
बाँपिझ्याला, तौथली ।
नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबू बागमती प्रदेशको पाचौँ बैठक सिन्धुपाल्चोक जिल्लाको तौथली शहरमा भव्यताका साथ सम्पन्न भएको छ । हिजो भदौ १९ गते भएको सो बैठकको सभापतित्व सोही संस्थाको सिन्धुपाल्चोक जिल्ला अध्यक्ष रामशरण श्रेष्ठले गरेका थिए ।

प्रमुख अतिथिमा वागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननीय श्री पुकार महर्जन रहेका थिए । त्यस्तै विशेष अतिथिमा नेवाः देय् दबूका केन्द्रीय का.मु. अध्यक्ष चन्द्रलाल राजभण्डारी, उपाध्यक्ष शान्त श्रेष्ठ, के.स. उपेन्द्र प्रधान, माईला डंगोल, तथा वागमती प्रदेशका अध्यक्ष विष्णुगोपाल महर्जन अतिथिमा , बागमती प्रदेश उपाध्यक्ष बाबुराजा श्रेष्ठ, वागमती प्रदेश सचिव गणेशकुमार श्रेष्ठ लगायत अन्य सदस्यहरू रहेका थिए ।

यसै अन्य विशेष अथितीहरुमा वरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठ, त्रिपुरा गाउँपालीका वडा नं. ५ का वडाध्यक्ष यादव श्रेष्ठ रहनु भएका थिए । अतिथीहरुमा नेवाः देय् दवु दोलखा जिल्ला अध्यक्ष देवेन्द्र नारायण प्रधान, सिन्धुली जिल्ला प्रतिनिधी द्वारीका श्रेष्ठ र समाजसेवी एवं अधिवक्ता प्रविण प्रधान लगायत बिभिन्न जिल्ला प्रतिनिधी तथा जातिय भातृ संगठनहरुको प्रतिनीधीहरुको व्यापक सहभागी रहेको थियो ।










बिहान १०ः१५ बजे संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जबाट पानसमा दीप प्रज्वलन गरेर शुरु भएको सो कार्यक्रममा वागमती प्रदेश र स्वःनिग काठमाडौं प्रदेशका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ लगायत स्वनिग (उपत्यका) भित्रका जिल्ला पदाधिकारी लगायत अन्य जिल्लामा रामेछाप, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट अध्यक्ष एवम् पर्यवेक्षक प्रतिनिधिको उपस्थिति रहेका थिए भने स्थानीय पालिकाका जन प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।






समसामयिक विषयलाई मध्यनजर राखेर शुरुआत गरेको सो कार्यक्रममा उपस्थित सहभागीहरूलाई स्वागत गर्दै दवुका त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष अमृतबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
त्यसै गरी नेवारहरूको मौलिक संस्कृतिले व्याप्त भएको र नेवारहरू बीचमा बोलिने दोलखा–तौथली नेपाल (नेवार) भाषा एवम् संस्कृति र परम्पराको इतिहासको पृष्ठभूमिलाई प्रकाश पार्दै तैयार पारिएको ‘तौथलीको ऐतिहासिक चिनारी’ नामक पुस्तिकामा उल्लेखित विवरण प्रदेश वागमती सदस्य दिलिप श्रेष्ठले वाचन गरेर सुनाउनु भएको थियो ।
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष यादव श्रेष्ठले तौथलीलाई पर्यटन नगरको प्रारुपमा विकसित गर्न वागमती प्रदेश सरकारले सहयोग गर्न आग्रह गरेका थिए । साथै तौथलीमा यातायात, परम्परागत व्यवस्थापन, साँस्कृतिक उत्थानका लागि नेवाः देय् दबूका केन्द्रीय तह समेत प्रदेश सरकारले सहयोग दिए तौथलीको स्वरुपमा नयाँ पर्यटकीय क्षेत्र बन्न सहज हुने कुरा बताए ।
त्यसैगरी प्रमुख अतिथि माननीय मन्त्रीले आपूmलाई आमन्त्रण गरेर नेवारहरूको अलौकिक शहर तौथलीको भौगोलिक, धार्मिक र साँस्कृतिक पक्षलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर दिएकोमा प्रसन्न हुँदै यहाँ जटिल रुपमा देखिएको सडकको अधुरो निर्माणको समस्यालाई प्रदेश सरकारले विचार गरेर केन्द्रमा समेत जानका्री गराउने वचन दिँदै आपूmले सकेको कदम चाल्ने बताए ।




