अब अलिकति अरनिको राजमार्ग र लामोसाँघु जिरी सडकको यात्राकै प्रसङ्गमा केही महिना पहिले तौथली यात्राको अतीतलाई पनि सम्झन मन लाग्यो ।
नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबूको बागमती प्रदेश स्तरीय चौथो बैठक प्राचीन शहर एवं ऐतिहासिक नगर दोलखामा सम्पन्न गरेर काठमाडौं फर्कने क्रममा नेवाः देय् दबू बागमती प्रदेशकै सदस्य दिलिप श्रेष्ठ, ने.दे.द. सिन्धुपाल्चोक जिल्ला समिति उपाध्यक्ष भेषकुमार श्रेष्ठ र ने.दे.द. त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष अमृतबहादुर श्रेष्ठले दोलखाको बैठक सकिने बित्तिकै ने.द.दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्य लगायत केन्द्रीय तहका पदाधिकारीलाई तौथल भएर काठमाडौं जाने आग्रह सहित हाम्रो समूह द्वाल्खा–स्वनिग (उपत्यका) प्रदेश सम्पर्क समितिलाई पनि निमन्त्रणा दिएपछि हामी पनि तैयार भयौँ । नेवाः देय् दबूका केन्द्रीय समिति, वागमती प्रदेश समिति, स्वनिग विशेष प्रदेश समिति लगायत १० जिल्लाका विभिन्न जिल्ला समितका पदाधिकारी सदस्यहरूको थुप्रै भेला भए पनि सबैजना आ–आफ्नो समूह बनाएर कोही काठमाडौं फर्के, कोही मौकाको सदुपयोग गरेर कालिन्चोक भगवतीको दर्शन गर्न गए ।
तौथली जाने नै पक्का भएपछि दोलखाली समूहमा म पनि जाने सोच राखेर मामा उपेन्द्र प्रधान (जो ने.दे.दबूका केन्द्रीय सदस्य हुन्) सँग सम्पर्क गरेँ । तर वहाँले बिहानै खबर नगरेकोले र तौथलीकै साथीहरू पनि सोही गाडीमा जाने भएकोले सिट पुग्न सम्भव नभएको खबर दिएको थियो । तैपनि पाखलतीमा आएर बस सिट भए सँगै जाउँला भन्ने अधुरो सूचनाले म अन्योलमा थिएँ । जे होला सो होला भनेर पोका पन्तुरा बोकेर पाखलती बसपार्कमा पुग्दा उपेन्द्र मामा र सकुना बहिनी (जो सोही संस्थाकै दोलखा–स्वनिग प्रदेश सम्पर्क समितिका अध्यक्ष र उपाध्यक्ष शान्ति)हरू गाडी लिएर आइसकेका रहेछन् । सोही संस्थाका केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठ (दोलखा) तालमेल मिलाउँदै दौडधुपमै व्यस्त थियो । म अन्योलमा भौंतारिरहेको देखेर मेरो कक्षा मित्र श्याम मास्के (भीम मा.वि. स्कूलमा कक्षा ८ देखि १० कक्षासम्म संगै पढेको) शंकरमान दाइको होटेल नजिकै उभिरहेको रहेछ र मेरो हालत देखेर अलि कड्केर भन्यो,– “किन गाडीमा सिट पाएन ?” उसलाई जवाफ दिन म अनकनाएँ ।
एकछिन पछी मैले,– “होइन होस् म बस मै जान्छु, उनीहरू तौथली भएर जाने रे, फेरि तौथलकै साथीहरू तीनजना छन् रे” श्यामको भनाई अनुसार उसको हिसाबले ठिकै होला तर पनि म चाहिँ कोहीसँगपनि तीक्तता व्यक्त गर्न नचाहने । पछि तौथलीका एकजना नआउने भन्ने सुनेपछि म गाडी तर्पm अगाडि बढ्दै थिएँ, बिहानै म पनि जान्छु भनेको भए सिटको निश्चित गर्न मिल्थ्यो, म त देवेन्द्र दाइसँगै फर्कने होला भनेर नसोधेको,” भन्दै थियो मामा उपेन्द्र हुन पनी विहानको समयमा त्यही दिन मेरो काठमाण्डौं जान निश्चीतता थिएन त्यो मेरो पनी गल्ती थियो होला ।
