Search

दोलखाको वज्रयोगिनीलाई ओझेलमा होइन उज्यालोमा लैजाऔँ

दोलखाको वज्रयोगिनीलाई ओझेलमा होइन उज्यालोमा लैजाऔँ

सम्पदा खोजमुलक हाम्रो अभ्यास, सहभागीता यहाँहरुको

हामीलाई दोलखावासी, दोलखाली भनोस् या दोल्खे केही फरक केही नपर्ला । इतिहासको पानामा विषयगत हिसाबले हामी दोलखावासी हौं । यसो भन्दा मैले सीमित दोलखाको उत्तरको सियौटाडा देखि दक्षिणको घुमटाडा सम्मलाई र करन्धी बनदेखि रानीबनको सेरोफेरोलाई मात्र दोलखा उच्चारण गरेर गल्ती गर्न चाहन्न ।

प्राकृतिक सौन्दर्यमय दोलखामा नेपालकै समय सूचक हिमाल गौरीशंकर छ । च्छो–रोल्पा ताल छ जसको खासै चर्चा छैन जति चर्चा रसुवाको गोसाइँकुण्ड र मुगुको रारा ताल अनि तिलिचो तालको छ । यसमा पर्यटन विभाग लगायत प्रदेश र राज्य पक्षको ध्यान जान जरुरी छ । त्यस्तै भोर्लेको छाँगा छहरा छ, अनि प्राचीन मुरली खोला छ । जसलाई प्रायः गरी दोल्ती खोला भनेर मात्र चिनिन्छ ।

यसलाई मुरली खोला भनेर किन भनिन्छ ? भनेर प्रश्न आउला । यसको बारेमा बताउनुहुने आदरणीय पण्डित गुरु गोविन्द प्रसाद दाहाल (हाम्रा गुरु चोकबहादुर दाहालज्यूको पिताज्यू) हुनुहुन्थ्यो । त्यस्तै यही खोलाको बारेमा म सानो छ कक्षामा पढ्दाखेरी पुरान्छेँको आगनमा आदरणिय जनकलाल श्रेष्ठज्यूसँग गरेको भलाकुसारीबाट सुनेर थाहा पाएको थिएँ । त्यतिखेर मलाई त्यो उक्ति लोक कथा जस्तै लाग्थ्यो । सुन्न त ध्यान दिएर सुनेको थिएँ । तर मनन गर्ने बुद्धिमता पलाएको थिएन त्यो किशोरावस्थामा । यो कुरा अहिले स्मरण हुँदा इतिहास भनेको त्यो रहेछ भन्ने लागेर आयो । यसको बारेमा पछि बताउने अनुमति लिँदै दोलखाको सेरोफेरोमा घुम्न चाहेँ ।

दोलखामा के छैन र ? कडा चट्टानको टुप्पोमा जलकुण्ड सृष्टि गरेर विराजमान छ पर्यटकिय तिर्थ कालिन्चोक भगवतीको आश्रयस्थल छ । मनुष्यसँग हिँडडुल गर्ने तर अलिक चञ्चल स्वभावकी रिसलाई नियन्त्रण गर्न नसक्ने र तुरुन्तै प्रतिक्रिया जनाइ हाल्ने बालकुमारी छ । अनि सहनशील दैवीय चमत्कार बोकेकी त्रिपुरा सुन्दरी छ । नामै लिन नहुने देउताको अद्र्धकदको देवल छ । साक्षात मच्छिन्द्रनाथको आश्रयस्थल छ ।

भीमसेन देवताको त यहाँ वर्णन गरिरहन आवश्यक नहोला । जो सर्वव्यापि र सर्वत्र दृष्टिमय छ । यति कुरा निकाल्दै जाँदा सायद त्यो देवीको नाम स्थानीयमा मात्र सीमित होला तर तिनको महिमा र गरिमा दोलखाको लागि अपरिहार्य छ । जसको वर्णन इतिहास शिरोमणि बाबुराम आचार्यको पानामा पनि देखिएन न त इतिहास लेखकद्वय धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठको उत्खनन पुस्तक ‘दोलखाको ऐतिहासिक रूपरेखा’मा नै भेटियो, न त इतिहास प्रेमी लेखक जेष्ठ नागरिक यज्ञकुमार प्रधानको ‘दोलखाको साँस्कृतिक सम्पदा’मा नै चित्त बुझ्ने कुरा भेटियो । यस पुस्तकको पृष्ठ २०३ र २०४ मा उल्लेख गरिए अनुसार यसलाई स्थापना गरेको बारेमा यथार्थ कुरा बुझाउन सकिएको देखिएन । आज यसैको बारेमा केही बताउन गैरहेको छु ।

