बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. २ अन्तर्गतको प्राचीन शहर दोलखामा विगत केही वर्षदेखि वाद्यवादनबारे धेरै नै उतारचढाव भैरहेको थियो । धार्मिक एवं परम्पराले उल्लास बनेको यो साँस्कृतिक प्राचिन शहर भित्र भजन किर्तनले कहिल्यै विश्राम नलिउन् भन्ने सबैको चाहना हो । सकेसम्म प्राचीन एवम् ऐतिहासिक धरातल दोलखाका साँस्कृतिक धरोहर अझै उचाइमा पुगोस् भनेर दोलखामा जन्मेर कर्म र कार्यका लागि दोलखाबाट बाहिर रहन बाध्य भएका दोलखाको माटो, बाटो र पाटोप्रेमी जन समुदायले, संस्थाले र व्यक्तिले भएपनि आर्थिक तथा भौतिक रूपमा सहयोग पुर्याउँदै आएको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ ।
अन्ततः सबैमा अन्योल छाइरहेको वाद्यवादनको सामग्री भीनपा २ को वडा कार्यालयमा जम्मा हुने निश्चित भएको छ । विगत केही दिनदेखि त्यो वाद्यवादनको बारेमा सामाजिक सञ्जाल लगायत व्यक्ति व्यक्ति बीचमा एकले अर्कालाई दोषारोपण गर्ने र तथानाम वचन प्रहार भैरहेको अवस्थामा दोलखाली युवा समाजसेवी अजय प्रधानले अनभिज्ञ रूपमा लुकेका र लुकाइएका वाद्यवादनका सामग्री महागीता पाटी भजन मण्डलका संयोजक लगायत त्यस भजन खलकका सदस्यहरूले खोजबीन गरी बाहिर ल्याउन अनुरोध गर्दै लेखेको पत्र सामाजिक सञ्जालमा प्रचार भएको थियो ।

यसको लगत्तै विभिन्न टिका टिप्पणी भएको थियो । यसै सन्दर्भमा आवश्यक्ता अनुसार सदुपयोग गर्ने र चाहिएको बेलामा फिर्ता गर्ने शर्तनामामा सही छाप गरी सम्बन्धित सरोकारवालाहरूकै रोहबरमा भर्पाइ गरी लगेको र सो सामान जस्ताको तस्तै अवस्थामा रहेपनि ढोलक र मादल भने त्यसको छाला मुसाले काटेर कामै नलाग्ने भएपछि ढोलक चाहिँ आफ्नै पैसा खर्चेर बनाएर ल्याई राखेको कुरा दोलखाकै भजन एवं संगीतप्रेमी जेष्ठ नागरिक पूर्णनारायण श्रेष्ठले सार्वजनिक गरेपछि भदौ ७ गते बिहिबार भीनपा वडा नं २ को कार्यालय दोलखामा छलफल बैठक बसेको थियो ।
बिहिबार अपरान्ह ४ बजे बसेको बैठकमा भेला भएका स्थानीय सरोकारवाला र वडा अध्यक्ष स्टालिन श्रेष्ठको रोहबरमा भएको बैठकमा भर्पाइमा उल्लेखित सामान आपूm संग रहेको र उक्त सामान जसले काठमाडौंबाट संकलन गरेर दोलखा सम्म ल्याएर हस्तान्तरण गरेको हो उनैलाई सामू राखेर उसैको रोहबरमा बुझाउने शर्तमा आजको बैठक सकिएको जानकारी वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भएको छ । साथै सामान लगि राख्नुहुने पूर्णनारायण श्रेष्ठज्यूले अबदेखि दोलखाको परम्परा संस्कृतिको विपरीत बेथिती देखिने कार्यक्रम जस्तोकि केटी (किशोरी)लाई लाखे नचाउने, मौलिक बाजा बिना मुकुण्डोधारी नृत्य नदेखाउने कुरालाई अब उप्रान्त नगर्ने प्रतीज्ञा गर्नु भएको पनि अध्यक्षले बताउनु भएको छ ।

यो भन्दा अघि सो बाजाको बारेमा हामीले स्थायी रूपमा दोलखाका बसिरहनु हुने स्थानीय केही व्यक्तिहरूसंग सोधेका थियौँ कि,–
दोलखाको स्थानीय पर्व जात्रा र संस्कारका लागि प्रयोग र उपयोग गर्न भनेर बाहिरबाट दाताहरूले दिएको वाद्यवादनका सामग्री या अन्य कुनै भौतिक साधनलाई सामाजिक संस्था या स्थानीय पालिका या भजन मण्डलमा संग्रहित नगरी व्यक्तिको घरघरमा राख्नुमा तपाईँको के धारणा छ त ?
