बालकृष्ण श्रेष्ठ “पासा”
२०४१ सालतिरको कुरा हो । म त्यतिबेला कामको खोजीमा काठमाडौं आएको थिएँ, यसै सिलसिलामा म कहिले भाइ हरि श्रेष्ठकोमा कहिले वागबजार प्रभुनारायण मामाकोमा अनि कहिले कता गरेर रात गुजारेको थिएँ । यही क्रममा मेरो ठूलिआमाको छोरा चन्द्र श्रेष्ठ (डा. प्रायश्चित श्रेष्ठ दाइको कान्छो भाइ जो अहिले जर्मनमा छ ।) सँग भेट भयो । मैले सानै उमेरदेखि जाने नि नजाने नि कविता, व्यङ्ग्य, कथा लेख्ने बानी थियो ।
जहाँ कापी र कलम भेट्टाइन्थ्यो त्यहीँ कविता कोरी हाल्थेँ, मलाई छन्दको ज्ञान भने पटक्कै थिएन अहिले पनि छैन तथापि गद्य कविता लेख्न चाहिँ छोडेको छुइन । त्यही क्रममा मेरो ससाना कविताको अंशबाट प्रभावित भएर चन्द्र भाइले ‘कविजी’ भनेर जिस्काउँदै बोलाउने गथ्र्यो । हरि भाइले एकदिन उनै चन्द्र भाइ बसेको घर भोटेबहालमा जाउँ भनेर लगेर गयो । त्यतिबेला हरि भाइले साइकल चलाउने गथ्र्यो, जहाँ गए पनि मलाई अगाडि राखेर लाने गथ्र्यो । त्यो दिन पनि उसँगै सायकलमा बसेर गएको थिएँ ।

भोटेबहालमा चन्द्र भाइको आमा र बा (मेरो चाहिँ ठूलीआमा स्वर्गीया सुन्दर श्रेष्ठ र ठूलोबुबा स्वर्गीय दानबहादुर श्रेष्ठ) पनि हुनुहुन्थ्यो । उहाँहरूले मलाई असाध्यै माया र स्नेह दिनुहुन्थ्यो । हामी त्यहाँ पुग्दा चन्द्र भाइ एउटा झोला बोकेर बरण्डामा निस्कँदै थियो, सरासर तल ओर्लेर,– “ल, दाजुहरू अब हामी यहाँ बस्ने समय छैन, यहाँबाट वागबजार जाउँ रामनारायणलाई लिएर बसपार्क जाने र अनि तातोपानी जाने,” भनेर साइकल निकाल्न थाल्यो । त्यतिबेला साइकल चढ्न जान्ने मान्छे हिजो आजको हिसाबमा कारवाला मालिक जस्तै लाग्थ्यो बाहिरबाट आउनेहरूका लागि ।
हामी वागबजारमा गएर रामनारायण भाइ (मेरो ठूलो मामा चूडानारायण श्रेष्ठ लड्डु)को जेठो छोरो जो अहिले हात्तीवन ललितपुर मा बसिरहेको छ) लाई लिएर रत्नपार्क वागबजार पछाडिको बसपार्कमा गयौँ । चन्द्रले बसकोे टिकट लियो, त्यतिबेला प्रतिव्यक्ति ९ रुपैयाँ भाडा लिएको जस्तो लाग्छ । त्यसपछि ठूलो बस तातोपानीको लागि हिँडेको थियो । जाउँ भन्यो हिँडें तर के कामको लागि हो म अनभिज्ञ थिएँ । बाटोभरी चन्द्रभाइले रामनारायण र हरिलाई तातोपानी र खासा व्यापारको बारेमा जानकारी दिंदै थियो । म आपूmलाई चाहिँ किन लगिंदैछ भन्ने समेत सुइँको थिएन ।

खासा चीनको सिमाना घुम्न जाने भनेपछि मख्ख परेर पछि लागेको थिएँ । त्यतिबेला दोलखासम्म पनि त्यति राम्रो बस चलेको थिएन, चरिकोटमा आएर खाँदिएर आउनुपर्ने थियो । त्यतिखेरको त्यो कोदारी जाने बसमा पनि हालत त्यस्तै देखेको थिएँ । अधिकांश यात्रु शेर्पा, तामाङहरू नै थिए । सबैको कुरा उस्तै थियो, ठाउँठाउँमा चेकिङ् हुन्छ, अलिकति कुरा तलमाथि भयो कि सामान जफत हुन्छ भन्ने । खासाबाट कटन सस्तोमा ल्याएर काठमाडौंमा अलिक बढी मूल्यमा बिक्री गरिनु व्यापारीको विशेषता नै हो । यस्तै यस्तै कुरा सोच्दा सोच्दै बस बाह्रबिसे बजारमा पुगिसकेको थियो ।
