Search

अवदेखी दोलखा भीमेश्वर (भीमसेन) को नाममा कुनै पशुपंक्षी ज्यूँदै छाड्न प्रतिबन्ध

अवदेखी दोलखा भीमेश्वर (भीमसेन) को नाममा कुनै पशुपंक्षी ज्यूँदै छाड्न प्रतिबन्ध

२०८० भदौ ३१ गते सरीता केसी केसी नामको फेसबुक आइडीले नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित भएको जस्तोे, कान्तिपुर दैनिकमा प्रकाशित भएको जस्तो बनाएर फेसबुक पेजको आधारमा आफ्नो तस्बिर समेत नराखी दोलखा भीमेश्वर मन्दिरमा रहेका स्वयंसेवक तथा भीमेश्वर पूजा तथा व्यवस्थापन समितिका कर्मचारीहरुले आगन्तुक भक्तजनमाथि अभद्र, अशीष्ट र अनैतिक व्यवहार गरेर भक्तजनहरूको अपमान गरेकोमा सबैको ध्यानाकर्षण भनेर सम्प्रेषण गरिएको समाचार सामाजिक सञ्जालमा प्रकाशनमा आएको छ । जुन समाचारले दोलखावासीको मनमा आघात पारेको छ ।

भीमेश्वरमा आउने भक्तजनप्रतिको तीक्तता बनाउन उत्प्रेरित गर्ने खालका अभिव्यक्ति दिने सरीता केसी नामको फेसबुक परिचयपत्रको व्यवहारले दोलखाको अस्तित्वमाथि धावा बोलेको देखियो र हामीले तुरुन्तै उनको प्रोफाइललाई मध्यनजर राखेर खोजतलास गर्दै जाँदा उनका श्रीमान सहित नै पत्तो पाइयो ।

उनीहरू दुवैजना दोलखा भीमेश्वर दर्शन गर्न पुगेका रहेछन् । त्यहाँ गएर पशु बली नदिइ ज्यूँदै अर्पण गरेर फर्किने सोचमा पुगेका उनीहरू माथि समितिका केही कर्मचारी र तस्बिर खिँच्ने युवकले अभद्र व्यवहार गरेको भन्ने व्यहोरा सहित सरीता केसी नामको आइडी प्रोफाइलमा देखाइएको विवरण अनुसार सोधखोज गर्दै जाँदा उनी काभ्रे जिल्लाको चौंरी देउरालीतिरका नागरिक हुन् भन्ने पत्तो पाइयो । उनका श्रीमान जनक चौलागाइ हुन् ।

हाल बनेपा नगरपालिकाको वडा नं. ५ मा फर्निचर कारखाना सञ्चालन गरिहरहेका दम्पत्तिले हामीलाई बताए अनुसार सैद्धान्तिक हिसाबले धर्मप्रति बैचारिक सद्भाव त्यत्ति नजिकै नभए पनि दोलखाको भीमेश्वर भीमसेन कल्याणकारी, हितकारी साक्षात देवता भएको र उनको नाम मात्र मनमा लिंदा पनि आपूmले आँटेको कार्यसिद्ध हुँदै आएकोले मनैदेखि श्रद्धाभाव राखी भाकल गरेको प्राणी बोकालाई प्राणदण्ड नदिइकन भगवानकै शरणमा विचरण गरेर जूनी बितावस् भन्ने अभिप्रायले चढाउन गएका थियौँ । तर दोलखा भीमेश्वर मन्दिरमा पुग्दा त्यहाँ रहेका केही स्थानीयहरूको गतिविधिले मनैदेखि दोलखा जाने बाटो थुनिएको आभास मिलेको गुनासो व्यक्त गरे ।

