Search

मेरोे दाजुको पुनर्जन्म

मेरोे दाजुको पुनर्जन्म

जानकी कर्माचार्य
खै सम्झने मन त पटक्कै थिएन तर बिर्सेको पनि छैन, अस्ति दाजु (अमर कुमार प्रधान)ले सम्झेको जति लेख्न भन्नुभो तर सम्झिदा कहाली लाग्छ त्यो क्षण…। मेरो दाजु मेरी आमा (सुवर्ण लक्ष्मी प्रधान) पछिको गुरु, मेरो पढाइमा पूरै उहाँको देन छ । मेरी आमाले भन्नु भए अनुसार –म सात महिनामा जन्मेकी, नौ महिनामा नै मज्जाले हिडेकी अनि तीन महिनामा पल्टेर ऐसेँलुको झाङ्मा खसेकी र घरबेटी देउचा बुढाले आमालाई पछाडि एक मूक्का हानेको थियो रे, उनलाई हामी बाजे भन्थ्यौ ,बामे सर्न थालेपछि मेरो चकचके बानीले गर्दा बलेको लाल्टिन घोप्टिएर मेरो तिघ्र्राभरि पोलेछ, अनि दाजुले पिटाइ खानु भएछ, मेरी आमाले अक्षर पढन सिकाउनु भएको अनि अक्षर चिनेको चार दिनमा जसोतसो कनिकुथी स्वस्थानी कथा पढेकी थिएँ रे । यसको मतलब म बदमास थिएँ तर मैले बुझेदेखि म शान्त, कम बोल्ने भाइबहिनीलाई मायागर्ने खालकी थिएँ । मेरो दाजु बच्चै देखि ज्ञानी र पढैया हुुनुहुन्थ्यो, एकपटक पढेपछि नबिर्सने त्यसैले एक वर्ष ड्रप गरेर पनि चौध वर्षमा नै एस.एल.सी. दोस्रो श्रेणी मा पास गर्नु भएको थियो तर म अलि अल्छी थिएँं तै पनि सानुमा पढ्न भने मन पथ्र्यो ।

त्यसताका हामी धुलीखेलमा बस्थ्यौँ, बजार भन्दा पर टुँडिखेल र जंगलनिर सिंगै हाम्रो घर थियो । बुवा (कमलप्रसाद प्रधान)को अदालतमा जागिर थियो । दाजु र ठूलो मामा (जगतनारायण श्रेष्ठ) संजीवनी हाईस्कूलमा पढ्नुहुन्थ्यो । म आमा र दाजुसंग सिकेर घरमै पढन जान्ने भएकी थिएँ । बुवाले धुलिखेलकै संजीवनी हाईस्कूल नजिकै संजीवनी प्रि–प्राइमरी स्कूलमा कक्षा तीनमा भर्ना गरी दिनुभयो । बुवा छोरालाई भन्दा छोरीलाई पढाउनु पर्छ भन्ने विचारको हुनुहुन्थ्यो ।

म स्कूल जान पाएकोमा दंग थिएँ । त्यतिखेरको अर्धवार्षिक परीक्षामा राम्रो नम्बरले पास पनि भएँ र स्याबासी पनि पाएँ । सोहीताका दोलखा मावली घरबाट खबर आयो हाम्रो मावली बजै(सरस्वती श्रेष्ठ)को निधन भयो भनेर । आमा अतिनै विह्रल भएर घर नजिकको चऊरमा रुख मुनि बसेर खुबै रुनुभएको थियो । आमा हाम्री बजै पट्टिको जेठी छोरी भएकोले मावलीको हजुरबुबा पनि पहिले नै बितिसकेको अवस्थामा आमाले नै अभिभावकत्व ग्रहण गर्नुपर्ने भयो । अनि बुबा र दाजुलाई धुलिखेल छोडी हामी दोलखा गयौँ ।

त्यतिखेर मामा जगत सिंधुली भूमिसुधार कार्यालयमा जागिरे भई गइसक्नु भएको थियो । त्यसको केहि महिना पछि बुबाको पनि सिंधुलीमै जागिरे भई जानु पर्ने भएपछि दाजु पनि दोलखा आउनु भयो । हामी धुलिखेल धैरै बसेकोले मुल घरमा बस्ने व्यवस्था नमिलेसम्मलाई मामा घर ट्वाल्चामा बस्ने भयौं ।

