बाँपीझ्याला, काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यसपालिको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए । ‘दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक-दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ,’ उनले भने ।
महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुईस्थानमा मेघगर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।