जवाफ जस्ताको तस्तै,
भरत श्रेष्ठ, अध्यक्ष,भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समिति
खै मलाई यसबारेमा मलाई चाहिँ केही थाहा भएन, ल्याउनेले ल्याए होलान्, दिनेले दिए होलान्, लिनेले लिए होलान्, कसले कसको रोहबरमा कसरी कहिले दिए म चाहिँ अनभिज्ञ छु ।
सुरेश श्रेष्ठ, कोषध्यक्ष, भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समिति
मलाई पनि यसबारेमा स्पष्ट जानकारी छैन, मैले त सामाजिक सञ्जालमा देखेर मात्र थाहा पाएको त्यो पनि काठमाडौंमा रहेका हाम्रै दोलखाली दाजुभाइ र दिदीबहिनीहरूबाट संकलन गरेर ल्याएको र यहाँ तल्लो टोलको भजन मण्डललाई हस्तान्तरण गरेको भन्ने सम्म फेसबुकमा पढेको मात्र हुँ । त्यो सामान कसले कसको माध्यमले कसलाई दिएर पठाएका मलाई थाहा भएन ।
विराज श्रेष्ठ , पूर्व वडाअध्यक्ष, भी.न.पा २,
हो, त्यो सामान हस्तान्तरण गर्दा म लगायत पूर्व मेयर भरतबहादुर केसी पनि हुनुहुन्थ्यो । कालिन्चोक युवा क्लवका पदाधिकारी निरेन्द्र मास्केले दिएको पत्रमा उल्लेखित सामान त्यही क्लवकै कोषाध्यक्ष शात श्रेष्ठले हाम्रो हातबाट महागीता पाटी भजन मण्डलमा संरक्षणको हिसाबले राख्ने शर्तमा हस्तान्तरण गरिएको हो । पछि थन्काउने बेलामा भजनसंग सम्बद्ध सरोकारवालाहरूले कसरी व्यवस्थापन गरे त्यो चाहिँ थाहा भएन, केही समयपछि पूर्ण दाइले प्रशिक्षणको लागि भनेर लगेको भन्ने सुनें । तर पछि किन यो विवादित कुरा भयो जान्ने समय पाइन । जे भए पनि त्यो सामान सार्वजनिक र सामाजिक कार्यक्रमका लागि ल्याइएको हुनाले सार्वजनिक स्थानमै राख्दा उचित हो । यसमा मेरो म र मैले भन्ने तर्क गर्न जरुरी छैन ।
सकुना श्रेष्ठ मलेकु, समाजसेवी, अध्यक्ष समकालिन एकता समाज नेपाल
प्राचिन शहर दोलखाको पहिचान भनेको त्यहाँको मौलिक मातृ नेवारी भाषा, चाडपर्व, जात्रामात्रा र रीतिरिवाज अनी सम्पदा हो । त्यसैले यसको संरक्षण हामी सवैले मिलेर गर्नु पर्छ । र यसको लागि अहिले त स्थानिय निकाय भएको अवस्थाको कारणले स्थानिय निकायले स्थानिय रुपमा संरक्षण गर्न पहल गर्नु पर्छ । जहाँसम्म बाद्यवादनको कुरा आएको छ । यो हामी सवै दोलखावासीको लागि र यहाँको जात्रा संचालनको लागि भएको कारणले यसको संरक्षण हामी सवै मिलेर गर्नु पर्छ । व्यक्ती विशेषमा भन्दा पनी सामूहिक रुपमा संस्थागत रुपमा विकास गरेर अघि बढ्नु पर्छ ।
यसै गरी २०७८ सालको शहधारा जलयात्राको अवसरमा मैल पनि मेरो आमा बुबाको सस्मरणमा महागीता पाटी भजन मण्डल तल्लो टोललाई बामतम्मल, छिलिमिली, मुचुङ्गा लगायत अन्य सामाग्रीहरु हस्तान्तरण गरेको छु । यसै गरी दोलखाको अन्य सामाजिक क्षेत्रमा मेरो सहभागीता रही आएको छ । यो हामी सवैलाई थाहा भएकै कुरा हो । संस्कृतिको संरक्षण गरी अघि बढौं र भएकोलाई निरन्तरता दिउ यही मेरो र समकालिन एकता समाज नेपाल दोलखा काठमाण्डौंको तर्फबाट शुभकामना दिन चाहन्छु ।