दाजुले दश कक्षा भर्ना भएर एस. एल. सी. भने भीम पब्लिक हाईस्कूलबाट दिनुभयो । त्यतिखेर दोलखा दुर्गम जिल्ला पर्दथ्यो , एउटै मात्र हाईस्कूल भीम पब्लिक थियो । दोलखा पुगे पछि मेरो पढाइ बन्द भयो, आफन्त सबै छोरीलाई पढाउन हुन्न भन्न थाले । एक बर्ष त्यतिकै वित्यो तर मेरो दाजु भने जसरी पनि बहिनीलाई पढाउने पक्षमा हुनुहुन्थ्यो । अनि उहाँले घरमै मलाई पढाउन थाल्नु भो । कागजको ठूलो घडि बनाएर बीचमा लट्ठी गाडेर घाममा राखेर परीक्षा पनि लिनु भयो, मलाई पनि रमाइलो लाग्यो । घामको छाया जुन अंकमा पर्यो त्यति नै बज्दथ्यो ।

त्यस्तै दाजु र म सलाईको बट्टामा धागो बाधेर घरबारीको पाटोमा दुइतिर बसेर टेलिफोनमmै कुरा पनि गर्दथ्यँौ, अति रमाइलो लाग्दथ्यो । दाजुले एस.एल.सी. परीक्षा दिएपछि उहाँ भिम पब्लिक हाईस्कूलमा स्वयमसेवक शिक्षक हुनुभयो । त्यसपछि दाजुले मलाई छ कक्षामा भर्ना गर्नुभो, भर्ना हुने बेलामा सानो परीक्षा पनि दिनु पर्यो मलाई निक्कै डर लागेको थियो तर दाजुले घरमा सिकाएको हुनाले सबै प्रश्नको उतर दिन सफल भएँ । दाजु साह्रै खुशी हुनु भयो, मेरो मनमा डर भए पनि खुशी थिएँ ।
आमा पनि खुशी नै देखिनु हुन्थ्यो अनि केही चिन्तित पनि एकैपटक छ कक्षा पास गर्छ कि गर्दैन भनेर । मलाई पनि चुनौती नै थियो कक्षा संचालन भएको तीन महिना भइ सकेको थियो ।

मेरो दाजुले त्यति नगरेको भए सायद मैले पढ्न पाउँदिन थिएँ होला । कक्षामा सुरु सुरुमा गाह्रो भए तापनि मेहनत गरेर राम्रै संग पासगरेँ । घरमा अरुले पत्याएका थिएनन् दाजु र आमा खुसी हुनु भयो । सात कक्षा सुरु मात्र भएको थियो । त्यतिखेर बुबाको काठमाण्डुमा जागिर भइ सकेकोले छोरीलाई काठमाण्डु पढाउने भनेर बोलाउनु भयो तर खै के भएर अनुकूल मिलेन , मेरो एक वर्ष पढाइ फेरि छुट्यो । दाजुले मलाई सधैं इन्दिरा गान्धी, भण्डारनाइके, म्याडमक्युरीहरुको बारेमा बताउनु हुन्थ्यो , म पनि चाख मानेर सुन्थँे र म पनि राम्रो पढ्छु भन्थेँ ।

पछि फेरि भीम पब्लिक हाईस्कूलमा नै सात कक्षामा भर्ना भएर पढ्न थाले, साथीहरु आठमा पुगीसकेका थिए । कक्षामा छात्रा म एक्लै थिएँ । सह–शिक्षा भएकोले कक्षामा छात्र छात्रा एउटै बेञ्चमा बस्नु पर्ने हुन्थ्यो तर किन हो कुन्नि मलाई मन पर्दैन थियो । कक्षामा शिक्षक छउनजेल चुपलागेर बस्दथेँ अनि शिक्षक जानु भएपछि सबैको ब्याग फालि दिन्थँे । हुन त म शान्त त्यति नबोल्ने स्वभावको थिएँ तर आफूलाई मन नपरेको कुरा सहन मन लाग्दैन थियो । अहिले सम्झिदा त्यसरी अरुको ब्याग फाल्नु मेरो बदमासी थियो । गाउँको स्कूल संधै शिक्षकको अभाब । प्रायजसो अंग्रेजी, विज्ञान र गणित पढाउने शिक्षकको अभाव । कहिले काँहि त एस.एल.सी. पास भएका राम्रो डिभिजन ल्याएका साथीहरुले पनि कक्षा लिन्थे ।