त्यो देवीको नाम हो बज्रयोगिनी देवी । जुन हालको भीमेश्वर नगरपालिकाको वडा नं. २ दोलखा शहरको माथिल्लो बस्ती नजिक पाखलती टोलको पाखलती चउर नजिकै रहेको छ । जहाँ वरिपरि अग्ला अग्ला रुखहरू छ । त्यस स्थलको पश्चिमपट्टि पोखरी छ अगाडितिर चउर छ भने दक्षिणतिर दोलखा शहर र भीमेश्वर मन्दिर प्रवेश गर्ने बाटो छ । हाल यहाँ नजिकै यसै वज्रयोगिनीको सतहलाई स्पर्श गरेर सुनखानी सिंगटी र अपर तामाकोशी जाने मूल सडक बनेको छ । त्यस्तै यस स्थानको नजिकै हालसालै निर्माण गरिएको भीमेश्वर उद्यान, पून्यश्वर महादेव र पाखलती सहयोग समितिको सभाकक्ष छ र उत्तरतिर हेल्थपोष्ट रहेको छ । यो बज्रयोगिनीको मन्दिर र अगाडि सानो आकारमा सिङ्गै एउटा पत्थरबाट बनेको स्तुपा छ । जुन भग्नावशेष अवस्थामा रहेको छ ।

बज्रयोगीनी मन्दिर :
यो बज्रयोगिनीको मन्दिर भनिएको ठाउँमा केही दशक पहिले सम्म ढुङ्गाकै प्रवेशद्वारको रूपमा ढोका देखिएको थियो । पर्खाल उठाएर डबली स्वरूपमा सतह मिलाएर उत्तरतर्पm देवी विराजमान गराउने हिसाबले दुईतिरबाट शृङ्खला मिलाएर उठाइएको र माथि टुप्पोमा चुच्चो बनाएर मन्दिरको प्रारूप देखाइएको अद्यपि देखिन्छ । पश्चिमतिर प्रवेशद्वार बनाएर तीनतिर पर्खाल उठाइएको हिसाबले त्यो मन्दिर सायद मात्र पत्थरले मात्र बनाइएको हुनुपर्छ । सायद त्यो बज्रयोगिनी मन्दिरको छाना पनि ढुंगाले नै छाएको थियो यो अनुसन्धानकै विषय रहेको छ ।

मन्दिरको उत्पत्ती :
अब यो मन्दिर कसले कुन वंशले बनाएको होला भन्ने कौतुहलता मेटाउन लिच्छवि वंशको शताब्दी तिर पछाडि फर्केर हेरौँ । त्यसबेला जतिबेला राजा मानदेवले भक्तपुरको पहाडको टाकुरामा चाँगुनारायण मन्दिर बनाउन लगाए । ठिक त्यसको केही वर्षपछि साँखुको माथि पहाडको बीचमा खड्ग योगिनीको मन्दिर बनाए । त्यही बेलामा जहाँ जहाँ मानव बस्ती थिए त्यहाँ त्यहाँ एक खालको शीतला खटिरा (सेङ् कोछु) आएर धेरै नै मान्छेहरूलाई सताएको रहेछ ।
त्यसबेला शंखरापुरका बासिन्दालाई (हालको साँखु नगर) नराम्रोसँग असर परेकोले तान्त्रिक गुभाजु बज्राचार्यलाई गुहार्दा उनले बज्रयोगिनी माताको पूजाआजा गरेर प्रार्थना गरी क्षमा मागे यो महामारी रोग बिसेक हुन्छ भनेपछि स्वयम्भूबाट धर्म गुरु बज्राचार्य ल्याएर पूजा गर्दा सो रोग त निको भएर गयो ।