२०३३–३४ सालतिर दोलखाबाट धारेढुङ्गा भएर पैदल मार्ग हिँड्दा त्यो बाह्रबिसे बजारमा पहिलो पटक पाइलो हालेको थिएँ । त्यतिबेलाको बजार कस्तो थियो खासै याद भएन । तर अहिले तातोपानी नाकाबाट हुने व्यापारको क्रमले बजार निकै चहलपहल थियो । प्रत्येक पसलमा रङ्गी बिरङ्गी सामान झुण्ड्याएर बजारको चहकपन नै रमाइलो देखिन्थ्यो । भाँडाकुँडा, कपडा, टिभी, रेफ्रिजेरेटर, स्पिकर (साउण्डबक्स), रङ्गग्चङ्गी छाता, झुल, तन्ना आदि इत्यादि बाहिर पेटीमै राखिएका थिए ।

बाह्रबिसेको एउटा होटलमा खाना खायौँ । त्यसपछि तातोपानी प्रस्थानको तैयारी भयो । त्यहाँ देखि उता त मेरालागि पूरै नौलो थियो । बायाँ खोँचमा सुनकोसी नदीको हरियो दह कतैकतै हल्का भिरालो ठाउँमा उर्लेको छाल, झर् झर् एकनासको आवाज, अनि आकाशै छोलान् कि जस्तो अग्ला अग्ला पहाडलाई नियाल्दै रहेँ म । कविहरूको मस्तिष्कमा यस्तै यस्तै दृश्य र वातारणले नै शब्दको सृजना हुँदा रहेछन् भनेर मनमनै कल्पेँ ।
निकै माथि पुगेपछि चन्द्रभाइले मलाई इसाराले देखाउँदै,– “ल, हेर्नु कवि दाजु, ऊ त्यो पहाडको खोँचको रातो झण्डा छ नि, हो त्यहाँबाट चीन देश शुरु हुन्छ । त्यहाँबाट नेपालीहरू चीनीयाँको अनुमति बिना एक पाइला अगाडि बढ्रन पाइँदैन ।” भन्यो । मैले “ए.. हो र ?” भन्दै त्यो परिवेशलाई नियालेँ । जहाँबाट चीनको प्रान्त शुरु हुन्छ भनिएको थियो त्यहीँबाट आकाश जमीनको अन्तर देखियो विकसित मुलुक र विकासोन्मुख मुलुकको नमूना । चीनिया भूभाग पुरा जङ्गलले भरिएको थियो, नेपालतिर घाँस र उत्तिसका पोथ्रा र बुट्यानमात्र । उता पर्खाल लाएर सुरक्षित थियो यता ढिस्को खोस्रिएका,े भत्किएको र पैह्रोले घिस्रिएको देखियो ।
करीब १२ः०० बजेतिर तातोपानी नाकाको कोदारी राजमार्गको प्रवेशद्वार भन्दा २०० मिटर वर नै गाडी रोकियो । त्यहाँ अलमल गर्ने अवसर नै थिएन । राम नारायण र चन्द्र त्यहाँको पसल पसलमा पसेर कटनको मोल मोलाइमा व्यस्त थिए । हरि पनि उनीहरूकै पछि थिए । म भने तिब्बतको ल्हासा जाने सडक प्रवेशद्वारको अलि वरबाट सिमा पारिको विशाल पहाडको खोँचमा बनाइएको अग्ला अग्ला भवन र त्यसको बनोट हेरेर टोल्हाउन थालेँ ।
चीनको सीमाको पुलको बीचमा पारिपट्टि दुईतिर चीनियाँ सुरक्षकर्मी थिए, यसो हेर्दा किशोर उमेरका देखिन्थे । अलि वर नेपाली सुरक्षाकर्मी थिए । एकजना भरियाले कपडाको भारी बोकेर हातमा केही कागजपत्र बोकेर चीनियाँ सुरक्षाकर्मीलाई देखाएको मात्र के थियो, उसले के बुझ्यो के ठान्यो थाहा छैन, बोल्दै नबोलीकन ती भरियालाई ड्यामका ड्याम लात्तले भकुर्न थाल्यो, अर्को आयो उसले पनि भारीलाई नै पल्टिने गरी हान्न थाल्यो, यता नेपाली सुरक्षाकर्मीले सायद नाटक पो देखे जस्तो लाग्यो कि के हो घाँटी तन्काएर हेर्न बाहेक न छुट्याउन गयो, न केही भन्न सक्यो ।