प्रवीण प्रधान, युवा समाजसेवी, अधिवक्ता
त्यो सामान कसले कहाँ लग्यो र कसले कसलाई किन दियो त्यो बारेमा म जान्दिन, कायुक्लवको मातहतमा संकलित सामान महागीता पाटीलाई हस्तान्तरण गरेको सत्य हो । त्यसकारण त्यो सामान त्यही भजन मण्डलको मातहतमा राख्दा राम्रो र राख्नु पनी पर्छ । यसमा विवाद गर्नु जरुरी छैन । अर्को कुरा दोलखामा बाजा बजाउनेहरूलाई सिकाउने प्रशिक्षकलाई तलब दिन गाह्रो भयो भनेकोले मैले नगद ८ हजार रूपैयाँ पूर्णनारायण श्रेष्ठ दाइलाई दिएको थिएँ, तर बीचमै तालिम रोकेको सुन्दा नमज्जा लाग्यो, मेरो गुनासो यति हो ।
होमचन्द्र श्रेष्ठ, युवा समाजसेवी, अधिवक्ता
दोलखा शहर हामी आफैमा मौलिकता कायम भएको एक प्राचिन शहर हो । जसको आफ्नै मौलिक विशेषता रहेको छ । यो हामी सवैले बुझ्न जरुरी रहेको छ । यस भित्र बिभिन्न मठ–मन्दिर, जात्रामात्रा, रहन सहन र परम्परा रही आएको छ । यसै गरी पौराणिककालदेखि चल्दै आएको आफ्नौ पहिचान भएको मौलिक नेवारी भाषा रहेको छ । जुन आफैमा महत्व रहेको छ । अहिले जुन बाद्यवादनको बारेमा सामाजिक सञ्जालमा बिभिन्न भनाईहरु आएको देखिन्छ, सुनिन्छ यो हुन नहुनु पर्ने कुराहरु सम्प्रेशन भएको जस्तो लाग्छ । महागीता पाटी भजन मण्डल तल्लो टोललाई हस्तान्तरण गरिएको बाद्यवादनको कुरा जहाँसम्म छ यो हामी सवैको सामूहिक सम्पती भएकोले यसलाई व्यक्तीगत भन्दा पनी सामूहीक रुपमा कसरी अगाडी बढाएर लान सकिन्छ भन्ने कुरामा हामीले ध्यान दिनु पर्छ । व्यक्तीगत भएपनी सामूहिक भएपनी कसैले न कसैले संरक्षण गर्नु नै पर्छ त्यसैले यसमा हामीले विचार गर्नुू पर्छ । हामी विच मत भिन्नता हुने गरी भरसक दुविदाका कुराहरु हामी कसैले नगर्दा राम्रो हुन्छ यसले हामी कसैलाई राम्रो गदैन, भावना जगाउ दोलखाको मौलिक भाषा, संस्कृती, परम्परालाई जोगाई सम्पदाको संरक्षण कसरी गर्ने भनेर, यही हुनेछ हामी सवैको कल्याण ।

अब अलिकति विगत तर्फ :
उहिलेकै कुरा गर्नुपर्दा दोलखाको तल्लो टोलमा रहेका महागीता (महाता) पाटी भजन मण्डलमा अग्रज, दिग्गज र जेष्ठ नागरिकका उमेरको हदबन्दी पार गरिसकेका वृद्धावस्थाका व्यक्तिहरूले त्यो भजन मण्डलले विश्राम नलिउन् भनी खिं (मृदङ्ग)को खरी झरेर बजाउन असहज भैरहेको बेलामा एकदिनको पैदल बाटो सुरी दोभान खारे गाउँसम्म पुगेर खरी भरेर ल्याएर भजनलाई उल्लासमय बनाउन पहल गरेका कुरा हिजो नै जस्तो लाग्छ । जुन कामका लागि निर्देशन हुन्थ्यो हालको राजकुलेश्वर तलेजु भवानी संगैको पीपलको रुख अगाडि घर भएको स्वर्गीय चक्रबहादुर श्रेष्ठ (चक्रेबाजे) ।
