बाँपीझ्याला, दोलखा । हिन्दू धर्मालम्बीहरूको महान पर्व दसैं आजबाट नवदुर्गा भवानी अनि विभिन्न देवी देवालय, मठ मन्दिर घटस्थापना गर्दै दसैंको प्रारम्भ गरिंदैछ । कर्णप्रिय मालश्री बाजाको धुन संगै गंगा नदि, ढुंगेधारा, तलाउबाट पवित्र जल घट, गाग्री, करुवामा भरेर भगवती मन्दिरमा पू¥याएर स्थापना गरी कुल देवतालाई आराधना गर्दै जमरा राख्ने चलन छ ।
प्राचीन शहर दोलखामा नारायणचा टोलको गणेश मन्दिरबाट प्रारम्भ गरी त्रिपुरासुन्दरी देवी (द्यक्वार), राजकुलेश्वर तलेजु भवानी मन्दिर, भीमेश्वर मन्दिर लगायत दोलखावासीको आ–आफ्ना सबै कुल कुुल्यानमा भगवतीको मूर्ति समीपमा चोखो र शुद्ध वालुवा राखेर जौ छर्केर जमरा राख्ने परम्परा छ ।
दोलखाको ऐतिहासिक पँधेरो तीनधारा राइतीमा आजको दिनमा स्थानीय पण्डितको उपस्थितिमा विभिन्न कुल देव खलकका पूजारी, गुठियार र स्थानीय भद्रभलाद्मीहरूको जमघटमा जल थापेर लाने प्रचलन छ । यसबेला स्थानीय पण्डितहरूबाट नवदूर्गा मन्त्र उच्चारण सहित बगिरहेको धाराको पानीमा पूmल अक्षता अर्पण गरेपछि चोखो पानी थाप्ने चलन छ । यो दिन त्रिपुरासुन्दरी, तलेजु भवानी र भीमेश्वर मन्दिरको मूल पूजारी र थाकती (कुल मन्दिरको मूल व्यक्ति)हरूले जल घडामा भरेपछि अन्य उपस्थितजनले भर्ने परम्परा छ ।
यसबेला स्थानीय खड्गी र कपाली समुदायले मालश्रीको मौलिक धूनमा बाजा बजाउँदै सबै देवी देवताको मन्दिर र कुल देवीथानमा जल पुर्याइन्छ । आजबाट शुरु हुने नवरात्री दोलखाको परम्पराको स्थापित द्योतकको रूपमा मानिन्छ । विशेषगरी दोलखाको इतिहासमा दसैं बारेमा विभिन्न किंवदन्ती रहँदै आएको पाइन्छ ।
महिषासुर वध, किचक वध, दैत्य संहारको सन्दर्भमा दसैंलाई विजयोत्सवको रूपमा मानिंदै आएको कुरा संस्कृतिप्रेमी जेष्ठ नागरिक यज्ञकुमार प्रधानद्वारा लिखित ‘दोलखाको साँस्कृतिक सम्पदा’ नामक पुस्तकमा विस्तृत वर्णन सहित लेखिएको छ । त्यस्तै साहित्यकार अमरकुमार प्रधान, तीर्थ नारायण जोशीले पनि दोलखाको विभिन्न जात्रा पर्वको बारेमा लेखि सम्प्रेषण गरिसकेकाले यहाँ राख्न उचित ठानिएन ।
दोलखामा दसैंको शुरुआत त भयो तर पहलिेको जस्तो आफ्नो ठाउँ फर्केर रमझम तामझाम गर्नेहरूको कमिले गर्दा केही उदासीनता छाएको देखिन्छ । यस्तो बेलामा कमसेकम उपत्यका लगायत अन्यत्र बस्नु हुने दाजुभाई, दिदीबहीनी गएर परम्परालाई उत्साहमय बनाउने बारेमा चिन्तन मनन गरेर दोलखा गएर सामाजिक समन्वयपन देखाउन सके दोलखा मनोरम हुने निश्चीत छ यस बारेमा हामी सवैले सहयोग गरी सद्भाव कायम गरौं ।