म त झनै प्रज्ञाप्रतिष्ठानको रङ्गमञ्चमा बसेर वीर गोर्खालीको कमजोर नाटक हेरे भैmँ ट्वाँ परेर बसेँ । पछि ती भरियाले गोडा खुम्च्याउँदै फर्केर आएर नेपाली सुरक्षाकर्मीलाई आपूmलाई अन्याय भएको गुनासो के गरेको थियो कुन्नि उल्टै झपारेर पठाइ दियो । केही बेरमै एउटा गाडी आयो । दुईजना मान्छे हेर्दा शेर्पा जस्तै देखिने सिधै गएर चीनियाँ सुरक्षाकर्मीलाई कागजपत्र देखाएर के के भने कुन्नि, त्यही सुरक्षाकर्मीले भारी उठाएर उही भरियालाई हो या कसलाई खोज्दै थियो, त्यहीबेला भाइ रामनारायण आएर..“ल, दाइ त यहाँ पो बसिराख्नु भएको ? हामी चाहिँ पसलतिर खोजिरहेको.. जाउँ, सबै काम भैसक्यो, अब फर्कने..” भनेपछि म उसको पछि लागेँ ।
गाडी पहिलेको भन्दा निकै खचाखच भरिएको थियो, दिउँसै तोङ्बा र भ्याबर (जाँड)को गन्ध छास्सछुस्स आइरहेको थियो । यात्रुहरूको आकृतिले त्यो गन्धलाई अस्वभाविक मान्ने वातावरण थिएन । गाडी कुद्यो । चन्द्रले रामनारायण र हरि भाइलाई निर्देशन दिँदै थियो, बाह्रबिसे बजार कटेर लामोसाँघु पुग्नै लागेको थियो एक्कासी गाडी रोकिन पुग्यो । सबैजना एकछिन अलमल्लमा परे ।

चालकको दायाँपट्टि बस्ने दुईजना महिला पुरुषले मुखामुख गरेर खासखुस के गर्दै थिए, दुईतीनजना प्रहरी पोशाकमै भित्र आएर..“सबैजना आ–आफ्नो ब्याग, पोका पन्तुरा छोडेर बाहिर निस्कनु,” भन्ने ठाडो आदेश दियो । सबैले ‘किन सर ? यो गाडीमा के छ र ?’भन्ने जिज्ञासा त राखे तर प्रहरीले के छाड्थ्यो र, सबै जना ओर्लेपछि त प्रहरीको अर्को भ्यान पनि आएर गाडी भित्र बाहिर छतमा सबै खानतलासी गरेर कटनका कपडाहरू सडक छेउमा भ्याट् भ्याट् फाल्न थाले सबैजना हेराहेरमात्र भए कोही बोल्ने अवसर थिएन त्यहाँ । धन्न म बसेको सिटको कटन चाहिँ देखेनछ, न सायद सानो परिमाणको भएर ननिकालेको हो कि जस्तो पनि लाग्यो ।
खासमा भएको चाहिँ के रहेछ भने मैले माथि उल्लेख गरिएको दुईजना नेवार महिला पुरुषको खासखुस गरेको प्रसङ्गमा ती महिलाले भारी मात्रामा कटन ल्याएर बोरामा, प्लास्टिकमा पोका पारेर छतमा, डिकीमा, र गाडीको पछाडि सिटमा पहिले नै बन्दोबस्तसँग राखेर होटेलमा खाना खान गएका रहेछन् । त्यही खाना खाने क्रममा चालकसँग भाडाको कुरा गर्दा अलिक विवाद भएको रहेछ । त्यही विवादको कुरा सिभिल प्रहरीले थाहा पाएछ । तर उनीहरूले प्रहरी छ भन्ने चाल नपाएकोले आफ्नो व्यक्तिगत कुरा गर्दा अवैध तरिकाले कपडा ओसार्न लागेको रहेछ भन्न्े ठानेर सो बस गुड्नु भन्दा पहिले नै त्यो प्रहरी बाह्रबिसेतिर कुदिसकेको रहेछ र यसरी सो कटन कपडा जफत गरेका रहेछन् ।
