हेरेर सम्पादन गर्नुपथ्र्यो र अनि मात्र छापाखानामा पठाएर प्रिन्ट गराइन्थ्यो । अहिले त्यस्तो छैन फन्ट वर्डमा आएका लेखलाई सर्सर्ती हेरेर टाइपबाटै मिलाउन सकिने जमाना छ । यस्तो बेलामा पनि सही सत्य यथार्थ कुरा सच्याउन अनुरोध गर्दा पनि बेवास्ता गरिएकोले सोही सम्पादकलाई लेखिएको सुझाव सन्देश यो बाँपिझ्याला डटकममा पठाएको छु ।

सम्पादकज्यू,
१२३ वर्षको इतिहास बोकेको ‘हाम्रो गौरव राष्ट्र’को विशेषण प्राप्त प्रतिष्ठित दैनिक ‘गोरखापत्र’मा सम्पादन त्रुटि निश्चय पनि खट्कन्छ । हरेक बुधबार गोरखापत्रको सामान्य ज्ञान मात्र होइन, अरू बेलाका विवरण पनि सत्यतथ्य हुनु जरुरी छ । भदौ ३१ को गोरखापत्रको पहिलो पृष्ठको समाचार ‘बटुवा डराउने टुनिबोटमा अस्पतालमा’ खड्गशमशेरलाई श्री ३ महाराज भनिएको छ ।

जब कि सम्वत् १९४२ मा श्री ३ रणोद्दिप सिंलाई मारेर वीरशमशेरले शासन हत्याएपछि रोलक्रममा दोस्रो जंगीलाठ खड्गशमशेरलाई बनाए पनि वीरशमशेर खड्ग शमशेरबाट संत्रस्त भई वीरशमशेरले उनलाई रोलक्रमबाट हटाई पाल्पाको हाकिम बनाई पठाई देव शमशेरलाई जंगीलाठ बनाए । खड्गशमशेर श्री ३ हुनै पाएनन् ।

यद्यपि समाचारमा भनिए भैंm कुष्ठरोगी एकत्रित गरी उपचार गर्न (?), आफ्नो रानीको स्मृतिमा कालीगण्डकी किनारमा ‘रानी दरबार’ बनाएको र जर्मन विशेषज्ञ डा. फ्यूहरेरको सहयोगमा लुम्बिनीमा उत्खनन गरी अशोक स्तम्भ पुनस्र्थापित गरेको श्रेय उनलाई जान्छ । वीरशमशेरको मृत्युपछि देवशमशेर श्री ३ महाराज र प्रधानमन्त्री भए तर उनी पनि ६ महिना मै बलात् लखेटिई चन्द्रशमशेर श्री ३ र प्रधानमन्त्री भए ।

शमशेर भन्दैमा सबै श्री ३ महाराज र प्रधामन्त्री हुँदैनन् । हो, राणाशासनको सूत्रपात जंगबहादुरले गरेकोले वीरशमशेरले जंग खलकलाई सिध्याई सत्ता हत्याए पनि जंगबहादुरकै सन्तति हुन् भन्ने देखाउन नाम पछि ज.ब.रा.को पुच्छर जोड्ने चलाकी गरे । यो क्रम अद्यावधि छ । उदाहरणार्थ माननीय पशुपतिशमशेर (ज.ब.रा.) । २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि नाट्य सम्राट बालकृष्ण शमशेरले मात्र ‘सम’ चलाए ।

अचेल इमेलबाट समाचार लेख पठाइने हुँदा सम्पादकहरू सामान्यतः पढ्ने दुःख नगरी छाप्न पठाउने चलन छ, जसबाट अनेक भ्रमहरू जस्तो कि जनमत संग्रह २०३७ मा सम्पन्न भएपनि २०३६ नै ठहर गरिन्छ । एक वर्ष अघि गो.प.को शनिवारीयमा एउटा यस्तो रचना (अमेरिकाको) पढियो जसमा त्यहाँ नेपाल जस्तो लोड सेडिङ नहुने, पानी २४ सै घण्टा उपलब्ध हुने, सफासुग्घर घर आँगन हुने, इत्यादि छापिएको थियो ।

यसरी राष्ट्रिय पत्रिकामा स्वदेश खत्तम विदेश हाइहाइ छापिनु कत्तिको उपयुक्त हुन्छ ? अमेरिकामा पनि दिनदहाडै गोलीकाण्ड हुन्छ नै । लामो किन लेखुँ, सम्पादनमा सजगता अपनाउन सविनीत आग्रह गर्दछु ।
अमरकुमार प्रधान
भीमेश्वर नगरपालीका वडा नं. २, हाल ल.मा.न.पा.झम्सीखेल –३, ललितपुर ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!