काठमाण्डौ पिस्कर अफिस अमेरिकी शान्ति सेना स्वयंसेकबाट एक जना अंग्रेजी पढाउने शिक्षक पठाएको थियो तर विरामी भएर केहि महिनामा नै फर्किए । मेरो दाजुले नौ र दश कक्षालाई बाईलोजी र नेपाली पढाउनु हुन्थ्यो । दाजु उमेरले सानो हुनुहुन्थ्यो , धेरैजसो विद्यार्थी दाजु भन्दा ठूलठूला थिए । जाडो महिनामा प्रायजसो कक्षा बाहिर चौरमा घाममा संचालन हुन्थ्यो । एक दिन जनकपुर अञ्चल घरेलु उद्योग कार्यालयको अधिकृत (केशवराज घिमिरे) स्कूलमा घुम्न आउनु भएको रहेछ । विद्यार्थीहरु घाममा हुलमुल गरेर बसेको देखेर हेड सर संग के भए छ भनेर हकार्दै आउनु भयो तर दाजुले पढाइ राख्नु भएको थियो, सब विद्यार्थीको बीचमा फुच्चे शिक्षक । दाजुलाई सबले माया गनु हुन्थ्यो । अनि घिमिरेसरले “ल अब देखि अमरको नाम पकेट मास्टर” भन्नुभयो । अघिपछि पनि अरु सरहरुले दाजुलाई सो नामबाट जिस्काउनु हुन्थ्यो ।

त्यो दिन ( २०३० भाद्र १० गते आइतबार ) सम्झिदा पनि कहाली लागेर आउँछ । त्यस बेला म नौ कक्षामा पढदै थिएँ । हाफटाइम पछिका पाँचौ घण्टीमा दाजुले बाइलोजी कक्षा लिनुभएको थियो, अर्को कक्षा शुरु हुने बेला भएको थियो, पालेदाइले मलाई शिक्षकहरुको कक्षको तल्लो कोठामा तुरुन्त आउनु भनेर बोलायो । म के भए छ होला भन्ने सोचेर डराएर हतारीँदै गएँ, मेरो दाजु पेट समातेर छट्पटाइ राख्नुभएको थियो । सबै सरहरु एक्कै ठाउँ जम्मा भएका थिए, मलाई देखेर हेडसरले सम्झाउँदै भन्नुभयो “दिउसोदेखि पेट दुखाउनु भएको हेल्थ असिस्टेन साबले दबाइ दिईसक्नु भएको छ, बिस्तारै कम हुन्छ । आत्तिनु पर्दैन तर तिमी गएर आमालाई बोलाएर ल्याऊ ।” म अक्क न बक्क जड भएको थिएँ, हेडसरले बोलाउनु भएपछि झस्किएँ, अनि घरतिर कुदेँ । भाद्र महिना घरमा आमा हुनुहुन्नथ्यो ।

भाइ राजा (उज्ज्वल) बज्युसंग खेल्दै थियो र बहिनी (मेनुका) बुबासंग काठमाण्डुमा थिइन् । आमा ढ्वाकुपटी (ठूलो पाटो) बारीमा कोदो गोडने खेताला भएकोले जानु भएको रहेछ । म उतै दौडिएँ साँझ पर्न थालि सकेको थियो । आमा खेतालाहरु संग घर फर्किने तरखरमा हुनुहुँदो रहेछ । आमालाई देखे पछि एकपटक ‘माँ !’ भने पछि त मेरो बोली नै फटेन, आमा यसलाई के भए छ भनेर दौडदै आउनु भो र मलाई झक्झकाएर सोध्न थाल्नुभयो सुरुमा त बोल्नै सकिनँ । पछि रुँदै दाजु विरामी हुनुहुन्छ भनँे । आमा खेतालालाई काम अह्राएर हतारिंदै मसंग हिडनु भयो ।

हामी यति हतारिएर हिंड्यौं कि कति छिटो स्कूल पुग्यौँ थाहा नै भएन । दाजु त्यस्तै छट्पटाई राख्नु भएको थियों अहिले त बमन पनि गर्न थाल्नु भएछ । आमाले बाटोमा एकजना झारफुक गर्ने व्यक्ति (बाल बहादुर श्रेष्ठ)लाई पनि साथै लिनु भएको थियो, सो व्यक्तिले नाडी छामेर अक्षता मन्छाएर फुक्न थाल्यो । सबैले आशाको नजरले उसैलाई हेर्दै थियो, उसले आँखा खोलेर देउता लागेको छ कालो भाले चाहिन्छ भन्यो । रात पर्न थालि सकेको थियो । सब मुखामुख गर्न थाले । आमाले भाले त घरमा छ भन्नुभयो । म कसैलाई केहि पनि नभनी घरतिर दौडिएँ ।