उहाँको निर्देशनलाई पालना गरेर त्यही ‘खिं’ काँधमा भिरेर पुनः मर्मत गर्न एक छाक झोल पानी खाएर हिँड्ने गर्नुहुन्थ्यो स्वर्गीय अन्नबहादुर श्रेष्ठ (भगवानदास श्रेष्ठको पिताजी) र स्वर्गीय चक्रबहादुर श्रेष्ठ (माइला बाजे भनेर पुजिन्थ्यो) । जो हालको खिँबुजा ज्वारीलाल श्रेष्ठ (कृष्ण) का पिता हुनुहुन्थ्यो । यसलाई मर्मत गर्न आर्थिक सहयोग त्यसबेला २५ रूपैयाँ दिनुहुने स्वर्गीय भक्तचन्द्र श्रेष्ठ (उदयचन्द्र श्रेष्ठका पिता) र स्वर्गीय तीर्थबहादुर श्रेष्ठ (सुगर) श्यामसुन्दर टोलका हुनुहुन्थ्यो । त्यसैगरी वती टोलका कान्जी हाउस संगै घर भएका स्वर्गीय सोमबहादुर श्रेष्ठ (शान्तिका पिता)ले बामतम्बल बनाउन बर्कोमा पोको पारेर पिखुती र सिंगटी सम्म गएर आएको देख्ने आँखाले यो स्तम्भ कोरिरहेको छ ।

यसरी महागीता पाटीमा पुरानै वाद्यवादन बनाउदै बजाउँदै गरेर एउटा युग पार गरिसकेपछि बल्लतल्ल समाजसेवी बैकुण्ठ नारायण प्रधानले हारमोनियम, तबला, खिं, झ्याम्टा ल्याएर त्यो भजन मण्डललाई ताजगी दिएको क्षण अविस्मरणीय बनेको छ । त्यही पाटीले तल्लो शहरमा नेवारी संस्कृतिको सभ्यता झल्केको देख्ने उपत्यकाबासीले दोलखामा यति राम्रो भजन किर्तन हुँदो रहेछ भनेर खुसी भएको पल अझै ज्यूँदो स्मरण छ ।
हिजोआज त्यही समुदाय भित्र नै अरुले दिएको सहयोग माथि ‘तेरो र मेरो’ ‘तैँले र मैले’ भन्ने किचलो र खिंचातानी भएर संस्कृति सभ्यता नै लथालिङ्ग भएको पाउँदा कुन स्थानीयको मनमा चिसो नपस्ला र ?
अब समयकालीनतिर फर्कँदा
२०७२ सालको प्रलयकारी भूकम्पले तहसनहस गरिएको नेपाली धरातलको विभिन्न भागमा नीजि घर र स्थल मात्रमा असर नपरेर देशकै ठूलाठूला ऐतिहासिक धरोहर र सम्पदाहरू क्षतविक्षत भएको अवस्थामा दोलखाका साँस्कृतिक सम्पदाहरू पनि अछूतो रहेन फलस्वरूप दोलखाका भजन पाटीहरूको साथ साथै वाद्यवादनका साधन समेत छिन्नभिन्न भएर कामनलाग्ने भएपछि भजन गर्ने रहर हुँदाहुँदै पनि भग्नावशेष शहर हेरेर इश्वर पुकार्नुको विकल्प रहेन ।
यस्तो बेलामा कमसेकम भजन गरेरै भएपनि इश्वरीय लीलाको जीवन व्यतीत गर्ने एउटा मार्ग त पार हुन्थ्यो भन्ने स्थानीय भजन संगीतप्रेमीको मनोकांक्षालाई आत्मसात गरेर दोलखाली युवा जो नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष कालिाञ्चोक युवा क्लवका कोषाध्यक्ष समेत रहेका शान्त श्रेष्ठ, कालिन्चोक युवा क्लव, भजन एवं संस्कृतिप्रेमी पूर्णनारायण श्रेष्ठ (उहाँकै भनाइमा), भजन सन्तुलनमा निरन्तरता दिने संस्कृतिप्रेमी भगवानदास श्रेष्ठ लगायतले काठमाडौंमा रहेका दोलखाली करुणादायी मनका धनी समाजसेवी र सामाजिक संघसंस्थासंग हार गुहार गरेर एकमुष्ट संकलन गरी कालिन्चोक युवाक्लवले २०७४ साल भदौ २९ गते भीनपा २ को श्यामसुन्दर टोलको श्यामनारायण मन्दिरको प्राङ्गणमा निवर्तमान नगर प्रमुख भरत केसी र निवर्तमान वडा प्रमुख विराजमान श्रेष्ठको रोहबरमा दोलखाको तल्लोटोलमा अवस्थित महागीता पाटी भजन मण्डललाई श्याम