सरीता केसीका पति चौलागाईको भनाइलाई गहिरिएर हेर्दा सामान्य संवादले नै सहमति हुने कुरालाई अति तुच्छ शब्दले ठाडै ‘लौ त्यहाँ उभिउ, मोबाइल नम्बर दिनु, हामी फोटो लिन्छौँ, अनि पुलिस चौकी जानु, यहाँ बोका छोड्न पाइँदैन..’ जस्तो हप्कीधप्कीपूर्ण वाक्यले साह्रै नमज्जा लागेको बताउँछन् । यदि मन्दिर सञ्चालन र व्यवस्थापनको नियममा कुनै पनि पशुपंक्षीलाई ज्यूँदै चढाउने नियम छैन र प्रतिबन्ध नै लगाएको हो भने यस्तो प्रविधिको युगमा सामाजिक सञ्जाल या सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गरेको भएपनि हुन्थ्यो, अर्थात् ठाउँठाउँमा सूचना बोर्ड राखे पनि हुन्थ्यो भन्ने बताए ।

उनीद्वारा उल्लेखित फेसबुक वालमा लेखिएको यो पोष्टको अभिव्यक्ति पढेर यसको जवाफ भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले तत्कालै त्यो अवस्थाको वास्तविकता उजागर गरेर निराकरण गर्नैपर्छ । दोलखाको गरिमा बोकेर स्थायित्व दिएर रहेको भीमेश्वर मन्दिरमा बारम्बार यस्तो खालको टिका टिप्पणी र सन्देशले दोलखालाई निरीह बनाउन खोजिरहेको पाइन्छ । आँखिर किन भैरहेको छ त यस्तो गतिविधि ?

यसै सन्दर्भमा हामीले भीमेश्वर मन्दिर पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठलाई हाम्रा सह–सम्पादक बालकृष्ण श्रेष्ठले मोबाइलबाटै सम्पर्क गरेर जानकारी लिन खोज्दा उनले यसरी भनेका छन्,–
“दोलखाको भीमेश्वर मन्दिरमा यस्तो खालको अप्रत्याशित घटना भएको कुरा हामीलाई कुनै जानकारी नै नभैकन एकैपटक सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सम्प्रेषण भएको छ भन्ने कुरा कालिन्चोक युवा क्लवका कोषाध्यक्ष शान्त श्रेष्ठले मेरो मोबाइलमा कल गरेर भन्दा मात्र थाहा पाएको हुँ । त्यो भन्दा अगाडि कतैबाट खबर आएको थिएन । त्यसपछि के भएको रहेको छ भनी बुझ्दा हाम्रो भीमेश्वर प्रति आस्था राख्ने केही भक्तजनले बोका भाकल गरेर आएको र सो बोकालाई बलि नदिइकन ज्यूँदै अर्पण गर्ने अर्थात् सामान्य भाषामा साँढे छोडिने मनशायले लिएर आएको रहेछ । अनि हाम्रा व्यवस्थापनका कर्मचारी र त्यहाँ रहेका एकदुई जना भाइहरूले भीमेश्वरको गुठीको नियम र परम्परा अनुसार पशुपंक्षी विशेष गरी, राँगा, बोका, कुखुराको भाले परेवालाई देउतालाई अर्पण गरेको हिसाबले छाड्न नमिल्ने र यस्तो कार्य गर्ने नियम नै नभएकोले रोकावटको सिलसिलामा यो कार्य भएको हो ।”

हामीले यो भन्दा पहिले पनि चढाउने गरेको थियो नि होइन र ? भन्ने प्रश्नमा उनले यसरी जवाफ दिए,– “ १५–२० वर्ष अगाडि देखि नै पूजा गर्न आउने अनि धेरैजसोले बलिपूजा नै गरेर जाने कोही कोहीले त्यत्तिकै छाडेर जाने गरेका थिए रे, तर कसको पालादेखि यस्तो गर्न दिएको भनेर एकिनका साथ भन्न नसकिने अवस्था छ । यहाँ चढाउने नाममा छाडेर जान्छन्, उनीहरूको इच्छा त पूरा होला, तर त्यसलाई व्यवस्थापन गर्ने कसले ? हेर्ने कसले ? राखेपछि हेरचाह पनि त गर्नपर्यो नि, कतै बाली खान गए पनि यही भीमेश्वर व्यवस्थापनले हेर्नपर्ने, बिरामी भएपनि, लडेर घाइते भएपनि, हराए पनि, सबैको रेखदेख त यो समितिले हेरेर साध्य हुँदैन नि, अब यहाँ चढाएको बोकाले कोही मान्छेलाई हानेर घाइते बनाए पनि यही समितिले उपचार गरिदिनुपर्ने रे, अनि यस्तो तरिकाले व्यवस्था गर्न गाह्रो हुन्छ नि, पहिला जसले जानेर या नजानेर चढाउन स्वीकृति दिए दिए, अब चाहिँ हामी परम्पराकै सिकोमा लागि परेका छौं । जुन पहिले चार पाँच दशक अगाडि जसरी चलेको थियो त्यही अनुसार चलाउने हो । चढाउनै हुँदैन भन्न खोजेको होईन, चढाउन् अनि लगेर जहाँ राख्नुपर्छ राखुन् तर यहाँचाहिँ राख्न नपाइने नियम नै बनाएका छौँ ।” भन्ने भनाई वहाँको रहेको छ ।