अंध्यारो संग पटकै डर लागेन, भाले लिएर आएँ । उसले पूजाआजा गर्यो र अब ठीक हुन्छ भन्दै भाले लिएर गयो तर दाजुलाई भने बिसमा उन्नाइस पनि भएन । आमाले भएभरको देउदेउतालाई पुकारेर भाकल गर्नुभयो । दाजु बमनले गर्दा होला कम्जोर देखिनु थाल्नु भएको थियो , आमा रुन थाल्नु भएको थियो । म भने पट्कै रुन सकिनँ डर, त्रास वा जिम्बेवारी बोध भएर हो कि ! त्यसैले होला अहिले पनि हत्पत आँखाबाट आँसु झर्दैन तर मन साह्रै दुख्छ । दाजु दोलखाको सबैको प्यारो हुनुहुन्थ्यो, दाजुको हालत भने अझै उस्तै थियो । सबले सल्लाह गरेर दाजुलाई राती स्कूलमानै राख्ने अनि भोलिपल्ट काठमाण्डु लाने निधो गरे , आमा मान्नु भएको थिएन । सबैले सम्झाई बुझाई गरेपछि हामी घर फर्कियौँ । घरमा भाइ सुति सकेको थियो न खाने न सुत्ने विहानको पर्खाईमा वित्यो । आमा रातभर देवी देउता भाकेर बस्नु भयो ।

भोलिपल्ट सोमबार झिसमिस मै आमा र म भाइलाई सुतेकै छोडेर स्कूल पुग्यौँ, विद्यार्थी देखि दोलखाका सबै जसो पुगिसकेका थिए । दाजुको हालतभने उस्तै थियो, बमन पनि भै नै राखेको थियो । सो दिन पनि उहापोहमा वित्यो । त्योे बेला आठ कोस पर (पैदल मार्ग) जिरी थियो त्यहाँ स्वीस सरकारको सहयोगमा सञ्चालित सुसम्पन्न अस्पताल थियो अनि जिरीबाट काठमाण्डुसम्म हवाइजहाज पनि दिनहुँ उड्थ्यो । चरिकोट दोलखाको सदरमुकाम त्यति खेरको एक कोस बाटो , काठमाण्डु जानलाई नौ कोस हिंडेर बाह्रबिसे पुगेर बल्ल गाडी चड्नु पर्ने । भदौ महिना फुसफुस पानी परिरहेको थियो । सब दाजुलाई कसरी के मा लग्ने भनेर सल्लाह गर्दै थिए ।

अमेरिकी स्वयंसेवक (पिस्करबाट आउनु भएको) सर जिम गिसेन दाजुलाई अतिनै माया गनुहुन्थ्यो र उहाँ जसरी पनि दाजुलाई काठमाण्डौ लग्ने पक्षमा हुनुहुन्थ्यो । अनि झम्सिखेलमा त्यतिखेर शान्तभवन मिसन हस्पिटल थियो र उहाँलाई दाजुको उपचार सोही हस्पिटलमा हुन्छ भन्ने विश्वास थियो । जस्को लागि पहिले चरिकोट पुग्न जरुरी थियो । सोही बिहान जिम गिसेन सरले आ.वा.लेखी चरिकोटबाट प्रसारण गर्न पठाउनु भएको रहेछ । त्यसताका अमेरिकी सरकारको सहयोगबाट संचालित आकाशवाणी हरेक जिल्लाको सदरमुकाममा थियो ।

नौ कक्षाको विद्यार्थी सुरेन्द्रकुमार श्रेष्ठले आ.वा. बिहानै बुझाएर आएछ । जिम गिसेनले मैले पिस्कर अफिसलाई हेलिक्याप्टर पठाउन अनुरोध गरेको छु अब अमरलाई चरिकोट लग्नुपर्छ भन्नुभयो । अनि सबै दाजुलाई चरिकोट लग्न तयारी गर्न थाले कसैले उलिन्काठ, कसैले डोको त कसैले डोलीमा लग्ने कुरा गर्दै थिए सब तर्क वितर्क गर्दै थिए । आमाले मलाई डोको र बोक्ने मान्छे खोजेर ल्याउन अह्राउनु भयो, बल्लतल्ल बजै र मैले एउटा मान्छे (डाहाल जोगी ) फेला पार्यौं । त्यो पनि भनेजति ज्याला दिनुपर्ने मैले हुन्छ भनेँ । हिंडने बेलामा भाइ पनि मै संग जाने जिद्दी गर्न थाल्यो मान्दै मानेन संगै बोकेर हिंडँे । त्यतिन्जेल ठूलठूलो दुइटा कपडा मिलाएर जिल्ला रेडक्रस शाखा कार्यालयले स्ट्रेचर बनाएको थियो र दाजुलाई चरिकोट लग्न ठीक पारी सकेको थियो । साथै दाजुको बमन थाप्ने भाँडो पनि ठीक पारेछन् ।