सुन्दरमा एउटा कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको थियो । जस्को सप्रमाण पत्र सहित दोलखाली युवा अजय प्रधानले मिति २०८० भदौ ६ गते बिहान ९ः०० बजे आफ्नो फेसबुकको नीजि पेजमा सम्प्रेषण गरेको देखिन्छ । सो पत्रमा उल्लेख भएको वाद्यवादनका सामान निर्दिष्ट स्थानमा नभएको र सो सामग्रीमध्ये केही वाद्यवादनका सामग्री समयानुकूल प्रयोजनका लागि भर्पाइ नै गरेर सोही वडाका बासिन्दा संस्कृतिप्रेमी जेष्ठ नागरिक पूर्णनारायण श्रेष्ठलाई दिइएकोमा निजले समयमै फिर्ता नगरिंदिंदा केही विवादित कुरा बाहिर आएको रहेछ । यसै विषयलाई इङ्गित गर्दै अजय प्रधानले महागीता पाटी भजन मण्डललाई सो सामग्री जहाँ भएपनि जोसंग भएपनि सोही भजनमण्डलमै फिर्ता ल्याउने पहल गर्न महागीता भजन मण्डल खलकका संयोजकलाई सम्बोधन गर्दै निवेदन दिएको व्यहोरालाई हेरेर धेरैले धेरै थरिका टिका टिप्पणी गरेको देखियो ।


हामीले सुनेका र सञ्जालमा देखेका कुरालाई लक्षित गरेर जसले भपाई गरेर लगेको हो भन्ने सुन्नमा आएको हो जसको नाम माथि उल्लेख गरिसकिएको छ । उहाँसँगै हाम्रो बाँपीझ्याला डटकमका सह–सम्पादक बालकृष्ण श्रेष्ठसंग भएको प्रत्यक्ष टेलिफोन वार्ता गर्दा उहाँ यसो भन्नुभएको थियो–
“फेसबुकमा अजय प्रधानले महागीता पाटी भजन मण्डललाई तोकिएर लेखिएको सचेतना सहितको अनुरोध पत्र सन्देशमा बालकृष्ण श्रेष्ठले दिएको प्रतिक्रियामा मेरो नाम उल्लेख भएको प्रसङ्गमा हेरेपछि मलाई मेरो कुरा राख्नैपर्ने आवश्यक ठानेर फोनमा सम्पर्क गरेको हुँ । हो २०७४ सालमा दोलखाको तल्लो टोलमा रहेको श्यामसुन्दर टोलको मन्दिरको प्राङ्गणमा तत्कालीन भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर केसी र वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको विशेष उपस्थितिमा वडा नं. २ थातकोर्छेँ बस्ने हाल काठमाडौं बालाजुमा रहने कालिन्चोक युवा क्लवका अध्यक्ष निरेन्द्र मास्के र कोषाध्यक्ष शान्त श्रेष्ठले काठमाडौं रहेका विभिन्न व्यक्तिहरूसंग समन्वय गरी जम्मा गरेर ल्याएको भजनका सामान स्थानीय भगवानदास श्रेष्ठ, यज्ञबहादुर प्रधान, राजकुलेश्वर स्कूलका पूर्व हेडमास्टर हर्कबहादुर श्रेष्ठ समेतको रोहबरमा महागीता पाटी भजन मण्डललाई जिम्मा लगाएको कुरा साँचो हो ।”

“उक्त भजनका सामग्रीहरू दोलखाको लागि अति आवश्यक नै थियो त्यो बेला । म पनि दोलखाको स्थानीय नागरिक र पुस्तौंदेखि दोलखाको जात्रापर्व साँस्कृतिक कार्यक्रममा हातेमालो गरेर जात्रापर्व सञ्चालन गरिरहेको र आपूmले जानीबुझी आएको कला अरुलाई पनि सिकाउँदै आएको नाताले त्यो बेला म स्वयं उपस्थित भएर आफ्नो राय व्यक्त गरेको थिएँ । र अर्को कुरा त्यो दिन महागीता भजन पाटीले जिम्मा लिएको सामान भजन पाटीमा नराखीकन कोर्छेँ टोल निवासी कृष्णकुमार श्रेष्ठ (कान्छा) को घरमा राख्ने भन्ने सन्दर्भ उठेपछि त्यसोभए केही वाद्यवादनका सामग्री चाहिँ माथिल्लो टोलमा जात्रापर्व सञ्चालनमा सहयोग मिलोस् भन्ने उद्देश्यले र नव युवायुवतीलाई सिकाउन पनि मिलोस् भनेर सबैको राय सल्लाहमै भर्पाइ नै गरेर निम्नलिखित वाद्यवादनका सामान जिम्मा लिएको थिएँ, जुन यसप्रकारको छ,–