अब यहाँनेर एउटा कुरा के खट्किएको देखिन्छ भने भक्तजनहरूको आकांक्षा र अभिलाषा प्रति स्थानीयहरूले बुझ्नुपर्ने हो । पाखलतीको बसपार्कदेखि नै ‘यो बोको चढाउन ल्याएको कि छाड्न ल्याएको ?’ भनेर ठाडो शब्द प्रश्न गर्नु, ‘यो बोका जहाँबाट ल्याएको त्यही लगेर छाड, झुक्याएर खुसुक्क छाडेर जालाउ नि, फेरि नराम्रो होला,’ भनेर बाटोमाथिका दाजुभाई, दिदीबहिनीले टड्कारो बोली गर्नु अलिक शोभनीय देखिँदैन होला । सरीता केसीका पतिको भनाइलाई उदृत गर्दै भन्नुपर्दा त्यति असल साक्षात भगवानको मन्दिर परिसरमा रहेकाहरूमा बोल्ने शैली सिकाउनमा व्यवस्थापन समितिको कमजोरी देखिन्छ ।
भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले ध्यान दिनपर्ने भनेर सिसिटीभी क्यामेरा र दर्शनार्थीको संख्या र राजपूजामा मात्र त सीमित नहोला । मन्दिर परिसरको हरेक क्रियाकलापमा पनि त उत्तरदायित्व होला । दोलखावासी र भक्तजन नेपालीहरुको बिचमा सरोकार राख्ने कुनै पनी कुरा सूचनाको रुपमा सार्वजनिक गर्दा राम्रो हुने थियो । जुन कुरालाई भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीले ध्यान दिनु पर्छ । यस कार्यले हामी सवैलाई राम्रो हुन्छ ।

कुनै पनी दोलखाको सामाजिक सवालमा कुरा उठाउदा दोलखामा बस्ने र काठमाण्डौंमा बस्ने भनेर स–साना कुरामा सामाजिक सञ्जालमा छरप्रष्ट लेख्छौ र आफुले ठुलै काम गरेको सम्झन्छौ, दोलखामा जन्मने कुनै पनी नागरिकहरू काठमाडौं उपत्यकामा मात्रै नभएर ब्रम्हाण्डको जुनसुकै कुनामा बसेपनि रहेपनि दोलखाको यहाँको भाषा, संस्कृति, प्रकृति र धार्मिक सम्पदा र गतिविधिबारे बोल्ने सोधखोज गर्ने अधिकार सबैको हुन्छ । सबैले माया गर्न पाउनुपर्छ । एकदिन आएर फर्के पनि जुनीभर त्यहीँ नै टाँस्सिएर रहेपनि दोलखा सबैको साझी राष्ट्रको सम्पत्ति हो यसलाई संरक्षण गरी हामी अगाडी बढाउनु पर्छ भन्ने भावनाको विकास हुुनु पर्छ । यस कार्यको लागि हामी एक हुनुको अर्को विकल्प छैन, मिलेर दोलखाको साझी समस्याको समाधान गरौं ।