विहानको आठ बजेतिर हामी सबै दाजुलाई लिएर हिड्यौ, साथमा हिडने थुप्रै थिए कसैले बोक्न पालो दिन्थे त कसैले बमन थाप्न । हु त दाजु दुब्लाएर बच्चा जस्तै भैसक्नु भएको थियो । बमन हरियो सागको झोल जस्तो थियो । म भने बुबालाई सम्झिरहेको थिएँ खवर मात्र पु¥याउनु पाए पनि हुन्थ्यो भन्ने लागि राखेको थियो । त्यस्ताका फोन पनि थिएन । आकाशवाणी गर्नु पर्ने त्यो पनि बिहान चरिकोट सदरमुकाम पुगेर मात्र सम्भव थियो । पिठ्यूमा भाइ बोकेर भगवान पुकार्दै हिंडदै थिएँ ,अघि पछि त डेड दुई घण्टा लाग्ने बाटो आज तीन घण्टा लाग्यो । हामी पुगेपछि चरिकोटमा मेला लागेझै भिड भयो, सबैको प्यारो अमर सर विरामी परेका छन् । कसैले के गनु पर्छ भन्छन कसैले के । आमा भने त्यसै त्यसै आत्तिनु भएको छ पानी पनि मुखमा हाल्न मान्नुहुन्न, घरी के चाहियो के भन्छन् म तीन चार पटक दोलखा र चरिकोट गरिसकँे ।

जिमले काठमाण्डु पिस्कर अफिसमा बेलिविस्तार सहित अति जरुरी भनेर हेलिक्याप्टर पठाइदिनको लागि आ. वा. गरिसकेको छ । सबको आस त्यसैमा छ विचरा जिम “अमरलाई बचाउनु भनेको मलाई बचाउनु हो ” भनेर लेखेको थियो तर आ. वा त ८ बजे बिहान प्रसार गर्नु पर्नेमा अपरेटरले अंग्रेजी नबुझेकोले त्यसै त्यत्तिकै थन्काइ राखेको रहेछ । पछि फेरि जिमले श्यामकृष्ण श्रेष्ठ सरसंग गएर आ वा बल्ल २ बजे पठाउने ब्यवस्था गर्नु भएछ ।

पानी परेको परेकै छ । मैले ल्याएको भरिया दाइ जसले दाजुलाई छुन नपरे पनि रु.३००÷–५००÷– ज्याला माग्दै छ । अरुले सरलाई छुएको पनि छैन कस्तो मान्छे भनेर कराउदै थिए तर मेरो सानो बुध्दि होस भनेर दिएँ । अपरान्हको तीन बजिसकेको थियो दाजुको हालत खस्किंदो थियो, सदरमुकामको जेलरले हात खुट्टामा नेल कसेको हेर्दै डरलाग्ने व्यक्तिलाई बाहिर ल्याएर दाजुलाई झारफुक गर्ने भन्न थाले । ती व्यक्ति खुखार ज्यानमारा रहेछन् तर झारफकु भने जानेका सबलाई जे गरेर पनि निको पार्नु थियो, हुन्छ भने । जिम टुलुटुलु यी गतिविधि हेरिराखेका थिए साथै मलाई ढाडस पनि दिदै थिए । त्यस व्यक्तिले दाजुको चिना , कालो भाले के के हो सामान चाहिन्छ मसान लगाएको छ पन्छाउनु पर्छ भन्यो । सब मुखामुख गर्न थाले । म लिएर आउंछु भन्दै म घर तिर दौडिएँ, सबै सामान जुटाउंदा अवेला भै सकेको थियो ।

पानी पनि ठूलै पर्न थालेको थियो । म केही पनि पर्वाह नगरेर दौडिएँ । चरिकोट पुग्नुभन्दा अलि तल खिङजोर नदी (मरेङ खोला) बग्छ । पानी परेर होला खोला अलि बढेको थियो म तर्नै लागेको थिएँ किनारमा कताबाट खै एउटा अलि ठूलै सर्प आएर तेर्सियो । सुरुमा त मेरो सातो नै गयो, फेरि के बुध्दि आयो कुन्नि रुदै आँखा चिम्लेर प्रार्थना गर्न थालँे “नाग देवता ! मेरो दाजुलाई बचाउनु पर्छ मलाई जानदेउ” एकछिनपछि आँखा खोल्दा त सर्प गई सकेछ । म दौडेर चरिकोट पुगँे, सब कुरेर बसेका रहेछन् । सो व्यक्तिले के के मन्त्र पढेर पूजाआजा गर्यो अनि “यति गर्दा पनि निको भएन भने यो मान्छे बाँच्दैन, बाँच्यो भने मेरो मुखमा पिसाब गरिदिनु” भन्दै भाले लिएर गयो मलाई भने कस्तो रिस उठ्यो उसको मुखमा नै हिर्काउ जस्तो ।