तर पनि रोग बल्झि रहने भएकोले बज्रयोगिनी माता समक्ष कारण जान्न तान्त्रिकले निकै कडा तपस्या गर्दा वज्रयोगिनीले एक तान्त्रिकलाई सिंहिनी बघिनीको मूर्ति लगायत बुद्ध स्तुपा अगाडि सानो खाल्डो खनेर त्यसलाई पञ्चकुमारीको स्वरूप मानेर पत्थर या धातुको शिला बनाएर पूजा गर्न लगाउनु र त्यसरी पूजा गर्दा कुनै प्राणीको रगतको छिटा सम्म पर्न नदिनु भनेर सपना देखाएपछि उक्त तान्त्रिकले सिद्ध तान्त्रिक सँग सल्लाह मागेर स्वयम्भू स्तूपाको समिपमा रहेको हारती अजिमा मातासँग आशिक मागेर वज्रयोगिनी माताले सपनामा बताएको विधिलाई आत्मसात गर्दै जहाँ जहाँ स्तूपा छ त्यहाँ त्यहाँ साना साना आयताकार चारकुने खाल्डोमा पञ्चकुमारी माताको प्रारुपमा, हारती अजिमा माता, वज्रयोगिनी माता, खड्गयोगिनी माता, त्रिपुरासुन्दरी र बालकुमारी गरेर पाँच देवीलाई एकै पटक स्मरण गर्नेगरी जल चढाई पूजा गरेपछि सो खटिरा रोग निको भएको भन्ने कथन कहलाइएको छ ।

यही देवीको सपनालाई नै आधार मानेर वज्रयोगिनी माताकै आदेश र आशीर्वाद अनुसार नै तान्त्रिक वज्राचार्यले नाला, पलाञ्चोक हुँदै दोलखामा पुगेर यो वज्रयोगिनीको स्थापना गरेर बज्राचार्यहरूले आफ्नो कुलदेवीको रूपमा पुज्दै आएको देखिन्छ । यो वज्रयोगिनी देवी कहलाइएको मन्दिर पनि सायद उपत्यकामा रहेको मैतिदेवी, हारती अजिमा स्वयम्भू, वज्रयोगिनी साँखु, विजयश्वरी अजिमा, खड्ग योगिनी वाराही चापागाउँकै जस्तै हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

प्राचीन धार्मिक एवं पुराना सम्पदाहरूको प्राचिन शहर दोलखा भनेर विभिन्न इतिहासकारहरूले सकारात्मक व्याख्या गरिरहेको अवस्थामा सबैको ध्यान यता पनि तानिन जरुरी देखिन्छ । यो वज्रयोगिनी मन्दिरलाई मूर्तरूप दिनका लागि यसको वास्तविकता पत्ता लगाउन बज्राचार्य गुरु गुभाजुहरूसँग समन्वय गर्न अति आवश्यक देखिन्छ । जुन जिम्मेवारी हामी दोलखावासीको काँधमा आएको छ ।

यो मन्दिर ढुङ्गैढुङ्गाले बनेको थियो या ढुङ्गा र काठले बनेको थियो या तल ढुङ्गा र काठ अनि छाना धातुले बनेको थियो यसको प्रामाणिक आधार नभेटिएपनि यो मन्दिर कि त पैगोडा शैलीको हुनुपर्छ ।कि त शिखर शैलीको । किनकि भगवती, पार्वती, कुमारीको मन्दिरहरू प्रायशः एक देखि दुईतलाको हुनुपर्दछ । त्यसमा गजुर पनि अनिवार्य हुन्छ । तर हामीले देखि जानेको र सुने अनुसार यो मन्दिरको भग्नावशेषमा कुनै, काठ, धातु र ईँटाको अवशेष नदेखिएकोले यो विशुद्ध पत्थरबाट बनेको हुनुपर्छ । काठ त मक्किएर, कुहिएर पनि अवशेष नरहला तर ईँटाले बनेको भए केही अवशेष रहनुपथ्र्यो । केही दशक पहिले सम्म चारैतिर ढुङ्गाको पर्खाल थियो । पूर्व र दक्षिणतिरको पर्खालमा डेढ फिटको वर्गाकार झ्यालको स्वरूप देखिन्थ्यो, पश्चिमतिर साँढे पाँच फिट उचाइ र तीन फिट चौडाइको प्रवेशद्वार थियो । पश्चिम दक्षिण कुनामा पत्थरबाटै बनेको गणेशको मूर्ति थियो ।