१) हारमोनियम (हार्बिन) थान– २,
२) ढोलक थान– १,
३) मादल थान १,
४) खिं (मृदङ्ग) थान– १,
५) शंख थान १,
६) बुक्सेल (झ्याम्टा) जोर १,
७) छुक्सेल (ठूलो झ्याली) जोर १,
८) छिलिमिली (झ्याली) जोर २,
९) डम्फु थान १,
१० साउण्ड बक्स (मझौला खाले) थान १,
११ तबला बाम जोर १
१२ बाँसुरी ३ थान र
१३ घुंघरु १ जोर ।
यत्ति सामग्री चाहिँ दोलखा डोक्छेँ टोलकै बाँसुरी वादक प्रेमबहादुर श्रेष्ठ (जुल्फे भाइ)को हस्तलिखित भर्पाई गरी पूर्व वडाध्यक्ष विराजमान श्रेष्ठ, शान्त श्रेष्ठ, भगवानदास श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, यज्ञ प्रधान समेतको रोहबरमा लिएको सामान मसँग जस्ताको तस्तै छ । साथै वनारसी सहयोगी हातहरूले दिएको कलार्गेट (गुजरती म्वारी खालको) सामान पनि मसंग छ । अब सो सामग्री कायुक्लवकै कोषाध्यक्ष शान्त आएपछि उनकै रोहबरमा वडा कार्यालयलाई बुझाउनेछु ।”
माथि उल्लेखित सामग्रीहरू आवश्यक पर्दा र भैपरि आएको बेलामा बाहिर निकाल्न सहज होस् भनेर आपूmले राखेको उहाँले बताउनुभयो । साथै उहाँले दोलखामा ‘म्वारी फुक्ने” (सहनाई) नेवार समुदायकै कपाली भाइहरूको अभाव हुँदै गएकोमा साह्रै चिन्ता लागेर बाँसुरी फुकाएर भएपनि कार्यक्रम चलाउन सकियोस् भनेर कम्तिमा ४० जना केटाकेटी जम्मा गरी वाँसुरी वादक प्रेम ब. श्रेष्ठ र दुङ्गल टोलका वीरबहादुर शिवभक्तिलाई गुरु बनाइ प्रशिक्षण दिंदै आएकोमा केही व्यक्तिहरूले खै कुन्नि के आधारमा प्रशिक्षार्थीहरूलाई उक्साएर सबैलाई त नभनौ. एकैचोटी ३०–३५ जनालाई रोकेर विथोली दिएको कुरा बताउनुभयो । यसै प्रसङ्गमा प्रशिक्षण रोकिएपछि शान्त श्रेष्ठले १६ थान बाँसुरी फिर्ता लगेर गएको त्यो कहाँ लगियो भन्ने कुरा आपूmलाई थाहा नभएको बताउनु भएको थियो ।

उहाँको कुरापछि हाम्रा सहसम्पादकले जुन ठाउँबाट भर्पाइ गरेर ल्याइएको हो त्यही ठाउँमा बुझाइदिनु न त भन्दा उहाँले सबैको रोहबरमै बुझाउँछु तर महागीता भजन मण्डलमा होइन भीमेश्वर भजन मण्डलमा बुझाउने कुरा राख्नु भएको छ । अझ कसै कसैले वडा कार्यालयमा राख्दा राम्रो हुन्छ त्यहीं बुझाउनु भन्ने सल्लाह दिएको पनि उहाँले बताउनु भएको थियो ।