दाजुको कान्छी औलामात्र तातो थियो, सब लाचार भएका थिए । आमा रुएकै रुएनै हुनुहुन्थ्यो ,म भाई समातेर बसेको थिए । काठमाण्डुबाट केही खबर आएको थिएन सब हतास हुनथाले ,साँझ पनि पर्न थाल्यो हठात जिमले दाजुलाई बोकेर वा जसरी पनि काठमाण्डु लाने भनेर तयारी गर्न थाल्यो । आफ्न्तहरु हुँदैन भन्नथाले, ठूलो बुवा (ज्ञानबहादुर प्रधान)ले त हँुदै हुदैन बाटोमा बिचल्ली पर्ला भनेर अडान लिन थाल्नु भो । जिमले आफ्नै तरिकाले सम्झाउन थाल्यो र अन्तिममा “ मान्छे नहुने भए जहाँ राखे पनि हुदैन, त्यसैले लग्नदिनुस” भनेर अनुरोध गर्यो । सबले भगवान भरोसा भनेर हुन्छ भने । आठ दश जनाको जमात दाजुलाई लिएर हिडन तयार भए । दाजुको मिल्ने साथी चोकबहादुर दहाल सर, उहाँ पनि भीम मा.वि.मा नै पढाउनु हुन्थ्यो काम विशेषले काठमाण्डु जानु भएको थियो, भरखरै चरिकोट आइपुग्नु भएको थियो । दाजुको हालत देखेर बोल्नै सक्नु भएन र उहाँको एरव्याग मलाई जिम्मा लगाएर दाजुसंगै हिडनु भो ।

जिमलाई हेलिक्याप्टर जसरी पनि आउँछ भन्ने विश्वास थियो । एकातर्फ उनी आफै दाजुलाई बोक्न तम्सिए तर उनी छ फिट बढी अग्लो भएकाले अरुलाई अप्ठ्यारो हुने भएकोले उनलाई संगै हिडन अनुरोध गरे । दाजुलाई लिएर जानेहरु हिँडेपछि आमालाई सबैले घर फर्कन भनेर सम्झाई बुझाई घर फर्किन थाल्यौ । अहिले सम्झिदा अचम्म लाग्छ मैले त्यो अप्ठ्यारो बाटोमा राती पानी परेको बेला भाइ र सरको व्याग लडदै पडदै कसरी घर पु¥याएँं पत्तै पाइन । म बच्चैदेखि हत्तपत्त नरुने , चित्त दुख्यो भने नबोलेर चुपचाप बस्ने, सकेसम्म अरुलाई रिस नदेखाउने, सहन नै सकेन भने मात्र रुने , रुन थालेपछि सम्हालिन गाह्रो हुन्थ्यो ।
धेरैपछि मेरी आमालाई क्यान्सर भएछ भनेर थाहा पाउँदा पनि म जड भएर बसेकी थिएँ ।

अनि बहिनी अगाडि देखे पछि खै कसरी मुखबाट निस्कियो “ बा पहिला जानु पर्दथ्यो, आमा पहिला जाने भयो ।” बहिनी अलमल परेर रुन थालेकि थिइन अनि सम्झाए “बच्चाको आमा नमर्नु बुढाको स्वास्नी नमर्नु भन्छन नि” त्यसैले सब मलाई ढुङ्गा जस्तो सुकेको काठ जस्तो भन्छन् । अहिले पनि त्यस्तै बानी छ । त्यतिखेर घर पुगेर चाहि के भएछ कुन्नि म जोड जोडले खुब रोएँ । सबलाई मलाई सम्हाल्न नै गाह्रो भएको थियो । हामी रात भरि सुतेनांै, आमा रातको दुई बजे भीमसेनथान जान हिडनु भयो । म पनि पछिपछि गएँ । आमा भीमसेनको शिलामा घोप्टेर विलौना गर्न थाल्नुभयो “ हे भगवान ! तिमी साक्षात छौ ! बरु मेरो प्राण लैजाऊ छोरालाई बचाई देऊ” उहाँ जोडजोडले रुन थाल्नुभयो । म जड जस्तै भएँ । अनि फेरि बल्ल तल्ल आमालाई उठाएँ र बिस्तारै हात समाएर घर लिएर आएँ । कहिले बिहान होला जस्तो भएको थियो , बल्लतल्ल भाले बास्यो अलिकति राहत जस्तो भयो । भोलिपल्ट मंगलबार कसैले खवर ल्यायो दाजु लिएर जानेहरु मकैबारी भन्दा अलि यतै बास बसे रे । बाटोमा दाजुले अलिकती रगत बमन गर्नु भएछ सब तर्से छन् । त्यो सुनेर आमा झन आत्तिनु थाल्नु भो ।

