
आज कुशे औंसी अर्थात बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गर्ने गरिन्छ, गुरु पूर्णिमामा गुरुको सम्झना गरिन्छ भने आजको दिन बुबाको सम्मानमा सम्झना अनि विशेष समर्पण गर्ने दिन भएकोले नेपालीहरुको महत्वपुर्ण चाडपर्व मध्ये यसलाई पनी महत्वपूर्ण रुपमा लिई बुबाु हुनेले बुबाको मुख हेर्नको लागि आफ्नो घर माईतमा बुबालाई भेट्न हेर्न आत्तुर भएको देखिन्छ भने स्वर्ग भई सकेको भए आ–आफ्नो बुबाको नामा पितृ सम्झेर सिधा दिने चलन रहेको छ ।
संसार हरेक बिहानी विस्तार विस्तारै गएर एउटा साँझमा परिणत हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ । यो एउटा प्राकृतिक रितीथिती अर्थात जिवनचक्रको रुपमा लिने गरिन्छ ।

चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ! जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी हामी छोरा छोरीहरुको तर्फबाट नमन गरौँ ।

“यी छोराछोरी बढ्लान, कमाई गर्लान, दूधभात देलान मलाई“ भनेर हरेक आमाबावुले आफ्ना छोराछोरीबाट आशा अनी विश्वास गरि राखेका हुन्छन् अर्थात अपेक्षा राखेका हुन्छन । सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा लिएको पक्कै हुन्छ । एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुवा आमा बन्ने अभ्यासमैं बित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा आमाको महत्व धेरै हुन्छ ।

एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगामै पनि दिशापिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा आमाले छोराछोरीहरुलाई नुहाइ धुवाई पुनः सफा कपडा लगाइ दिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।

बुबाको मुख हेर्ने अर्थात कुशै औंशीका दिन बुबाको भौतिक उपस्थिती हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन भने भौतिक रूपमा अस्त भइसकेका बुबाहरुलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्र लगाएयका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् ।
हरेक धर्ममा आ–आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौं, हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ, ति सपना र सम्भावनाका प्रदायक, जीवनश्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुवाहरुलाई स्मृती ।

बढ्दो आधुनिकतासंगै बुवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ तर बुवालाई हेलागर्ने र चित्त नपु¥याउने कर्म जगतलाई पक्कै मान्य छैन, हामी पनि एकदिन वुवा या आमा हुन्छौं तसर्थ हामीले जे गर्छाैं त्यहीनै आफ्ना भावी सन्ततीबाट पछि प्राप्त गर्दछौं । यसमा कसैको दुईमत नहोला ? आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र अश्यकता झन बढ्दै गएको छ ।
बुवाको माया गर्न धर्मले पक्कै बाँधेको छैन्, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन, हिउँको कठ्यांग्रीदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा हुरि बतासमा हुनुहुन्छ, मरुभुमीको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरुसँग पैंठेजोरी खेल्दैहुनुहुन्छ, जन्म दिने बुवालाई एकफेर खुशीसाथ स्मरण गरौं, वहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलाई जानकारी दिउँ र एक पटक वाल्यकालका यादहरु सम्झेर मुस्कुराउऔं न, हुँदैन र ?

सामाजिकिकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुवाआमा बन्न सकौं, सबैलाई शुभेच्छा । यही कामना सहित यसपालीको बुबाको मुख हेर्ने अर्थात कुसे औंसीको अवसरमा सम्पूर्ण छोरा छोरीहरुको तर्फबाट एक पटक फेरी हार्दिक नमन गिरौं । यही अवसरमा स्वर्गिय भईसकेको बुबाको फोटोलाई जसरी खोजी खोजी आजको दिनमा सामाजिक सञ्चालमा राख्न आतुर हुन्छ त्यसै गरी जिवित बुबालाई कतै बृद्ध आश्रममा बेफुर्सदको नामले त राख्नु भएको छैन ? यदी त्यस्तो हामी कोहीबाट भएको छ भने जिवित हुञ्जेलसम्मनै बुबालाई आफुले जे ले जसरी सक्नु हुन्छ त्यसरी स्याहार सुसार गर्ने जिम्मेवारी र दायित्व बहन गरी आ–आफ्नो अभिभारा पुरा गर्नु भई विश्वकै सबभन्दा नाम कमाउने सफल छोरा हुनु हुनेछ भन्ने आशा एवं विश्वास लिएका छौं ।


