Search

जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन ओसारपसारमा संलग्न रहेको आशङ्कामा तीन जनाको विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन ओसारपसारमा संलग्न रहेको आशङ्कामा तीन जनाको विवरण सार्वजनिक

बाँपीझ्याला, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन ओसारपसारमा संलग्न रहेको आशङ्कामा बुधवार राति पक्राउ गरेको तीन जनाको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका शङ्कास्पद व्यक्तिहरुमा दोलखा विगु गाउँपालिका वडा नम्बर ३ का १८ वर्षको पेम्बा तमाङ, २८ वर्षको केशर तमाङ र २० वर्षको माधव मगर रहेका छन् ।

उनीहरुलाई विगु गाउँपालिका वडा नम्बर १ लामाबगरको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए ।

सुन ल्याएको सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाको कमान्डमा खटिएका १० जनाको प्रहरी टोलीले खोजतलास गर्दा विगु गाउँपालिका वडा नम्बर ३ जामुनेको सिता तमाङको घरमा लुकाई राखेको ठाउँबाट बुधवार राति चार केजी सुन बरामद गरेको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए ।

उक्त सुन लामाबगरको फलाक नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरीले जनाएको छ । चीन सरकारले आईतवारमात्र तिब्बतसंग सिमा जोडिएको दोलखाको दुईवटा नाका रोङसिया र क्वादम खुला गरेको थियो ।

सुन भित्रदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्का बुधवार राति आफै सिंगटी पुग्नु भएको थियो । सुन तस्करीमा थप मानिसको समेत संलग्नता रहेको हुनसक्ने भएकोले प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमान्डमा खटिएको १० जनाको प्रहरी टोलिले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तिब्बतको फलाक नाकाबाट १२/१५ केजी सुन भित्रिएको आशंका गरिएको छ । सुनसहित अन्य केही व्यक्ति फरार रहेको आशङ्कामा प्रहरीले अनुसन्धान तथा खोजिकार्य जारी राखेको बताइएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!