अनि सकुना बहिनीले– दाइ बस्नु बस्नु मिलेर जाउँला, भन्दा मलाई मनमा केही भरोसा उत्पन्न भए जस्तो लाग्यो । हुन त जुन गाडीमा गएपनि स्वखर्च नै थियो, तैपनि सँगै कार्यक्रममा आएपछि सँगै फर्किँदा यात्रामा केही उत्साह र रमाइलो हुन्छ भन्ने मात्र हो । पछि तौथलको भाइ भेषकुमार आएर बसेपछि यात्रा प्रारम्भ भयो सिन्धुपाल्चोकको तौथली यात्राको लागि ।
नेदेदबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्य, उपाध्यक्ष उमेश स्थापित, महासचिव सत्यनारायण डंगोल, वागमती प्रदेशका अध्यक्ष विष्णुगोपाल महर्जन लगायत अन्य यात्रु सदस्यहरू अर्कै गाडीमा बसे । उपाध्यक्ष शान्त भाइ उसकै भान्जो इन्जिनियर श्यामचन्द्रको गाडीमा बसे ।
मौसम एकदमै सफा थियो । हाम्रो यात्राको गाडी विद्युतीय वाहन भएकोले अलि सहज भएको थियो । इन्धनको गन्ध नआउने, आवाज पनि अन्य गाडीको तुलनामा सुस्त भएकोले यात्रा सुविधापूर्ण थियो । सबैभन्दा पछाडि सुनी, कल्पना र किरण बसे । बीचमा म र मिलन अनि अगाडि सकुना, शान्ति र भेषकुमार बसे । सबैभन्दा अगाडि उपेन्द्र मामा र चालक भाइ ।
दोलखाबाट हिँड्दा मौसम सफा थियो, आकाश खुल्ला भएकोले दायाँबायाँका दृश्य छर्लङ्ग देखिएको थियो । जब चर्णावती (चरङ्गे) खोला कटियो त्यसपछि आकाशमा बादलले घुम्टो ओढाउँदै सूर्यलाई नवदुलहीलाई झैँ उघार्दै छोप्दै झल्याक्झुलुक पार्दै गयो । खरिढुङ्गामा एकछिन बसेर फोटो लिने सबैको चाहनालाई प्रकृतिले समयलाई मध्यनजर राखेर अगाडि बढ भन्ने सन्देश दिँदै पानीको छिटा पारेर गाडीको गति धिमा गर्न दिएन र हामी एकैपल्ट मुढेमा विश्राम गर्न पुग्यौँ ।
वागमती प्रदेश समितिको दोलखामा भएको गतिविधि यो यात्रामा प्रवेश गरिन । किनकि हाम्रा अग्रज साहित्यकार एवं सोही सम्पर्क समितिको सल्लाहकार अमरकुमार दाईले उहाँकै यात्रा अनुभूतिमा विस्तृत वर्णन गर्नुभएको छ । जुन बाँपिझ्याला डटकममा प्रकाशन भैसकेको छ । उहाँहरू चाहिँ भान्जो राजन सँग उनकै गाडीमा आउने कुरा भएपछि हामी अलग भएका थियौँ ।
तैपनि केही स्मरणयोग्य कुरालाई चाहिँ राख्न चाहेँ । यो वागमती प्रदेशको चौथो बैठकमा सम्मिलित भएको गतिविधिको स्मरण भन्दा पनि नेवाः देय् दबूका केन्द्रीय पदाधिकारीहरू, वागमती प्रदेश अन्तर्गतका अध्यक्ष लगायत पदाधिकारी ७ जिल्लाका सदस्यहरू, स्वनिग विशेष प्रदेशका पदाधिकारीहरू, काठमाडौं जिल्ला समितिका पदाधिकारीहरू प्राचीन नगरी दोलखामा उपस्थित भएर अलौकिक मत्स्येन्द्रनाथको रथ यात्रामा सहभागी भएर उत्साह र उमंग भरिउको क्षणलाई सायद यो जुनीमा अविस्मरणीय नै रहनेछ ।
केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्य, उपाध्यक्ष उमेश स्थापित, महासचिव सत्यनारायण डंगोल, वागमती प्रदेश अध्यक्ष विष्णुगोपाल महर्जन, स्वनिग विशेष प्रदेश अध्यक्ष श्रीकृष्ण महर्जन, महिला उपाध्यक्ष गंगा महर्जन लगायत सबै अतिथिले दोलखाको पुरै नगर परिक्रमाबाट उत्साहित भएकोमा दोलखा नै मन्त्रमुग्ध भएर मुस्कुराएको जस्तो लागेको थियो ।
वागमती प्रदेशको चौथो बैठकको कार्यक्रम समाप्ति भएको दिनको साँझ होटल दोलखा लजको प्राङ्गणमा भएको रात्री भोजमा काठमाडौंबाट आएका साथीहरूले गरेका सामुहिक नृत्यले दोलखा गुञ्जायमान भएको क्षण स्मरणीय रह्यो ।
यतिबेला मुढेमा सामान्य नास्ता गरिसकेपछि शान्त आई पुग्यो, उ उनकै भान्जा इन्जिनियर श्यामचन्द्रको गाडीमा आएकोले अलि पछि परेको थियो । आउने बित्तिकै,– ‘माथि यहाँका साथीहरूले स्वागत र शुभकामना दिन कुरिरहेका थिए, तपाईँहरू चाहिँ सुइँसुइँ आउनु भएछ,’ भन्यो । हामीलाई पूर्व सूचना भएन त्यसैले आयौँ भनेर आफ्नो मनशाय राख्यौँ । त्यहाँबाट पुनः अगाडि बढेर सिलढुङ्गामा पुगेर केन्द्रीय अध्यक्ष रहनु भएको गाडीलाई कुर्यौँ । केही बेरमै अर्को गाडी आएपछि त्यसैलाई अगाडि लाएर लिसंखु गाउँपालिकाको जेठल बस्तीतिर प्रवेश गर्यौँ ।
पहाडी परिवेश होचा अग्ला भू–बनोट जस्तो छ त्यस्तै ठाउँमा बस्ती भएकोले होला कुनै घर अग्लो देखिन्थ्यो भने कुनैको छानामात्र पनि देखिन्थ्यो । २०७२ सालको प्रलयकारी भूकम्पले प्रत्यक्ष असर पारेको बस्तीमा त्यो जेठल पनि अछूतो रहेनछ भन्ने कुरा त्यहाँ बनेका घरहरूले खुल्ला चित्रण गरेका छन् । सबैमा एकैनासे बनोट छाना नै त्यो विषम घटनाको उदाहरण थियो ।
सडकको हालत जेठल बस्तीसम्म पक्की नै भएपनि खोल्सा पुग्ने बेलादेखि कच्ची, ठाडो भिर, पहरा, लेस्याइलो माटा र गिर्खाहरू अनि सामान्य खाल्डाखुल्डीले मिनीटाटा गाडी भन्दा ठूला त्यहाँ गुडाउन सम्भव छैन भन्ने स्पष्ट देखिन्थ्यो । झन् खोल्सानेर त ठूलठूला चट्टानहरूले पहाडको पहिचान दिइरहेको थियो । तौथल र जेठलको सिमाना नै त्यही खोल्सा रहेछ । जुन खोल्सालाई पाहेँ झोर भन्दो रहेछ ।
खोल्सावारि लिसंखु गाउँपालिका र पारि त्रिपुरासन्दरी गाउँपालिका । भेषकुमार भाइले जेठालको बस्तीको बारेमा मिश्रित जनजातिको बसोबास, दोलखाकै शिक्षकहरू केहीले त्यस ठाउँमा अध्यापन गराइरहेको जानकारी दिए । समयको दौडानमा अलि विस्तृत जानकारी लिन पाइएन । पल्लो डाँडामा निस्केपछि उनै भेष भाइले त्यहाँबाट तौथली बजार राम्रोसँग देखिने यता सिलढुङ्गा डाँडो र जेठल पनि देखिने भएकोले तस्बिर खिँच्ने भए खिँचे हुन्छ भनेकोले उपेन्द्र मामाले क्यामेरा निकालेर बाहिर निस्केर केही दृश्य कैद गरे पनि । मैले नि मोबाइलमा केही खिँच्न त खोजेको थिएँ तर प्रकाशले साथ नदिएकोले लिइन । किनकि हुस्सुले पुरै बस्ती नै छोप्ने गरी मडारिरहेको थियो ।
