
बाँपीझ्याला, काठमाण्डौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्।
स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
अर्थात्: नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दु धर्मावलम्बीहरूले महत्त्वका साथ हेर्दछन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।
पितृसम्मान दिवस
यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ-आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ।
यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ। बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ।
आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए। अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।
प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौं भक्तजन पितृतृप्तीको कामनाले आउने गरेको पुजारी जगदीशचन्द्र भट्टले बताए।

बुवाको मुख हेर्ने औँसी
कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान बिस्तारै गएर एउटा साँझमा रूपान्तरित हुन्छ । बिहान उदाएका सूर्य अस्ताउने रीत छ । यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगत का देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ ।
‘यी छोराछोरी बढ्लान् । कमाई गर्लान् र दूध भात देलान् मलाई’ भनेर हरेक आमा–बाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन् । सानामा आफूले थाङ्ना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूध भात अर्थात् मिठो पोसिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आशा हुन्छ ।

हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले व्याख्या गरिदिएको छ । हाम्रो माता–पिताप्रतिको जिम्मेवारी हामीले उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ ।
कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तै: गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।
सबैलाई शुभेच्छा ।