बिहानीको आठ बजेतिर अचानक आकाशमा हेलिक्याप्टर मडारिन थाल्यो । सब हतारिएर पाखलती तिर अर्थात स्कूल तिर दौडिए । दुर्ई तीन चक्कर काटेपछि हेलिक्याप्टर स्कूलको चउरको खेल ग्राउण्डमा उत्रियो, हेलिक्याप्टर अघिल्लो दिन नै साँझ तिर पिस्कर अफिसले पठाएको रहेछ पानी परेर र कुईरोले गर्दा ठाउँ पत्ता लगाउन नसकेर क्षमावतीमा गएर फर्केछ । भोलिपल्ट हेलिक्याप्टर चरिकोटको टुडिखेलमा ल्याण्ड गर्यो ।

घरमा सबको मुखमा केही आस देखियो । दस पन्ध्र्र्र्र्र्र मिनेटमा नै हेलिक्याप्ट उड्यो । दाजु लिएर गएको टोली मकैवारीमा बास बसेको रहेछ , विहान त्यहाँबाट हिडेको केहि बेर भएको रहेछ । हेलिक्याप्टर सो ठाउँ अर्थात बोच डाँडामा नै ल्याण्ड गरेछ र जिम संग कुरा भए अनुसार उतैबाट दुई जना व्यक्ति आएका रहेछन् अनि दाजुलाई पनि सुताएर लग्नु पर्ने भएकोले जिमले आफू हिडेर काठमाण्डु जाने र दाजुलाई भने लगेर त्यतिखेरको मिसन हस्पिटल शान्तभवन (जुन अहिले पाटन हस्पिटल भएको छ)मा लगेर तुरुन्तै उपचार गर्न भनेछन् साथै अमर हैन मलाई नै उपचार गरेको भन्ने ठान्नु पनि भनेछन् । हेलिक्याप्टर दाजुलाई लिएर उडेपछि जिम काठमाण्डुको लागि हिडे छन् र अरु संगै गएका सबै फर्किएछन् । चोकबहादुर सरले आमालाई सबै बेलिविस्तार लगाएर “अब अमर ठिक हुन्छ पिर नगर्नु ” भनेर व्याग लिएर जानु भो । आमाको मन अझै पनि विथोलिएको थियो ।

पछि थाहा पाए अनुसार बुवाले अघिल्लो दिन मात्र दाजुको चिट्ठी पाउनु भएको थियो रे, ‘हामी सबै संन्चै छौ’ भन्ने , बुवाको अफिसमा नचिनेको व्यक्ति आएर बुवाको नाम लिएर (कमलप्रसाद प्रधान) भन्ने मान्छे को हो भनेर खोजिनीती गरेको थाहा पाएर बुवा अगाडि जानुभएछ र सो व्यक्तिले “तपाईंको छोरा सिकिस्त बिरामी भएर शान्तभवन हस्पिटलमा भर्ना गरेको छ तुरुन्त अप्रेसन गर्नुपर्ने भएकोले हिडनुस् अरु कुरा विस्तार पछि बाटोमा गाडीमा गरौला” भनेर भनेछ । बुवा एकछिन त अक्क नबक्क पर्नु भएछ । पत्यार पनि लागेनछ अनि कुरा बुभ्mनपर्यो भनेर सो व्यक्तिको पछि लाग्नु भएछ । सुरुमा त बुवाले दाजुलाई बच्चा जस्तो देखेर चिन्नु नै भएनछ र फर्किन लाग्दा दाजुले हातको इसाराले बोलाउनु भएछ । छोराको अवस्था देखेर बुवालाई विश्वास नै लागेनछ , छोरा त बच्चा जस्तै देखेर बोल्न नै सक्नु भएनछ ।

बुबाको आफ्नो गोजीमा खासै पैसा पनि रहेनछ, अप्रेसन तुरुन्तै गर्नुपर्ने भनेर बुबालाई सही गर्नु भनेछन् । बुबाले सोच्नु भएछ यहाँ सम्मन् त भगवानले ल्याइ पु¥याए एकपटक कृष्ण प्रसाद मास्के (बुबाको सांंढभाइ ) जो जाउलाखेल ह्याण्डिक्राफ्टमा कार्यरत हुनुहुन्थ्यो सल्लाह गर्न भनेर जानु भएछ । अनि सबै जना सल्लाह गरेर हस्पिटल पुग्नु भएछ । अनि त्यसै दिन सब आफन्तहरुको सरसल्लाह अनुसार राती नै दाजुको पेटको शल्य चिकित्सा भए छ । तर दाजुले भने शुक्रबार बिहान मात्र थाहा पाउनु भएछ जब जिम गिसेन दुई जना विद्यार्थीहरु (दलबहादुर लामा र प्रेमबहादुर लामा) साथ दुई दिन हिडेर शान्तभवन हस्पिटल पुगी “तपाईको अपरेशन भयो ?” भनी सोध्दा दाजुले “भएको छैन, तर मलाई सञ्चो भएको छ, गर्दैन कि” भन्नु भएछ । तर कुरुवा बसेका ठूलो मामा जगतनारायण श्रेष्ठले काठमाण्डु पुगेकै दिन नै अप्रेशन भयो भन्दा पो दाजुले पेटमा ब्याण्डेज राखेको, सेलुन पानी दिइ राखेको, पिसाबको लागि नली राखेकोले हलचल गर्न नसकेको थाहा पाएपछि पो पेटमा चस्स चस्स गर्न थालेको अनुभूति गर्नु भएछ ।