त्रिपुरासुन्दरी गाउँ पालिकाको ९ वटा वडामध्ये ३, ४, ५ र ६ नं. वडा भित्र पुरै नेवार बस्ती रहेको त्यो तौथली नेवार वस्ती बजारमा फराकिलो सडक अनि दायाँबायाँ ठूला र अग्ला घरहरूले भरिएको स्थानीय साँस्कृतिक र धार्मिक सहिष्णुताले भरिएको नेवार बस्ती हो । पूर्वतिर खरिढुङ्गासँग मितेरी लगाउने गोडेटो बाटोबाट पुगिने शिखर (चोका) चुली अग्लो पहाड उत्तर तिर पिस्कर गाउँ जाने बस्ती, दक्षिण तिर जेठल र सिलढुङ्गा र पश्चिममा चाहिँ पुरानो त्रिपुरासुन्दरी मन्दिरको खाली बस्ती भित्र रहेको रहेछ ।
हाम्रो यात्राको गाडी तौथली बजारको पश्चिमी सडकको एउटा घर सामु पुग्ने बित्तिकै शान्ति (मेरो भाइबुहारी)ले गाडीकै झ्यालबाट नियाल्दै,– “ल हेर्नुस् दाई, बहिनी नानीहरू ऊ यही हो मेरो माइती घर, ऊ मेरो आमा माथि छतबाट हेरिराख्नु भएको छ,” भनेर देखाइन्, अनि यताको काम सकाएर आमालाई पनि भेट्टाउने र घर पनि देखाउने कुरा भयो । त्यसपछि अगाडि बढियो । गाडी बजार भन्दा अलि वर नै रोकेर निस्क्यौँ ।
त्यतिबेला नै बाजागाजा बजेको र केही भजन पनि गाएको आवाज कानमा ठोक्किन आयो । मैले सोच्न थालेँ, सायद कुनै मन्दिरमा पूजाआजा चलिरहेको हो कि या केही कार्यक्रम भैरहेको होला भनेर । त्यही बेला केन्द्रीय उपाध्यक्ष शान्त कुद्दै आएर.., ‘होइन, तपाईँहरू किन ढिला हो..? छिटो कार्यक्रम सकाएर काठमाडौं जानुपर्छ भनेको तंं…’ भनेर कुर्लन थाल्यो । उनको बानी भनौं या विशेषता जहाँ गए पनि हतारो नै मान्ने गर्छ । मैले ‘हामी आउँदैछौँ त, तिम्रो पो गाडी छिटै आइपुग्यो र चाँडो भयो हामी त भर्खरै आएका..’ भनेर सकुना बहिनी तिर औल्याएँ ।
सकुना बहिनी स्वास्थ्यको कारणले अलिक सुस्तरी हिँड्ने बानीले हाम्रो पाइला पनि उनीसँगै मन्द गतिमा चलिरहेको थियो । सकुना बहिनीको शारिरीक बनोटले शीघ्र पाइला चाल्न नसक्ने नै थिइन् । यो तौथलीको यात्राको मूल भूमिका नै उनैको थियो ।
तौथली बजारमा त अर्कै तामझाम मिलाएको रहेछ, साथी दिलिप, अमृत र बिमल अनि रामप्रसादले । नेवाः देय् दबूकै केन्द्रीय अध्यक्ष लगायत अतिथिवर्ग सबैलाई स्वागत गर्न पूर्ण व्यवस्था मिलाएर महिलापुरुष दुवैले स्थानीय नेवारी भेषभुषामा सजिएर हातहातमा खादा माला र टीकाको लागि पूmल अक्षताले भरिएको थाली बोकेर पंक्तिबद्ध भएर बसेका रहेछन् । पुरुष वर्गले सहनाइ सहित बाजागाजा महिलाले मादल र छ्याली (सानो खालको झ्याली) बजाएर भजन ‘हरे राम हरे राम’ गाइरहेका थिए । सबैलाई खादा माला लगाइदिएर स्वागत गरेपछि नगर परिक्रमा तर्पm लाग्यौँ ।
