Search

विगु गाउँपालिका–३ बुलुङ र गौरीशंकर गाउँपालिका–८ खारे जोड्ने झोलुङ्गे पुल निर्माण

विगु गाउँपालिका–३ बुलुङ र गौरीशंकर गाउँपालिका–८ खारे जोड्ने झोलुङ्गे पुल निर्माण

बाँपीझ्याला, दोलखा । विगु गाउँपालिका–३ बुलुङ र गौरीशंकर गाउँपालिका–८ खारे जोड्ने जीर्णोद्धार झोलुङ्गे पुल निर्माण गरिएको छ । तामाकोशी नदीमाथिको ११० वर्ष पुरानो ऐतिहासिक झोलुङ्गे पुल व्यक्तिगत पैसा जुटाएर स्थानीयबासीहरुले जीर्णोद्धार गरेका छन् । स्थानीयहरुको सहज आवागमनका लागि तत्कालीन राणाकालीन समय गौरा पर्वत नेपाल–चीनको सीमाना तीब्बतस्थित भोट खोलाबाट दक्षिण हुँदै बहने बुलुङ र खारेको बीचमा पर्ने सो नदीमाथि छविलाल आचार्यले १९७० सालमा निर्माण सुरू गरी १९७३ सालमा पुल तयार पारेको स्थानीय वृद्धाहरुको कथन छ ।

आचार्यले तीन वर्ष लगाएर बुलुङपट्टी ठूलो केसरी र खारेपट्टी सहेले खेतमा जीप राखी दुईलठ्ठे पुल निर्माण गरेका थिए । पुल निर्माणपछि तत्कालीन गाउँ विकास समितिहरू बुलुङ, खारे, लादुक, सुरीलगायतका स्थानीयलाई आवतजावत गर्न सहज भएको थियो । त्यसपछि २००४ सालमा बुलुङ बसोबास गर्ने षडानन्द आचार्यको ५ भाई छोराहरू मिलेर पुल निर्माणलाई लाग्ने सम्पूर्ण खर्च आफै हालेर पुलमा ठूलो लठ्ठा र थप साङ्लो राख्नाका साथै पुललाई अहिलेको जामुने भन्ने स्थानमा सारेका थिए । त्यसबेला पुलमा ठूलो लठ्ठा र थप साङ्लो राख्नका लागि पुलका निर्माणकर्ताहरू कमल प्रसाद आचार्य, कलाधर आचार्य, देवदत्त आचार्य, प्रयागराज आचार्य र गौरीकान्त आचार्यले रामेछाप ठोसेमेक्चनस्थित फलाम खानीबाट काचो फलाम हप्तौँ लगाएर बोकेर ल्याइएका थिए ।

सो फलामलाई निर्माणस्थलमै आरन खडा गरी गालेर आवश्यक आकार निकालेर पुल निर्माण गरिएको थियो । फलाम गाल्न दाउरा पनि निक्कै खर्च भएको स्थानीयहरुले सुनाउछन् । जामुनेमा पुल सारेर थप व्यवस्थित र बलियो बनाएपछि मानिसहरूको आवतजावतमा थप सहज भएको आफूहरूले सुनेको पुराना पुस्ताका जानकारहरू बताउँछन् । आफ्ना पुर्खाहरूले दुख गरी निर्माण गरेको पुल अहिले तिनैका सन्ततीहरूले पुन व्यक्तिगत खर्चमै जीर्णोद्धार गरेका हुन् । पछिल्लो समय त्यस क्षेत्रमा सडक तथा मोटरेवल पुलहरू निर्माण भएसँगै ऐतिहासिक पुल थप जीर्ण बन्दै गएको र पुर्खाको सम्झना मेटिने चिन्ताले पुल जीर्णोद्धार गरिएको बुलुङका शिक्षक जनककुुमार आचार्यले बताए । यस्तै, २०७२ सालको भूकम्पबाट समेत पुलमा क्षति पुगी थप जीर्ण बनेको थियो ।

पुलको जीर्णोद्धार र रेखदेखका लागि उनीहरूका सन्ततीहरू सक्रिय बनेका हुन् । कमल प्रसादका सन्तती कबन आचार्य विगु–३ बुलुङ कलाधरका सन्तती दीपक आचार्य गौरीशंकर–८ खारे देवदत्तका सन्तती ओमकृष्ण आचार्य, विगु–३ बुलुङ प्रयागराजका सन्तती सुदर्शन आचार्य, गौरीशंकर–८ खारे, गौरीकान्तका सन्तती दीपक, विष्णुराज आचार्य, विगु–३ बुलुङ, छविलालका सन्तती अमृत कुमार आचार्य, विगु–२ ओराङबासीले क्रियाशील भएर पुल जीर्णोद्धार गरेका हुन् ।

तत्कालीन समयमा व्यक्तिगत खर्च र श्रममा निर्माण गरिनु एउटा परिस्थिति भए पनि पुनस् जीर्णोद्धारका लागि समेत निजी खर्च र श्रम नै किन भन्ने जिज्ञासामा नेतृत्वकर्ता सन्ततीमध्येका अग्रज समाजसेवी दीपक आचार्यले भने, ‘पितापुर्खाहरूको सपना, कृति, पौराणिक तथा भौतिक संरचना जीवीत राख्न र उहाँहरूको नाम अमर राख्नका लागि ऐतिहासिक साङ्ले साँघु जीर्णोद्धार गरेका हौँ ।’ यस्तै, कबन आचार्यका अनुसार २०७९ सालमा सुरू गरिएको जीर्णोद्धारको काम २०८० सालको यही असार महिनामा सम्पन्न भएको हो । मन, वचन र कर्मले पुल जीर्णोद्धार गर्न सकिएको बताउँदै उनले पीतापुर्खाको सपना जोगाउन सकेकोमा खुसी व्यक्त गरे ।

अब आफ्ना भावी सन्ततीले समेत यो पुललाई संरक्षण गर्दै जोगाएर राख्नुपर्ने आफूहरूको अपेक्षा रहेको उनले सुनाए । यसैगरी, पुल जीर्णोद्धार गर्न करिव ६ लाख रुपैयाँ खर्च भएको जनककुमार आचार्यले जानकारी दिए । उनका अनुसार यो सम्पूर्ण खर्च ६ जना पुर्खाका सन्ततीहरूले व्यहोरेका छन् ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!