Search

दोलखामा अनुसन्धानको क्रममा थप तिनकिलो सुन बरामद

दोलखामा अनुसन्धानको क्रममा थप तिनकिलो सुन बरामद

बाँपीझ्याला, दोलखा । दोलखाको विगु–३ जामुनेस्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङको कोठामा खानतलासी गर्दा थप तीन केजी सुन भेटिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक खड्काले बताउनुभयो ।

बुधवार राति विशेष सुराकीको आधारमा जामुनेस्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङको कोठामा खानतलासी गर्दा चार केजी सुन भेटिएको थियो । सुन बरामद भएपछि विगु–१ लामाबगरका १९ वर्षका पेम्बा तामाङ, २८ वर्षका केशर तामाङ र २० वर्षका माधव मगरलाई पक्राउ गरिएको थियो । त्यसैगरी बिहीबार चरिकोटस्थित शुभकामना होटलबाट विगु गाउँपालिका–१ कै ५५ वर्षका नुर्वुछिरीङ शेर्पा र ३० वर्षका सुनमाला तामाङलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका केशर तामाङको बयानको आधारमा उनको अर्को कोठामा खानतलासी गर्दा थप तीन केजी सुन बरामद भएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

सुन तस्करीको आशङ्कामै शुक्रवार विगु–१ लामाबगरका राज तामाङलाई काठमाडौँबाट पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

नियन्त्रणमा लिइएको पाँच जनालाई भन्सार ऐन २०६४ तथा सङ्गठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा अदालतबाट म्याद लिई थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेकाहरूलाई चिनियाँ नागरिकले नै सुन पठाएको हुनसक्ने खड्काको भनाई छ । यसबारे थप अनुसन्धान पछि भन्न सकिने उहाँले बताउनु भयो ।

‘चीनसँगको नाका खुलेको छैन’
गत आइतबार चीनसँग सीमा जोडिएका दोलखाको दुई वटा नाका खुलेको र त्यस लगतै सुन तस्करी भएको खबर मिडियामा आएको तर त्यसमा सत्यता नरहेको दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताउनुभयो ।

चीन सरकारले नेपालको १४ वटा नाका खोल्ने नीतिगत निर्णय गरेको र त्यसमा दोलखाको फलाक हुँदै जाने रोङसिया र क्वादम नाका समेत रहेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो । नीतिगत निर्णय भए पनि त्यसको प्रक्रियाको बारेमा छलफल भइरहेकाले नाका खुलिनसकेको प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिनुभयो ।

लामाबगर क्षेत्रबाट सुन तस्करी भएकोले स्थानीय प्रशासन यसमा सर्तक रहेको र फलाक तथा लप्ची नाका तत्काल खोल्नेबारे चीन सरकारसँग छलफल भइरहेको धमलाले बताउनुभयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!