जिम गिसेनको त्यो कोशिश मिसन अस्पतालको राम्रो सेवा सदभाव अनि शुभचिन्तक र आफन्तको हेरचाह र स्याहार सुसारले १८ दिन अस्पतालको बसाइमा दाजु निको भई डिस्चार्ज हुनुभयो । त्यतिखेर बुवा बहिनी मेनकासंग लगन टोलमा डेरा लिएर बस्नुभएको थियो, दिउंसो कोठामा कोही नहुने अनि बहिनी पनि सानै भएकोले दाजु डिस्चार्ज भएपछि लगत्तै दोलखा जान पनि नमिल्ने भएकोले सबको सल्लाह अनुसार महाबौद्ध सानुबुबा कृष्णप्रसाद मास्केको डेरामा बस्नुभयो । आमाको काँइली बहिनी सानीमा जसलाई हामी मम्मी भनेर सम्बोघन गर्दथ्यौँ (जाम्बवति मास्के)ले अति नै राम्रोसंग रेखदेख गर्नुभयो ।

दाजु बिस्तारै तङ्ग्र्रग्रीनु भयो तर पेटको घाउ लामो ठूलो भएकोले धेरै सुतेर बस्नुपर्ने अवस्थाले गर्दा पछाडि ढाडमा बेडसोर भएर हिंडन अतिनै कठिन भएको थियो । डाक्टरले जति सक्यो हिंडनुपर्छ अनि छिटो निको हुन्छ भनेको थियो । बेडसोर भएर पिठ्यु र ढाड पुछारमा भएको घाउमा सानीमाले औषधी लगाइ दिनुहुन्थ्यो । अनि दाजु बिसेक हुन थाल्नु भयो । यता दोलखामा म त्यन्तिजेलसम्म स्कूल गएको थिइँन आमा र भाइसंगै बसिराख्दथेँ । आमाको चिन्ता अझै सकेको थिएन । घरको सानोतिनो काम म नै हेर्दथेँ ।

एक दिन स्कूलबाट दुइ तिनजना सरहरु आउनुभयो र मलाई “किन स्कूल नआएकी ? अब अमर ठीक भइसक्यो हामी उसलाई छिट्टै लिएर आउँछौ, परीक्षा आउने बेला पनि भयो तिमी भोलिदेखि नै स्कूल आउनु” भन्नुभयो र आमालाई पनि सम्झाएर जानुभयो । म भोलिपल्टदेखि स्कूल जान थालेँ । त्यसको केहि दिन पछि दशँैं आइहाल्यो , हाम्रो दशैँ यतिकै बित्यो । दशैँपछि भने दाजु लगन टोलमा बुबाको डेरामा बस्न जानुभो जहाँ बहिनी मेनका पनि थिइन् । अनि केहि दिनपछि ज्ञानेन्द्रबहादुर सिंह सर काठमाण्डु जानुभएको रहेछ ।

सोही बेलामा दाजु पनि सरसंगै दोलखा आउनुभयो । जहाँ उहाँको भव्य स्वागत शिक्षक, विद्यार्थी र दोलखाका सबैजसोले गरे । सबले ल्याएको कोसेली कति धेरै थियो, अंडा त बाटा भरी भरी भएको थियो । म दङ्ग थिएँ तर मनमा भने एउटा कुरा आइराखेको थियो त्यो जेलमा फुक्ने मान्छे जस्ले दाजुलाई निकै हुदैन भनेको थियो, निको भयोभने उस्को मुखमा पिसाब फेर्नु भनेको थियो । मलाई भने नजिक भएको भए दौडेर गएर पिसाब हैन उसको मुखमा कस्सेर मूक्का हान्न मन लागि राखेको थियो तर सम्भब थिएन अनि आफ्नो दाजु निको भइहाल्यो भनेर चित्त बुझाएँ ।

हामी आमा छोरी भाइ सपरिवार दाजुको पुनर्जन्म भीमेश्वरको कृपा आफन्तहरुको सदभाव आशीर्वाद र जिमको उपहारको रुपमा भयो भनी ठान्छाँै । जिम तिमी जहा भए पनि हाम्रो लागि भगवान सरि भएर आयौ, तिमीलाई सादर प्रणाम छ ।
हाल,
डिल्लीबजार, घट्टेकुलो,

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!