तितो यर्थात हामी आफुले आफ्नैलाई बुझाउन नसकेको होकी ? बुझेर बुस पचाएको हो की ? बारम्बार दोलखाको संस्कृती र परम्परामाथी प्रश्न चिन्ह उठ्ने क्रियाकलापहरु निरन्तर रुपमा अघि बढेको छ । यो किन यस्तो भईरहेको छ भनेर विशेषतः हामी दोलखावासीले विचार गर्नु पर्ने महत्वपूर्ण सवाल पैदा भएको छ । यसता खालका क्रियाकलापलाई निरुत्साहीत गर्न स्थानिय सरकार लगायत सम्वन्धीत जिम्मेवारी पक्षले केहि सुधारका लागि कदम चाल्ने होकी कानमा तेल हालेर बस्ने यो आजको चुनौती दोलखा भित्र खडा भएको छ ।

कहिले कुमारीको बारेमा, कहिले भीमेश्वरको बारेमा यो किन र के को लागि भईरहेको छ ? के यो हामी सवैलाई चित्त बुझ्ने क्रियाकलापहरु भईरहेको छ की छैन ? यसमा हामी किन खुलेर बोल्न सक्दैनौ ? कतै हामीले सार्वजनिक रुपमा कुनै कुराहरु जानकारी दिनु पर्ने र गर्नु पर्नेलाई वेवास्ता गरी नगरेको कारणले यी समस्याहरु आएको हो की ? कि गर्दा गर्दै अन्जानमा गल्ती भएर यस्ता कुराहरु सामाजिक सञ्जालमा सम्प्रेशन हुन आएको हो ? यस बारेमा हामीले समयमै विचार पू¥याएर समस्याको जगसम्म पुगेर समस्या हल गर्ने तरखर तिर लाग्न हामी सवैलाई बुद्धि प्राप्त होस भनी भगवान भीमेश्वर संग प्रार्थना गर्दछौं ।

सरीता केसीले पोष्ट गरेको जस्ताको तस्तै
भक्तजनहरुलाई धाकधम्किदीदै भिमेश्वर मन्दिर परिसर वरपरका युवाहरु नितीनियम मा दर्शनार्थीहरुलाई बुझाउन नसक्दा देश बिदेशबाट आउने भक्तजन निरासभयर फर्नुपर्ने अबस्था यो गल्ती भक्त जनको कि भिमेश्वर मन्दिर ब्यबस्थापन समिती को ? प्रचिणकालदेखि देशबिदेशबाट शक्तिसालि भेम्सेण को रुपमा मान्दै आयको दोलखा भिम्सेण मन्दिर अहिले आयर दोलाखाबासि युबाहरुको दादागिरी र गालि बेईजति गरिनेथलो भयको छ कुरा हो मिति २०८० ÷५÷३० गते शनिबार को हो बिहानैदेखि मन्दिर मा भक्तजन को भिडभाडथियो कसैले बोका भाले नरिबल गरि विभिन्न पुजाआरधणा गरिरहेका थिय करिब दिउसो २ बजेको समयभयकोथियो ८ ९ जनाकोहुलमा यौटा कालोबोको डोराउदै मन्दिरतर्फ लम्किरहेका ती भिडहरु मन्दिर प्रबेशगर्ने तयारिगर्दैगर्दा वरपर बसेका आठदसजना युवाहरुका समुहले ओई यो बोका मन्दिरभित्र लानुभन्दापैला पुलिसचौकि लगेर आईज भित्र नलैजा जस्तो अपशब्द बोल्दैरहे ती बोकाधनि ले किन र केभयो भनेर सोध्दा उल्टै मोबाइल नम्बर माघेर फोटो खिच्नथालेपछि बिचरा भक्तजन डरले थरथर भई हतार हतारले दर्शनपनि राम्रोसँग नगरि फर्किन बाध्य भय त्यतिमात्र हैन फर्कने क्रममा वरपरका पसलेहरुले चोरलाइ झै गालि गरेको पाईयो देशकै कुलदेबता को रुपमा पुज्दैआयको दोलखा भिम्सेन मन्दिर मा आउने भक्तजनहरुबाट हुने कमिकम्जोरिलाई सम्झाई बुझाई गरि उचित ब्यबस्थापन गर्ननसक्नु मन्दिर ब्यबस्थापन समिति को कम्जोरि हो कि गुण्डागर्दि हो ?? कतिदीन सास्ती खेप्नुपर्ने हो भक्तजनहरुले ? यो गम्भीर बिसय भयको छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!