हामी दिलिप साथीकै निर्देशनमा बाजा समूहको पछाडि रहेर नगर परिक्रमामा सहभागी भयौँ । मैले आफ्नो पत्रकारिताको भूमिका निभाउन मोबाइलबाटै परिक्रमाको दृश्यहरू भिडियोमा उतार्न थालेँ । हुन त हाम्रो बाँपिझ्याला मिडियाका सम्पादक उपेन्द्र प्रधान मामाले क्यामेरामै दृश्यहरू लिइरहेका थिए । तथापि आपूmलाई पनि काम लाग्छ भनेर ठाउँठाउँका दृश्यलाई मोबाइलमा भर्न थालेँ । तर मेरो मोबाइलमा चार्ज सकिएकोले चुपलाग्न बाध्य भएँ । यो मेरो लोभिपनको दुर्भाग्यपन थियो कि के हो छुट्याउन गाहे प¥यौ ।
सबैभन्दा पहिले मूल सडक नजिकैको गणेश मन्दिरमा परिक्रमा गरियो । मन्दिरको देवल खासै ठूलो रहेनछ । सानो कुटी आकारको रहेछ । त्यसपछि भीमसेन थान मन्दिरमा पुग्यौँ जुन मन्दिरमा प्राकृतिक शिला नै भएपनि अलि पैmलिएको आकारको रहेछ । दोलखाको जस्तो ठडिएको र पाटा आकारको रहेनछ ।
त्यहाँबाट मुख्य बजारको फराकिलो सिंढी उक्लँदै पश्चिमतिर लाग्यौँ । टाढैबाट अग्लो गजुर सहितको मन्दिर देखिएपछि त्यही नै त्रिपुरासुन्दरीको मन्दिर रहेछ भन्ने ठम्याएँ मैले । नभन्दै त्यही रहेछ । नजिकै अग्ला खम्बा पनि देखियो । अनि प्रवेशद्वार पनि । दायाँबायाँ अन्य देवी देवताका आकृति सहित मानव निर्मित अनेकौँ देवी देवताका मूर्तिहरू देखिए । अगाडि निकै अग्लो प्रवेशद्वार । अनि अग्लाइ आकृतिमा त्रिशुल गाडिएको । हामी मन्दिर परिवेशमा प्रवेश गयौँ ।
मन्दिरको पेटी मुन्तिर जुत्ता खोलेर राखेर मन्दिर उक्ल्यौँ । पहिलो तलाको उत्तरकक्षमा भगवती त्रिपुरासुन्दरीलाई विराजित गरिएको रहेछ । देवीको सामु उभिएर दक्षिणा चढाएर मनैदेखि श्रद्धा व्यक्त गरी ढोगियो । त्यतिबेला मैले सबै परिवारलाई सम्झेर दक्षिणा अर्पण गरेँ । पूजारीद्वारा कालोटीका र रक्तचन्दन ग्रहण गरेर पूmल प्रसाद लिएर तल झरियो ।
हाम्रो आतिथ्यलाई भव्य सम्मान स्वागत गरेर मात्रै तौथलीका साथीहरू त्यहाँका गण्यमान्यलाई चित्त नबुझेर केही कुराको आदानप्रदान गर्न सामान्य सभाको पनि आयोजना गरिएको रहेछ । त्यर्सै अनुरुप सभापति लगायत प्रमुख अतिथि, अतिथिको रूपमा मञ्चरूपी कार्यक्रम भयो । त्यहाँको वातावरण र कार्य व्यवस्थापनको खुलेरै प्रशंसा गरे सबैले । विशेषगरी हाम्रा केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्य अति नै खुशी नै देखिन्थे । त्यो खुशीको सट्टामा तौथलका दाजुभाइ र दिदीबहिनीहरूलाई दिइने शब्द नै नभेट्टाइएको तर्क आफ्नो मन्तव्यमा व्यक्त गरे । जे सोचेर आएका त्यो भन्दा बढी नै सम्मान र आदर पाएकोमा धन्यवाद सिवायको अन्य शब्द नै खोज्नुपर्ने कुरा अध्यक्ष पवित्र वज्राचार्यले सुनाए ।