यसैगरी उहाँसँग संस्कृति र परम्पराको नियम विपरीत महिलालाई लाखे बनाउने र परम्परागत बाजा हुँदाहुँदै अडियो संगितको दोहरी गीतमा लाखे नाच नचाएको भन्ने आरोपबारे कुरा कोट्याउँदा उहाँले नारी अधिकार र नारी स्वतन्त्रताको कुरा राख्दै, दोलखामा माघ महिनामा गाइने माधव भजनमा पुरुषहरूको मात्र सहभागी हुने परम्परा तोडेर नारीलाई सहभागी गराउन मिल्ने, नाट्यश्वरमै बक्सेर भजन गाउने ठाउँमा नारीलाई भित्र हुलेर भजन गाउन लगाउन हुने अनि नारीले लाखे हुनै नहुने भनेर कुन ठाउँमा लेखेको छ र भन्ने प्रतिप्रश्न गर्नुभयो ।

अब यहाँनेर कुरा के आएको छ भने प्रशिक्षण दिने कार्यक्रम स्थगित हुनुको खास कारण के हो त ? आपसी तालमेलमा उतारचढाव किन आयो ? एकैथलोका एकै बासिन्दामा यो फरक आचरण कसरी पैदा भयो ? यसलाई स्पष्टसँग बुझेर समाधान र समन्वय गराउने अभिभारा तपाईँ हामी बीचमै हुनुपर्ने होइन र ? दोलखाली धरातल हामी सबैको हो, तल्लो टोललाई केही कुरामा आघात पर्दा माथिल्लो टोललाई पीडाबोध हुनुपर्ने होइन र ? माथिल्लो टोलमा वाद्यवादकहरू र भजन गाउनेहरू नहुँदा तल्लोटोलका सबैजना सहभागी भएर कार्यक्रम चलाउनुपर्ने होइन र ? हामी एकै थलोका हौँ भन्ने एकमतको भावना राखेर राजनैतिक पाटीं, समाजसेवाको उच्च निम्नकोटीको तुलना गरेर एकआपसमा दरार पैदा गर्नु भनेको तेस्रो जमातलाई ताली बजाउन दिने अवसर हो भनेर बुझ्नुपर्ने हो । खैर, अब अतीतका तीक्ततालाई भुलेर पूर्णनारायण श्रेष्ठ दाजुले बुझाउन लाग्नुभएको सामग्री लगायत जजस्को घरको कुनामा थन्किएको नृत्य श्रृङ्गारका सामान होस् या लाखे र ख्यालीको मकुण्डो होस् सबैलाई संकलन गरेर एकै ठाउँमा संग्रहित पार्ने काम गरौँ ।

यसको लागि विशेषतः भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ लगायत सामाजिक, साँस्कृतीक क्षेत्रमा अग्रणी भूमीका निर्वाह गर्नु भएका दोलखावासी दाजुभाई दिदीबहीनीले चासो लिएर व्यवस्थापन गर्नु पर्ने देखिन्छ । यसरी कुनै कार्य आफैमा संरक्षित कहिले हुदैन त्यस्को व्यवस्थापन हामीले गर्नु पर्छ । व्यक्तिगत सम्पतीको संरक्षण व्यक्तीले जसरी आफुले सुरक्षा गर्छ भने त्यसै गरी सार्वजनिक सम्पतीको संरक्षण अहिलेको कानून अनुसार स्थानिय निकायले गरी यसको संरक्षण गरी निरन्तरता दिनु पर्ने देखिन्छ । त्यो माथी भाषा, संस्कृती, चाडपर्व, पहिरन अनी परम्परा भनेको कुनै पनी जात जातीको आफ्नो जातिय पहिचान संग जोडिने भएकोले यस कार्यको संरक्षण गर्नु अत्यन्त आवश्यकता रहेको हाम्रो ठम्याई रहेको छ । जसको लागि स्थानिय वडा, नगरले विशेष पहल गर्नु पर्ने देखिन्छ ।

त्यसै गरी सामाजिक क्षेत्रमा साझेदारी कुनै पनी कार्यमा समस्या आएमा समन्वय गर्ने र त्यस्को समाधान गर्ने जिम्मेवारी स्थानिय निकायको भएको कारणले यी यस्ता समस्यामा चासो राखेर दोलखाको स्थानिय जात्रामात्रा, चाडपर्व संचालन गर्न सहयोग गर्न पनी हामीले आग्रह सहित अनुरोध गर्दछौं ।
दोलखामा अत्यन्तै आवश्यक रहेको वाद्यवादकहरूको नव सृजनाका लागि हामी सबै एक भएर अगाडि बढौँ । जय द्वाल्खा । जय भीमेश्वर । जय गुन्ला ।