वागमती प्रदेशको पाँचौ बैठकको सिलसिलामा भदौ १८ गते सो संस्थाका केन्द्रीय समितिका पदाधिकारी, प्रदेशका पदाधिकारी तथा पर्यवेक्षक एवम् आयोजकहरु बीचमा बैठक बसेर कार्यक्रम तर्जुमा भएको थियो । जस अनुसार भदौ १९ गते बिहान नगर परिक्रमा गर्ने क्रममा गणेश, भीमसेन, नाट््यश्वर मन्दिर हुँदै त्रिपुरासुन्दरी मन्दिरमा गएर परिक्रमा गर्दै सोही मार्गबाट फर्केर स्थानीय विद्यालयको सभाकक्षमा सभामा सम्मिलित भएको थियो । यस कार्यक्रम व्यवस्थापनको लागि नेवाः देय् दवुका जिल्ला सदस्यहरु भेष बहादुर श्रेष्ठ, विमल श्रेष्ठ, दवुका त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष अमृतबहादुर श्रेष्ठ र प्रदेश सदस्य दिलिप श्रेष्ठको महत्वपूर्ण सहयोग रहेको छ । यसै त्रिपुरा सुन्दरी गाउँपालीका अध्यक्ष यादव श्रेष्ठको विशेष रहेको थियो ।


तौथली र दोलखा बीचको साँस्कृतिक पक्षः
यो तौथली शहर यही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. ५ मा रहेको छ । यो ‘तौथली’ शहरको पुरानो नाम ‘हाजिपुर’ हो । यसलाई ‘हाजिपुर’ किन भनियो भन्ने बारेमा खासै तर्क नभेटिएपनि अनुमान गर्दा धेरै वर्ष पहिले यस इलाका दोलखा आधिपत्य राज्यबाट सञ्चालन भएको क्षेत्रको हिसाबले र भौगोलिक दुरीको हिसाबले दोलखा र तौथली बीचको पैदल दुरी टाढा भएकोले यस क्षेत्रमा पर्ने ३२ वटा गाउँका जमीनदारले तिरोभरो गर्न हाजिर हुनुपर्ने ठाउँ यही तौथली भएकोले प्रत्येकपल्ट हाजिर हुनुपर्ने शहरलाई ‘हाजिरपुर’ भन्दाभन्दै ‘हाजिपुर’ भएको हुनसक्छ । किनकि यहाँ संकलन भइसकेपछि मात्र दोलखामा गएर राजस्व बुझाउने गरेको इतिहासमा उल्लेख छ । यता तौथलीको भागमा ३२ वटा गाउँ थिए भने उता दोलखामा ३४ गाउँको तिरोभरो गर्ने गरेको कहावत अद्यावधि छ ।

अब तौथली किन भनियो त भन्ने कुरामा यो शहर अहिले हेर्दा पनि पूर्व–पश्चिम फैलिएको अवस्थामा छ तर उत्तर–दक्षिण खुम्चिएको देखिन्छ । डाँडा भूभागमा फैलिएका मानव बस्ती बस्न र चरन गर्न मिल्ने ठाउँलाई ‘थलो’ या ‘थली’ भन्ने गरिन्छ ।
यसैले पूर्व–पश्चिम लामो भू–भाग भएकोल दोलखा–तौथली नेपाल (नेवार) भाषालाई आधार मानेर हेर्दा ‘टाहा(गौ)थली’ अर्थात लामो चउर या खेत या बस्तीको रुपमा उच्चारण हुँदाहुँदै ‘टाहा(गौ)थली’ बाट अपभ्रंश भएर ‘तौथली’ भनिएको हुनसक्छ । तर अहिलेका तौथलीका बासिन्दाले भने ‘तव थली’लाई ‘ठूलो समतल जग्गा’को रुपमा परिभाषित गर्न खोजेको देखिन्छ । यहाँ ‘तव(ग्व)’ भन्ने शब्द काठमाडौं उपत्यकाका नेवार समुदायको भाषामा मात्र ‘ठूलो भन्ने जनाइएको पाइन्छ ‘थली’ शब्द उपत्यकाका नेवार समुदायले प्रयोग गरेको पाइँदैन ।

तौथलीशहरको महत्वपूर्ण विशेष्ता भनेको साँस्कृतिक एकता, रीतिरिवाजमा समानता र धार्मिक अनुष्ठानमा एकरुपता । दोलखाको जात्रापर्व र तौथलीको जात्रापर्वमा नाम एउटै भएपनि प्रहसन र प्रदर्शनमा केही भिन्नता पाइन्छ । जस्तै कि, ट्वाकल प्याखन (कृष्ण लीला) मा भिन्नता, माझिपा डाकस (माझी रुपको लाखे), देवी नाच, रोपाइँजात्रामा भिन्नता त छ तर मौलिकतामा एकता छ । दोलखा र तौथलीको दशैँको परम्परागत शैली एउटै भए पनि प्रदर्शनमा भिन्नता छ, जस्तोकि खड्गजात्रा र हिपाथामीको चलन एउटै भएपनि सञ्चालनमा अलगपन छ । तर दही जात्रा भने यहाँको अलग्गै मोलिक जात्रा हो । जुन दोलखामा मनाइँदैन ।