त्यसैगरी वागमती प्रदेशका अध्यक्ष विष्णुगोपाल महर्जनले आपूmलाई नेवार समुदायहरू ठूला शहरमा मात्र होलान् भन्ठानेको तर दोलखा र तौथलमा पुगेपछि नेवार समुदाय, संस्कृति, परम्परा र सम्पदाहरू पहाडी ठाउँमा पनि रहँदा रहेछन् भन्ने प्रत्यक्ष जानकारी पाएको बताए । साथै उनले मकवानपुर जिल्लामा रहेका नेवारहरूको उत्थानका लागि गुठी घर, कार्यक्रम स्थल बनाएर भेला गराउने र नेवारी परम्परालाई दिगो राख्न विभिन्न पहल गरिरहेको बताए ।
त्यसैगरी सो सामान्य रूपमा आयोजित कार्यक्रममा महासचिव सत्यनारायण डंगोल, उपाध्यक्ष शान्त श्रेष्ठ, सदस्य उपेन्द्र प्रधानले पनि तौथली बासिन्दाको खुलेर प्रशंसा गर्दै जुनसुकै कार्यक्रम मिलेर गर्ने भन्दै धन्यवाद दिए । त्यस्तै दोलखा–स्वनिग प्रदेश सम्पर्क मञ्चका अध्यक्ष सकुना श्रैष्ठले पनि आपूmलाई यति धेरै सम्मान र स्वागत गरेकोमा खुशी व्यक्त गदैँ धन्यवाद सहित अब सँगै मिलेर कार्यक्रम गर्नको लागि आपूm तैयार रहेको बताइन् । सोही कार्यक्रममा तौथलको तर्पmबाट पूर्व वडाध्यक्ष विष्णुभक्त श्रेष्ठले तौथल र दोलखाको नाता माटो, पाटो र बाटोसँग सम्बद्ध रहेको बताउँदै पहिले पहिलेका पुर्खाहरूले नेपाल (काठमाडौं) जानलाई यहीँको बाटोबाट आवत जावत गर्ने गरेको प्रसङ्ग पनि उठाए ।
वर्तमान अध्यक्ष यादव श्रेष्ठ र सभापति अमृतबहादुर श्रेष्ठले आगन्तुकहरूमध्येका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष र वागमती अध्यक्षलाई तोथलीको उपहार स्वरुप खाडीको पटुका (जन्छी) उपहार दिए । सो अवसरमा बाह्रबिसे नगर समितिका अध्यक्ष यज्ञश्वर श्रेष्ठ पनि उपस्थित थिए । कार्यक्रम सकिएपछि स्थानीय चलन अनुसारको सगुन दिईएको थियो । त्यसपछि खाना खाने तरखरमा लागियो । खानाको व्यवस्था एउटा होटेलमा गरिएको रहेछ ।
हुन त मलाई पनि असहजपन लागेको थियो सम्बोधन गर्दा उनी शान्तिलाई मात्र होइन कि मेरै नाम लिंदा पनि काठमाडौं जिल्ला समितिको कला साहित्य विभागको संयोजक भन्नुपर्ने हो । तर पनि त्यसलाई सामान्य ठानेर मौन रहेँ । यो पनी मेरो आफ्नैपन भनु या संयोग ।
खाना खाइसकेपछि साथी दिलिपले मसग आएर खुसुक्क एउटा कुरा सुनाए..,“साथी ! यति राम्रो कार्यक्रम गरियो तर एउटा कुराले साह्रै दुःख लाग्यो,” । भन्दा मलाई अचम्म लाग्यो साथै कौतुहलता पनि । मैले कारण बुझ्न चाहेँ,.. उनले फेरि भन्यो,.. “मैले त शान्तिलाई सम्बोधन गर्नै भुलेछु, उनी हाम्री चेली हुन् त्यो आफ्नो ठाउँमा छ तर उनी पनि त सम्पर्क मञ्चकी उपाध्यक्ष हुन् नि त, मलाई शान्तले केही भनेन, खाली चाँडो चाँडो सकाउनु पर्छ भन्न थाल्यो… साह्रै नमज्जा भो..” भनेर अति नै दुखित भएको देखेर मैले भनें,..“केही छैन साथी कहिलेकाहीँ यस्तो हुन्छ नै त्यै माथि तपाइँकै आफ्नै चेली बहिनी हुन् उनले त्यस्तो महशुस नगर्लिन्, आफ्नो माइतीघरमा जेठाजु (दाइ), नन्दहरू र समितिको ठूला मान्छेहरू आएकोमा दंग छिन् शान्ति बुहारी..” मैले ढाडस दिएर भनें । तैपनि दिलिपलाई खट्को लागि नै रहेको मैले महशुस गरेँ ।
