बाँपीझ्याला, काठमाण्डौं । फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध अग्रता लिएको छ । लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे । यसअघि पहिलो हाफमा दुवै टोलीबाट केही गोलका अवसर सिर्जना भए पनि फिनिसिङ हुन सकेको थिएन ।
नेपालका उत्सव राईले अन्जन विष्टको क्रसमा पेनाल्टी बक्सबाट गरेको हेडर क्रस बारमाथिबाट बाहिरिएको थियो । यस्तै लाओसका मिकाइल भाङको प्रहार नेपालका गोलकिपर किरणकुमार लिम्बुले बचाएका थिए भने चोनी वेनपासेरथले पेनाल्टी बक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।
नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसैले नेपालले यो अग्रता जोगाउन सके २-१ को नतिजामा विजयी हुँदै दोस्रो चरणमा पुग्नेछ ।
मनिषले लाओस विरुद्ध गरेको यो दोस्रो गोल हो । गत चैतमा भएको थ्री नेसन्स कपको फाइनलमा पनि लाओस विरुद्ध गोल गरेका थिए । तर त्यो खेल फिफा विन्डो भन्दा बाहिरको भएकोले आधिकारिक मान्यता भने पाएको थिएन ।