यो मन्दिरको बाहिरी भाग चारैतिर ढुङ्गाकै गारो थियो भने दक्षिण्तिर फर्काएर शिखर शैलीले दुईतिरबाट भिरालो पारेर चुच्चो उठाएको छ । जुन अद्यपि छँदैछ । त्यसभागमै खोपाको आकारमा ढुङ्गाकै मूर्तिहरू देखिन्छन् तर अङ्गहीन । कुनैको शिर नै छैन, कुनैको कम्मर भन्दा मुनिको भाग नै छैन, कुनैको पाखुरा नै छैन । अब यसलाई पुनर्निर्माण गर्ने कसले त ? पुनर्निर्माण हुँदैछ, हुनेवाला छ, गर्नेवाला छ, ठेक्का मिलिसक्यो भन्ने हल्ला त निकै पहिले देखि नै सुन्दै आएको हो, तर बनाउने पहल भने देखिएको छैन ।

यो मन्दिर पनि दोलखाको सम्पदा मध्ये एक हो । सबैको साझा सम्पत्ति संस्कृति हो । हरेक वर्षको जनैपूर्णिमाको दिन, बाला चतुर्दशीको दिनमा आफ्नो परम्परालाई निरन्तरता दिंदै परिक्रमा गरिन्छ । पूजाको थालीबाट दुईचार अक्षता र पूmल चढाइन्छ तर यो वज्रयोगिनी मन्दिर र स्तूपाको दर्दनात्मक पीडालाई बुझ्ने कोही निस्केको देखिएन । सामाजिक संस्थाहरू अहिलेको अवस्थामा स्थायी बासिन्दा भन्दा बढी नै जन्मिसके तर यतातिर कोही देखिएन ।

गर्न त गरेका छन् छैनन् भन्न मिल्दैन, बिना खोलामा पुल बनाएका छन्, अनावश्यक ठाउँमा प्रवेशद्वार निर्माण गरेका छन्, साँघुरो ठाउँमा पिकनिक स्पट खोलेका छन्, शैलुङ, हनुमन्ते र कालिन्चोकलाई नै ओझेलमा पारेर भ्यू टावर बनाएका छन् । तर जुन सम्पदाले प्राचिन शहर दोलखाको इतिहासको पहिचान दिलाउँछ, त्यही ठाउँलाई उजागर गर्न कानमा तेल हालेर बसेका छन् । हो यसरी नै निस्किन्छन् कथा, व्यथा र गाथाहरू दोलखातिर खोतलखातल गर्दा ।

यसलाई ब्यँताउन न त कूलदेवी मान्ने बज्राचार्य, तुलाधर र आचाजु नै अघि सरे, न त खटिरा आउँदा सम्झने पीडित वर्गले नै चासो देखाए, न त कुनै सामाजिक संघ संस्थाले नै पहल गरे । त्यो जग्गा न त कसैको पैत्रिक सम्पत्ति हो न त कसैको दाइजो न कसैको बिर्ता र पेवा नै हो । यस्तो अवस्थामा पनि संस्कृति विद्वानहरू टेण्डरमा गिद्धे आँखा लगाउने, दाताहरूको खोजीनीति गरिरहने, राजनीतिक पार्टीका पहलवानहरू ताक परे तिवारी नत्र गोतामे भनेर दोबाटो कुरिरहने अनि कसरी संरक्षण हुन्छ त ऐतिहासिक सम्पदाहरू ? यौ हामी सम्पूर्ण दोलखावासीको लागि एक चुनौतीको रुपमा खडा भएको छ । यो लगायत दोलखाको अन्य सम्पदाहरुको संरक्षणको लागि स्थानिय निकायले विशेष अग्रसरता लिनु पर्छ र जसको लागि दोलखावासीहरुको सहयोगको आवश्यकता रहेको हाम्रो ठहर रहेको छ ।

संयोजन : बालकृष्ण श्रेष्ठ “पासा”

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!