केही बेरको बसिबियाँलोमा तौथलीको बारेमा अलिक जानकारी लिने सन्दर्भमा स्थानीय बुढापाकासँग सोद्धा स्थानीय बासिन्दाहरू सबैजसो शहरतिरै रहने हुँदा यताको बजार गाउँ प्रायः शून्य नै रहन्छ । असारमा एकाध खेतीपातीका लागि धान रोप्न मकै छर्न र आलु रोप्न आउने गर्छन् । पहिलेको जस्तो खेतीपातीमा पनि मन लगाएर गर्ने जाँगर नचलेको सुनियो । कारण थियो परिश्रम र लगानी अनुसारको उब्जनी उठाउन नै गाह्रो भएको पाइयो । अझ दोलखामा भन्दा बढी नै खेतीपाती भएको देखिन्छ ।
यहाँको उब्जनीको मुख्य स्रोत नै आलु नै रहेछ अनि मौसमे बालीमा धान र मकै साथै अन्य तरकारीबाली नै यहाँको कृषि उपज हो । व्यापार व्यवसायको हिसाबले तौथलका बासिन्दाको प्रचलित व्यापार नै ग्रिल उद्योग हो । जुन नेपाल राज्यभरका ठूला ठूला शहरमा मात्र नभएर भारतको पश्चिम बङ्गालसम्म पैmलिएको पाइन्छ । यो उद्योगको मूल विशेषता नै ‘आपैm कर्मी आपैm मालिक’ हुनु देखिन्छ । यदाकदा हार्डवेयर पसल, कपडा पसल, होटलहरू पनि रहेका छन् । यहाँको अर्को विशेषता भनेको छोरा समान छोरी पनि सम्पन्न रहोस् भनेर विवाहित छोरीहरूलाई पनि उद्यमी मार्गमा लगाउने गर्छन् ।
तौथलीमा २०७८ सालको मतदातामा जनाएको संख्या अनुसार २ हजार ९ शय जनसंख्या रहेको प्रारम्भिक तथ्यांकमा देखिन्छ । यसमा थप संख्या पनि हुन सक्ने साथी दिलिपले बताए । यहाँ विभिन्न टोलहरू रहेका छन् । स्थानिय नेवारी भाषामा टोललाई ‘ट्वाल’ भन्ने गर्छन् जुन प्राचीन शहर दोलखाको नेवारी भाषासँग मिल्छ । दोलखाको र तौथलीको नेवारी भाषामा करीब ९५प्रतिशत शब्द मिल्छ तर बोलीमा भाका अलिक फरक सुनिन्छ । अब यहाँको इतिहास, संस्कृति, परम्पराबारे बाँपिझ्याला मिडियामा यो भन्दा पहिले नै सम्प्रेषण गरिसकेको हुनाले यहाँ वर्णन गरिहन आवश्यक ठानिन मैले ।
खानाको कार्यक्रम सकिएपछि नेवाः देय् दबू काठमाडौं तर्पmका साथीहरू साँझमा बैठक भएकोले फर्किहाले । हाम्रो समूहलाई भने शान्ति (जो मेरी भाइबुहारी हुन्)ले आमालाई भेटेर जाने र हामीलाई घर पनि चिनाइ राख्ने कुरा गरिन् हामी सबै त्यतै लाग्यौँ । सडकको माथिल्लो तर्पm रहेको साँढे दुईतलाको शहरी डिजाइनको घरको छतमा शान्तिकी आमा बसिरहनु भएको थियो, करीब ७६–७७ उमेरको होला । दिनभरी घरको रखवारीको रूपमा रहनु भएको रहेछ । छोराछोरीहरू सबै काठमाडौंमा रहेका सबै व्यापारीहरू जागिरेहरू । कान्छो छोरो हेमन्त त मसँगै पढेको हो । आमालाई काठमाडौंमा लगेर राख्न खोजेको तर नमान्नु भएको शान्तिले बताइन् । बुहारी घरमा भएपनि दिनभरी नोकरीमा जाने रहिछ । बुढाबुढीलाई शहरको तामझामसँग कुनै रहरको सम्बन्ध नहुने आफ्नै गाउँघरको स्वच्छ हावा र गाउँमै उत्पादित असल र ताजा तरकारीको मोहलाई त्याग्न नसक्ने मोलिक विशेषता नै हो ।