जिरी यात्राको क्रममा यो प्रसङ्ग किन राखिएको होला भन्ने कुरा उठ्ला तर यो अरनिको राजमार्गले इतिहास, मैत्रि सम्बन्ध, भौगालिक विषमताको सकारात्मक सन्देश दिएर नेपालको गरिमा बढाएको छ भनेर जान्दाजान्दै पनि मानिसहरू छिटै धनी हुन किन आफ्नै मानहानी हुने गरेर बेइमानी र सरकारको आँखा छलेर धनी हुन खोजेका होलान् भन्ने मनमा लागेकोले व्यक्त गरेको छु । त्यतिखेरको त्यो अरनिको राजमार्गको चहलपहलमा रमझम तामझाम भव्य हुन्थ्यो । चाइनाबाट आयात गरिएका सामान ओसार्ने बडमानको कन्टेनरहरूको लाम हुन्थ्यो । नागरिकहरू त्यतिबेला खासा व्यापारमा यति तल्लीन हुन्थे कि खेतीपातीमा भन्दा बढी श्रम त्यतै खर्च गर्थे । आँखिर जीवन धान्न नै हो । यति सहज तरिकाले केही आम्दानी हुन्छ भने मरिमरि किन दुःख किन गर्ने हो भन्ने लाग्दो हो त्यो बेला ।
अब जिरीकै प्रसङ्ग जोडेँ । चालक तुला भाइले गाडीको स्टेरिङ दायाँ र बायाँ घुमाउँदै लामोसाँघु जिरी सडकको बाटो नाप्दै रह्यो । गाडी भित्र कोही उँघ्दै थिए, कोही गफ गर्दै । गाडी यतिबेला सिम्पाखर काटेर ठूलो पाखर तिर हुइँकिँदै थियो । खरीढुँगा र आहालडाँडाको टापुमा बसेर मोबाइलमा दृश्य र आपूmलाई समेट्ने सपनालाई कालोबादलले ढाक्दै थियो, हल्का सिमसिम पानीले शितलता प्रदान गरेपनि लेकको हावाको विशेषता पाखुरा नाडीमा ठडिएको काँडाले इसारा गर्दै थियो ।
लगभग डाँडा पाखर पुग्नै लाग्ला तक्ट जिरेलको मन्तव्य शुरु हुन थाल्यो । स्वीस सरकारले बनाइ दिएको बाटो, सघन पहाडी क्षेत्र विकास आयोजना (आइ.एच.डि.पी.) ले ठाउँठाउँमा बनाइदिएको विद्यालय भवन, धारा, ढल, त्यहाँको ग्रामीण जीवन उकास्नका लागि सहयोग गरेका कुराहरू र हप्ताको एकपटक चरिकोटबाट कर्मचारीहरूलाई र तिनका परिवारलाई आयोजनाकै बसमा निःशुल्क काठमाडौं लाने ल्याउने जस्ता सुविधाका एक एक गर्दै बताउँदै गए । डाक्टर सीताराम कटुवाल लगायत अन्य धेरैजसोको लागि यो सडक यात्रा नयाँ नै रहेछ । हरेक ठाउँको नयाँ नयाँ जानकारी लिँदै जानेक्रममा सिलढुँगा नजिकै आएपछि बाँयाँ उत्तरतिरको पहाडमाथि गुजमुज्ज परेको बस्ती देखियो ।
अगाडि सिटमा बस्ने शान्तिले उठेरै पछिल्तिर फर्केर– “ल हेर्नुस् है डाक्टर साहेबहरू, मेरो माइतीघर ऊ त्यहीँ हो तौथली शहर यहाँबाट हेर्दा डाँडा र सानो देखिए पनि त्यहाँ त ठूलो र भव्य बजार छ, मन्दिर छ,..” भनेर आफ्नो मातृस्थलको लागि छाती चौड्याउँदै औँल्याइन् । सिलढुंगा मुनी जेठल बस्ती छ ।
यो चाहिँ लिसंखु गाउँ पालिका पर्छ भने त्यहीँको झोर खोलापारी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ तौथलीको सिमाना शुरु हुन्छ । तौथली विकासोन्मुख नेवार बस्ती हो । यहाँको नेवार भाषा र दोलखाको नेवार भाषा करीब ९६ प्रतिशत मिल्छ । भन्न त यहाँका कोही कोहीले उनीहरूको पुख्र्यौली दोलखा भन्छन् ।
दोलखा सँग वैवाहिक नातेदारको सम्बन्ध बढी भएकोले र दोलखा तौथलीको बीचमा आवतजावत बढी नै भएकोले पनि भाषा समान भएको हो भन्ने व्याख्या रहेको छ । भाषामा मात्र होइन देवी देवताको मन्दिर, टोलको नाम पनि यदाकदा मिलेकै छ । यहाँको वेशभुषा चाहिँ भक्तपुरे नेवारहरूका जस्तै महिलाले कालो चोली र कालै फरिया अनि सेतो पटुकी पहिरिने प्रचलन छ भने पुरुषले कालो या ढाकाको टोपी लवेदा (दोरा) सुरुवाल लाउने गर्छन् ।
क्रमशः……