त्यहाँ केही बेर बसेर चिसो पिएर उसिनेको आलु खाएर हामी निस्क्यौँ । त्यहाँबाट बिदा भएर हामी काठमाडौंतर्पm लाग्यौँ । त्यहाँ एकजना अमृतबहादुर श्रेष्ठ थपिनु भयो । जो त्यही त्रिपुरासुन्दरी गाउँपालिकाबाट नेवाः देय् दबूका अध्यक्ष हुन् । तौथली बजारबाट केही तल झरेपछि झण्डा डाँडा पुगियो जुन ठाउँलाई ‘लभ्ली डाँडा’ पनि भन्ने गर्छन् कोही कोही ‘त्रिशल डाँडा’ पनि । सडकको छेउदेखि नै ढुङ्गा बिछ्याएर माथि डाँडासम्म सिंढी बनाएर दायाँबायाँ नेपालको राष्ट्रिय झण्डा राखेर त्यो स्थललाई शोभायमान बनाएको रहेछ । अलि माथि पुगेपछि फराकिलो चउर । पश्चिमपट्टि अग्लो त्रिशुल गाडिएको छ । दायाँ तिर पर्खालमा प्रेम प्रतीक पानबुट्टे आसन बनाएर युगल जोडीलाई मनोरञ्जन दिने हिसाबले बनाएको रहेछ ।
त्यही डाँडाबाट उत्तर तिरका होचा अग्ला पहाडबारे जानकारी गराउँदै भेषकुमारले नजिकै रहेको गंगाती गाउँ र अलि पर रहेको पिस्कर गाउँ देखाउँदै केही दशक पहिले २०४० साल माघे संक्रान्तिको दिनमा राज्यले दमन गरेको बेलामा पिस्कर हत्याकाण्ड भएको महादेवको मन्दिरलाई इङ्गित गरेर देखायो । त्यतिबेला जनतामा जागरुक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने गर्थे । राज्यमाथि द्रोह गर्नलागेको भन्ने आरोपमा निर्दोष व्यक्तिलाई मारेको घटना सुनाए । त्यसताका त्यो हत्याकाण्डले देशैभरी आतंकित बनाएको थियो । जुन घटनामा वीरबहादुर थामी, इले थामी र पलकमाया थामीको हत्या भएको थियो । त्यहीबेला साङडोल्मा, बेत्रावती पौडेल, सावित्री बोहरा, चिनी कार्काी लगायत धेरैलाइै पक्राउ गरेर राज्यद्रोहीको नाममा गिरफ्तार गरे क्रुर यातना दिएको थियो । त्यतिबेला पञ्चायती शासनले अत्यन्तै अन्याय गरेको कार्यलाई निमिट्यान्न पार्न सिन्धुपाल्चोकको धेरै गाउँबाट मालेको संगठन बढाएर जागरण अभियान चलाएको थियो । त्यो पिस्करको बस्ती देख्दा ती घटना अझै ताजै जस्तो महशुस हुन्छ ।
त्यो त्रिशुल डाँडामा बसेर बहिनी सकुना, सुनी, मिलन, किरण र शान्तिले इच्छ्याए अनुसारको तस्बिरहरू आ–आफ्ना क्यामेरामा कैद गरे । मामा उपेन्द्र प्रधानको डिजिटल क्यामेराले कुनै उकल र कुनै समूहगत तस्बिर लिए । बहिनी सकुनले मेरो एकल तस्बिर अग्लो त्रिशुललाई पृष्ठभूमि बनाएर लिइदिइन् । त्यतिबेला मेरो दुइटै मोबाइल लगभग शून्यमा पुगिसकेको थियो । त्यहाँबाट हामी फर्केर चागलको ढोकवती सडक हुँदै टेकनपुर सुनकोसी तिर लाग्दै थियौँ । त्यसपछि म निदाएछु ठाउँ नै हेर्न पाइएन । एकैपटक खाडीचौर पुगेपछि मात्र म ब्युँझे । कति लामो निन्द्रामा परेछु खैई पाएन छु । त्यो यात्रालाई यही बिट मार्दै अब पुनः जिरी यात्राकै क्रमलाई जोड्न चाहेँ ।
क्रमशः….
बालकृष्ण श्रेष्ठ “पासा”